काठमाडौं । सुनसरीको देवानगञ्जसहित पूर्वी तराई–मधेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको हिंसात्मक घटनापछि प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
फेसबुकमार्फत सार्वजनिक भिडियो सम्बोधनमा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका नागरिकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको उपचारमा कुनै पनि कमी हुन नदिने गरी सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्।
प्रधानमन्त्रीले सुनसरी, सिरहालगायतका क्षेत्रमा भएको घटनालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमार्फत छानबिन समिति गठन भइसकेको बताए। दोषी जो–कोही भए पनि कानुनको दायरामा ल्याएर कारबाही गरिने उनको स्पष्ट प्रतिबद्धता थियो।
प्रधानमन्त्री शाहका अनुसार घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकाय परिचालन गरिएका छन्। स्थानीय क्षेत्रमा थप तनाव फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ भने शान्ति स्थापना गर्ने प्रयास निरन्तर जारी रहेको उनले बताए।
उनले केन्द्रमा सर्वदलीय बैठक आयोजना गरी परिस्थितिबारे समीक्षा गरिएको र स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वसँग निरन्तर संवाद भइरहेको जानकारी पनि दिए।
यसैबीच गृहमन्त्री स्वयं सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठकबाट समेत आवश्यक रणनीतिक निर्णयहरू गरिएको प्रधानमन्त्रीले जानकारी गराए।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत फैलाइने अपुष्ट सूचना, अफवाह, घृणात्मक अभिव्यक्ति तथा समुदायबीच वैमनस्य बढाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरे।
उनले नागरिकलाई सरकारी निकायबाट सार्वजनिक गरिएका आधिकारिक सूचना मात्र विश्वास गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा गैरजिम्मेवार सामग्री प्रसारण नगर्न अनुरोध गरे।
प्रधानमन्त्रीले राज्यको पहिलो दायित्व प्रत्येक नागरिकको जीवन र सम्पत्तिको सुरक्षा रहेको उल्लेख गर्दै सामाजिक सद्भाव बिगार्ने, हिंसा भड्काउने वा धार्मिक तथा सामुदायिक द्वन्द्व सिर्जना गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने स्पष्ट चेतावनी दिए।
प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालन गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै त्यसको रक्षा गर्न सरकार दृढ रहेको बताए।
उनले धर्मको मूल उद्देश्य समाजलाई जोड्ने, प्रेम र सद्भाव फैलाउने भएको उल्लेख गर्दै कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने स्पष्ट गरे।
“देशको कुनै एक स्थानमा भएको दुःखद घटनाको बहानामा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै अन्य क्षेत्रमा प्रतिशोध फैलाउने कार्य कुनै पनि दृष्टिले उचित हुन सक्दैन,” उनले भने।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको इतिहास कठिन परिस्थितिमा पनि आपसी सहिष्णुता, एकता र विवेकका कारण अघि बढेको स्मरण गराउँदै अहिले पनि सबै नागरिकले संयमता अपनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक अपिल गरेका छन्।
प्रधानमन्त्री शाहले सरकार शान्ति, सुरक्षा र नागरिकको जीवनरक्षाका लागि चौबीसै घण्टा सक्रिय रहने विश्वास दिलाउँदै सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिएका छन्।
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु।
१) केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायत स्थानमा भएका दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ। यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।
२) घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ।
३) घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति-सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
४) अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ।
५) स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति-सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं, सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ प्रस्थान गरिसक्नुभएको छ। साथै, देशको समग्र शान्ति-सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ।
६) यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्तिको प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दछु। साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
७) प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन्। शान्ति-सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ।
८) नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।
९) धर्म, समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।
१०) देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन।
आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू,
११) हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन्।
१२) हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ।
१३) हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।
धन्यवाद।



प्रतिक्रिया