काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसर पारेर नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको महत्त्वपूर्ण आधारस्तम्भ मानिने पहिलो नेपाली कथानक चलचित्र ‘आमा’लाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ‘आमा’ चलचित्रसँग जोडिएका नेपाली चलचित्रको पहिलो पुस्ताका तीन अग्रणी नायिका भुवनचन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा तीनै जना वरिष्ठ कलाकारलाई नेपाली चलचित्र क्षेत्रको विकासमा पुर्याएको ऐतिहासिक योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकारहरू भुवनचन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई प्रमुख अतिथिका रूपमा सम्मानपूर्वक सहभागी गराइएको थियो। संघका अध्यक्ष केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका थिए।

कार्यक्रमको शुभारम्भ तीनै जना अग्रज कलाकार र संघका अध्यक्ष उत्तम केसीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। महासचिव सुनिल कटुवालले स्वागत मन्तव्य राखेका थिए भने निर्देशक माधव खरेलले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा नेपाली चलचित्रको इतिहास, प्रारम्भिक चरणमा कलाकार र प्राविधिकले निर्वाह गरेको भूमिका, चलचित्र गीतसंगीतको योगदान तथा पुराना सिर्जनाको संरक्षणका विषयमा विस्तृत चर्चा गरिएको थियो।
यस अवसरमा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकाको विशेष सामग्रीसमेत विमोचन गरिएको थियो। उक्त प्रकाशनमा नेपाली चलचित्रका गीत, संगीत तथा चलचित्रको विकासक्रममा गीतसंगीतले खेलेको भूमिकासँग सम्बन्धित सामग्री समेटिएको छ। कार्यक्रममा सम्पादक भौकाजीलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, विमल भौकाजी, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लव प्याकुरेललगायतले राष्ट्रिय चलचित्र दिवस, नेपाली चलचित्रको इतिहास र ‘आमा’ चलचित्रसँग जोडिएका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए।
वक्ताहरूले नेपाली चलचित्रको प्रारम्भिक यात्रालाई स्मरण गर्दै सीमित स्रोत, साधन र प्रविधिका बीच पहिलो पुस्ताका कलाकार, निर्देशक, प्राविधिक तथा सिर्जनाकर्मीले पुर्याएको योगदानकै आधारमा आजको नेपाली चलचित्र उद्योग उभिएको बताएका थिए।
विशेषगरी ‘आमा’ चलचित्र नेपाली चलचित्र इतिहासको महत्वपूर्ण कोशेढुंगा भएको उल्लेख गर्दै वक्ताहरूले यससँग जोडिएका कलाकार र सिर्जनाकर्मीको योगदानलाई नयाँ पुस्ताले जान्न, सम्झन र सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
चलचित्रका गीतसंगीत नेपाली समाज, भाषा, संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै पुराना चलचित्रका गीत, संगीत, पटकथा, तस्बिर, अभिलेख तथा अन्य सिर्जनात्मक सामग्रीलाई व्यवस्थित रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।
कार्यक्रममा ‘आमा’ चलचित्रकी अग्रणी नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक चरणका अनुभव स्मरण गर्दै त्यस समय कलाकारहरूले भोगेका संघर्ष, अभाव र चुनौतीबारे चर्चा गर्नुभएको थियो।
संघका अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको योगदानको सम्मान र नेपाली चलचित्रको इतिहासको संरक्षण कलाकार संघको प्रमुख दायित्व भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।
अध्यक्ष केसीका अनुसार नेपाली चलचित्रको प्रारम्भिक चरणका तीन अग्रणी नायिका एकै कार्यक्रममा उपस्थित हुनु आफैंमा ऐतिहासिक र विशेष अवसर बनेको थियो।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, संगीतकर्मी तथा अन्य चलचित्रकर्मीको उल्लेख्य सहभागिता रहेको थियो। मनोज आचार्य, पूजना प्रधान गुरुङ, लब्ली संगम राई, पुकार भट्टराई, अञ्जु रञ्जित, माडिक रत्न, दीपेन्द्र तिमिल्सिना, उत्सव केसी, सुपा खनाल, देवेन्द्र पाण्डे, नीरज खुलाल, राज टाइगर, अमर वली, जीवन थापा, गीता अधिकारी र सानु श्रेष्ठलगायत कार्यक्रममा सहभागी थिए।
राष्ट्रिय चलचित्र दिवसलाई नेपाली चलचित्रको विगत, वर्तमान र भविष्यलाई जोड्ने अवसरका रूपमा लिँदै कार्यक्रमले अग्रज पुस्ताको योगदान सम्झनुका साथै नयाँ पुस्तालाई नेपाली चलचित्रको इतिहासबारे जानकारी गराउने उद्देश्यसमेत राखेको थियो।
नेपालमा राष्ट्रिय चलचित्र दिवस यसअघि असोज १ गते मनाइँदै आएकोमा गत वर्षदेखि असोज १५ गते मनाउने निर्णय गरिएको हो। नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ प्रदर्शन भएको ऐतिहासिक दिनलाई आधार मानेर असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाउन थालिएको हो।
नेपाली भाषामा बनेको प्रारम्भिक चलचित्रका रूपमा सन् १९५१ मा कोलकातामा निर्माण गरिएको ‘सत्य हरिश्चन्द्र’लाई नेपाली चलचित्र इतिहासको प्रारम्भिक कडी मानिन्छ। उक्त चलचित्र डिबी पराजुलीले निर्माण गरेका थिए।
त्यसपछि नेपालमै निर्माण भएको पहिलो कथानक चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन भएको थियो। यही ऐतिहासिक घटनालाई नेपाली चलचित्रको संस्थागत विकासको महत्वपूर्ण चरणका रूपमा स्मरण गर्दै राष्ट्रिय चलचित्र दिवससँग जोडिएको हो।

चलचित्र विकास बोर्डमा सादगीपूर्ण कार्यक्रम
यसैबीच चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र दिवस–२०८३ को अवसरमा औपचारिक कार्यक्रम आयोजना गरेको छ। हालैको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिका कारण नागरिकमा परेको पीडालाई मध्यनजर गर्दै यस वर्ष दिवसलाई ठूलो उत्सवका रूपमा नमनाइएको बोर्डले जनाएको छ।
बोर्ड परिवारको सहभागितामा आयोजित कार्यक्रममा राष्ट्रिय चलचित्र दिवसको महत्त्व, नेपाली चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र चलचित्रकर्मीको भूमिकाबारे चर्चा गरिएको थियो।
बोर्डका सदस्य गणेशप्रसाद सुवेदीका अनुसार आगामी वर्ष राष्ट्रिय चलचित्र दिवसलाई अझ व्यवस्थित र भव्य रूपमा मनाउने संकल्प गरिएको छ।
चलचित्र विकास बोर्डले दिवसको अवसरमा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, प्राविधिक, निर्माता, निर्देशक, दर्शक तथा शुभेच्छुकमा शुभकामना व्यक्त गरेको छ।
चलचित्र क्षेत्रको विकासमा सरकार प्रतिबद्ध : मन्त्री तिमिल्सिना
राष्ट्रिय चलचित्र दिवसका अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित सम्पूर्ण कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा चलचित्रकर्मीलाई शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र नेपाली कला, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई उजागर गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभएको छ।
उहाँले नेपाली समाजका कथा, संवेदना, जीवनशैली र सिर्जनशीलतालाई पर्दामार्फत प्रस्तुत गर्दै चलचित्रकर्मीले नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ।
चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र व्यवस्थित व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको मन्त्री तिमिल्सिनाको भनाइ छ।
चलचित्र क्षेत्रको दीर्घकालीन विकास, चलचित्रकर्मीको पेशागत हित, नेपाली चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा अन्य सरोकारका विषयमा आवश्यक व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ।
मन्त्री तिमिल्सिनाले नेपाली चलचित्रले आगामी दिनमा अझ उचाइ हासिल गर्दै नेपालको मौलिक कथा, कला, संस्कृति र प्रतिभालाई अन्तर्राष्ट्रिय जगतमा थप प्रभावकारी रूपमा परिचित गराउन सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।


प्रतिक्रिया