महालेखा परीक्षकको प्रतिवेदनले राज्यको बेरुजु सात खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको देखाएको छ।
महालेखा परीक्षकको ६२औँ प्रतिवेदन अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा संघीय, प्रदेश र स्थानीय तहमा गरी ९१ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ बेरुजु थप भएको छ।
आर्थिक वर्ष २०७९/८० सम्म ६ खर्ब ६९ अर्ब ८३ करोड रुपैयाँ बेरुजु थियो।
बेरुजुमा रहेका रकम:
संघीय सरकारी कार्यालय: तीन खर्ब ७५ अर्ब ४७ करोड
स्थानीय तह: दुई खर्ब ९ अर्ब २९ करोड
समिति तथा अन्य संस्था: एक खर्ब १७ अर्ब ९७ करोड
सरकारद्वारा एक आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब ४१ करोड ३ लाख रुपैयाँ रकमान्तर गरी खर्च गरिएको देखिएको छ।
कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखमध्ये १४.६४ प्रतिशत रकम रकमान्तर गरिएको पाइएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ अनुसार पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने भए पनि ११ अर्ब ६४ करोड ७ लाख रकमान्तर गरिएको छ।
राष्ट्रिय गौरवका आयोजनाको संख्या बढेर २७ पुगेको छ।
गौतमबुद्ध विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भए पनि बाँकी आयोजनामा सुस्त प्रगति देखिएको छ।
५० प्रतिशतभन्दा कम प्रगति गर्ने आयोजना ६ रहेका छन् भने ८ आयोजनामा प्रगति नै नखुलेको र २ आयोजना सुरु नै नभएको पाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा सरकारको ७९ अर्बभन्दा बढी राजस्व छुट दिएको देखिएको छ।
विभिन्न वस्तु, सेवा, शुल्क, महसुल तथा करहरूमा ७९ अर्ब ८७ करोड ३९ लाख बराबरको कर छुट दिइएको छ।
विदेशस्थित १२ वटा नेपाली नियोगले ७२ करोड २९ लाख ६० हजार रुपैयाँ राजस्व खातामा दाखिला नगरेको पाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा अवधि समाप्त नभइ १३ नेपाली राजदूतलाई फिर्ता बोलाउँदा राज्यलाई दुई करोड ८६ लाख ६९ हजार रुपैयाँ अतिरिक्त दायित्व थपिएको छ।
दातृनिकाय र आईएनजीओमार्फत ४६ अर्ब १९ करोड ५२ लाख ९८ हजार रुपैयाँ खर्च भए पनि लेखापरीक्षण नगरिएको पाइएको छ।
आईएनजीओमार्फत १६८ कार्यक्रम/आयोजनामा २४ अर्ब ३४ करोड ९८ लाख ११ हजार रुपैयाँ खर्च भएको छ।
पाँच क्यासिनोको बक्यौता १ अर्ब ७८ करोड ५१ लाख ४९ हजार रुपैयाँ पुगेको छ।
वार्षिक रूपमा बुझाउनुपर्ने रोयल्टी नबुझाउँदा क्यासिनोको बक्यौता यो स्तरमा पुगेको हो।
विसं २०५८ सालमा अवधारणा ल्याइए पनि बाहिरी चक्रपथको आयोजना सुरु भएको छैन।
आयोजना सुरु नगरी प्रशासनिक काममा १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको पाइएको छ।
महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले राज्यको आर्थिक अनियमितता, बेरुजु वृद्धि, रकमान्तरको दुरुपयोग, राष्ट्रिय गौरवका आयोजनाको सुस्त प्रगति, राजस्व छुट र क्यासिनो बक्यौता जस्ता गम्भीर विषय औंल्याएको छ। यसले राज्यको वित्तीय पारदर्शिता र उत्तरदायित्वमा सुधारको आवश्यकता देखाएको छ।
प्रतिक्रिया