अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई देशको हवाई सुरक्षाका लागि अत्यावश्यक हतियार, विशेष गरी प्याट्रियट एयर डिफेन्स सिस्टम प्रदान गरिने घोषणा गरेका छन्। उनले यो सहयोग नाटोमार्फत पठाइने र त्यसको लागत नाटोले व्यहोर्ने बताएका छन्।
NBC News सँगको अन्तर्वार्तामा ट्रम्पले भने, “हामी प्याट्रियट मिसाइल सिस्टम नाटोलाई पठाउनेछौं र त्यसपछि नाटोले त्यसलाई वितरण गर्नेछ।” उनले थपे, “यसको पूरै लागत नाटोले तिर्छ।”
ट्रम्पको घोषणाअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पसँग सकारात्मक संवाद भएको बताएका थिए। जेलेन्स्कीले हालै युक्रेनमाथि बढ्दो रूसी ड्रोन र मिसाइल आक्रमणलाई ध्यानमा राख्दै १० वटा प्याट्रियट प्रणालीको माग गरेका छन्।
जेलेन्स्कीले इटालीको रोममा पत्रकारहरूसँग भने, “जर्मनीले दुईवटा र नर्वेले एकवटा प्रणालीको लागत व्यहोर्ने प्रतिबद्धता जनाएको छ भने अन्य युरोपेली साझेदारहरू पनि तयार छन्।”
यसैबीच, ट्रम्पले गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन संवाद गरेका थिए र त्यसमा शान्ति वार्तामा प्रगति नहुनुमा असन्तुष्टि जनाएका थिए। उनले पुटिनको “सधैँ राम्रो देखिने तर अर्थहीन व्यवहार” प्रति आलोचना गरेका छन्।
सोमबार ट्रम्पले रुससम्बन्धी एउटा “महत्वपूर्ण घोषणा” गर्ने बताएका छन्, तर त्यो के हुनेछ भन्ने खुलाएका छैनन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार जानकारी दिँदै भने, “हामीले जर्मनी, स्पेन लगायतका नाटो सदस्यलाई आफ्नो मौज्दात प्याट्रियट प्रणाली छिटो युक्रेनलाई दिन आग्रह गरेका छौँ।” उनले थपे, “त्यसपछि हामी प्रतिस्थापन खरिदका लागि वित्तीय सम्झौता गर्न सक्छौँ।”
पछिल्लो साता अमेरिकी रक्षा मन्त्रालयले केही अत्यावश्यक हतियार आपूर्ति रोकेको थियो, जसले गर्दा युक्रेनको हवाई सुरक्षा प्रणाली चाँडै सकिन सक्ने चिन्ता बढेको थियो। रोकिएका सामग्रीहरूमा प्याट्रियट इन्टरसेप्टर मिसाइल र सटीक तोपगोलाहरू रहेका छन्।
जेलेन्स्कीले आपूर्तिको पुनः सुरु गर्न आग्रह गर्दै भनेका छन्, “प्याट्रियट प्रणाली जीवनका साँचो रक्षक हुन्।” हालैको एक रातमा मात्र रुसले ७२८ ड्रोन आक्रमण गरेको युक्रेनले जनाएको छ, र त्यो संख्या १,००० पुर्याउने तयारीमा रहेको राष्ट्रपति जेलेन्स्कीले चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार, २०२५ को जुन महिनामा युक्रेनमा विगत तीन वर्षको सबैभन्दा धेरै नागरिक हताहत भएको देखिएको छ — २३२ जनाको मृत्यु र १,३०० भन्दा बढी घाइते।
ट्रम्पले जनवरी २०२५ मा पुनः राष्ट्रपतिको कार्यभार सम्हालेपछि युक्रेनलाई अमेरिकी समर्थन घटाउने नीति लिएका थिए। तथापि, पछिल्लो रूसी आक्रमणपछि उनले रुखो शैलीमा भने, “हामीले हतियार दिनैपर्छ… अहिले उनीहरू कडा प्रहारमा छन्।”
युक्रेनमा अमेरिकी समर्थन घटेमा किभ थप कमजोर बन्न सक्ने चेतावनी पनि आएको छ, किनभने पूर्व राष्ट्रपति जो बाइडनको कार्यकालमा पारित गरिएको सहायता कोष यो गर्मीमा समाप्त हुँदैछ।
२०२२ देखि २०२४ को अन्त्यसम्म अमेरिका युक्रेनको सबैभन्दा ठूलो सैन्य सहयोगदाता रहँदै आएको थियो, जसअन्तर्गत ६९ अर्ब अमेरिकी डलरभन्दा बढी सहायता दिएको थियो। ट्रम्पले नाटो सदस्य राष्ट्रहरूलाई रक्षा बजेटमा २% GDP खर्च गर्ने प्रतिबद्धता पूरा गर्न जोड दिएका छन्।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेको थियो र अमेरिका दुवै पक्षबीच युद्ध अन्त्यका लागि सहमति खोजिरहेको छ। रुबियोले मलेसियामा भएको बैठकको सन्दर्भ दिँदै रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग खुला र स्पष्ट संवाद भएको बताएका छन्।
“दुवै पक्षले युद्ध अन्त्यका लागि केही नयाँ सुझाव आदान–प्रदान गरेका छन्,” रुबियोले भने, “र म ती कुरा राष्ट्रपति ट्रम्पलाई जानकारी गराउनेछु।”
तर ट्रम्पले सोमबार गर्ने भनिएको रुससम्बन्धी “ठूलो घोषणा” के हुनेछ भन्नेमा अहिलेसम्म गोप्यता कायम गरिएको छ।
प्रतिक्रिया