नेपालका चर्चित एवं लोकप्रिय हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिकाबाट नयाँ हास्य टेलिशृंखला ‘म त मर्छु कि क्या हो’ मार्फत पुनः कलाकारितामा सक्रिय भएका छन्। पाँचौँ भागसम्म आइपुग्दा यो सिरियलले दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया बटुल्दै लोकप्रियता हासिल गरिरहेको छ।
धुर्मुस–सुन्तलीसँगै उनीहरूकी छोरी सुबिहानी, वरिष्ठ हास्य कलाकार मोहन मिश्र, लामो समयदेखि चलचित्र छायांकनमा अनुभव बटुलेका राजु खत्री क्षेत्री तथा अन्य कलाकारहरूको प्रस्तुतिले सिरियललाई अझ आकर्षक बनाएको छ। नेपाली कला, संस्कृति, पारिवारिक सम्बन्ध र प्रवासी नेपाली जीवनका विविध पक्षलाई हास्यव्यंग्यमार्फत प्रस्तुत गर्ने यो प्रयास प्रशंसनीय छ।
कुनै समय लाखौँ नेपालीलाई हँसाउने धुर्मुस–सुन्तली क्रिकेट रंगशाला निर्माण प्रकरणमा आर्थिक संकट, विवाद र अनेकौँ कठिन परिस्थितिको सामना गर्न बाध्य भए। अनेक पीडा र संघर्षका बीच पनि हार नमानी फेरि कलाकारितामा फर्किनु उनीहरूको साहस, आत्मविश्वास र सिर्जनशीलताको सुन्दर उदाहरण हो।
अरूलाई हँसाउने कलाकार आफैँ रुनुपर्दाको पीडा सायद शब्दमा व्यक्त गर्न सकिँदैन। तर आँसु पुछेर फेरि अरूलाई हँसाउन सक्नु नै वास्तविक कलाकारको महानता हो।
अमेरिकाबाट सुरु भएको यो नयाँ यात्राले दर्शकहरू धुर्मुस–सुन्तलीलाई फेरि पर्दामा हेर्न कति आतुर रहेछन् भन्ने देखाएको छ। उनीहरूको पुनरागमन नेपाली कलाकारिताका लागि सुखद् समाचार हो।
नेपाल मदर डटकम धुर्मुस–सुन्तली, उनीहरूकी छोरी सुबिहानी तथा सम्पूर्ण कलाकार र निर्माण टोलीलाई हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछ। उनीहरूको सिर्जनात्मक यात्रालाई प्रोत्साहन गर्दै नेपाल मदरले ‘म त मर्छु कि क्या हो’ का प्रत्येक भाग आफ्ना पाठक तथा दर्शकमाझ प्रस्तुत गर्दै जानेछ।
धुर्मुस–सुन्तली, तपाईंहरू फेरि हाँस्नुहोस्, नेपालीलाई हँसाइरहनुहोस्। विगतका पीडा बिर्सेर सफलताको नयाँ इतिहास रच्नुहोस्। हाम्रो साथ, माया र शुभकामना सधैँ तपाईंहरूसँग छ!






प्रतिक्रिया