काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक, गीतकार, संगीतकार, कलाकार, पत्रकार तथा साहित्यकार रामप्रसाद खनालको नयाँ कृष्ण भजन ‘के लिएर आएका थ्यौ सोंच त’ सार्वजनिक भएको छ। जीवनको अस्थायीपन, मानव जन्मको सार्थकता, कर्म, भक्ति र भगवान श्रीकृष्णप्रतिको समर्पणलाई केन्द्रमा राखेर तयार गरिएको यो भजन संसारभर एकसाथ डिजिटल माध्यमबाट सार्वजनिक गरिएको हो।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै नेपाली भाषा, संगीत, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय खनालले पछिल्ला केही वर्षयता आध्यात्मिक, सामाजिक र सांस्कृतिक चेतनासम्बन्धी गीत–भजनहरू निरन्तर सार्वजनिक गर्दै आएका छन्। यसै शृंखलाको पछिल्लो कडीका रूपमा आएको ‘के लिएर आएका थ्यौ सोंच त’ ले मानव जीवनको वास्तविक उद्देश्यबारे गम्भीर प्रश्न उठाउँदै भगवान श्रीकृष्णको शरणमा जान प्रेरित गर्ने सन्देश बोकेको छ।

भजन सार्वजनिक गर्दै खनालले हिन्दु धर्म, संस्कार र आध्यात्मिक मूल्यहरूको संरक्षणका लागि यस्ता सिर्जनाले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। उनले अहिलेको समय धार्मिक तथा सांस्कृतिक चेतनालाई मजबुत बनाउने आवश्यकता रहेको उल्लेख गर्दै यो भजनलाई सकेसम्म धेरै श्रद्धालु र संगीतप्रेमीमाझ पुर्याउन आग्रह गरेका छन्।
उनका अनुसार यो भजन नाफामूलक वा व्यावसायिक उद्देश्यका लागि निर्माण गरिएको होइन। भगवान श्रीकृष्णको भक्ति, धार्मिक चेतना र सनातन संस्कृतिको प्रचार–प्रसारलाई मुख्य उद्देश्य बनाएर निर्माण गरिएको यस भजनलाई विश्वभरका नेपाली समुदायसमक्ष एकैसाथ सार्वजनिक गरिएको हो।

भजनको बोल, संगीत तथा संगीत संयोजन स्वयं रामप्रसाद खनालकै रहेको छ। गीतको गायन पनि उनले नै गरेका हुन्। संगीत संयोजनलाई थप आकर्षक बनाउन अनुभवी संगीतकर्मी कुमार थापा मगरले मिक्सिङ तथा स्टुडियो व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् भने रेकर्डिस्टका रूपमा सुमन थापाको योगदान रहेको छ।
भजनको भिडियो पक्ष पनि निकै आकर्षक ढंगले तयार गरिएको छ। काठमाडौंस्थित सारङ्गी संसार र मयुर स्टुडियोमा छायांकन गरिएको भिडियोको निर्देशन स्वयं रामप्रसाद खनालले गरेका हुन्। छायांकन ताराकान्त बीके र प्रदीप बोहोराले गरेका छन् भने सम्पादन पनि ताराकान्त बीकेले गरेका छन्।
म्युजिक भिडियोमा रामप्रसाद खनालसँगै तीर्थ पौडेल, कमल बीके, प्रतिमा बीके, प्रमेश घिमिरे, रमिला रसाइली, कल्पना बीके, चन्द्र थापा किरण, संगीता हर्मेल, खगेन्द्र बुढा मगर, लवकुश महत लगायतका कलाकारहरूको अभिनय रहेको छ। भिडियोमा कृष्णभक्ति, सांस्कृतिक वातावरण तथा नेपालीपनलाई जीवन्त ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
भजन निर्माणका क्रममा चलचित्र निर्देशक नारायण रायमाझी, तीर्थ पौडेल, ऋषिराम खनाल, इन्जिनियर ज्ञानेन्द्र खनाल, डा. सुष्मा खनाल, डा. सुदर्शन गौतम, सारङ्गी संसार तथा मयुर स्टुडियोलगायतले विशेष सहयोग गरेको जनाइएको छ। सम्पूर्ण निर्माण कार्य इण्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस यूएस एलएलसीले गरेको हो।

भजनको विशेषता यसको मौलिक लोकलय पनि हो। रामप्रसाद खनालका अनुसार यस भजनको धुन गुल्मी क्षेत्रमा आफू बाल्यकालदेखि सुन्दै आएको परम्परागत लोकलयमा आधारित छ। उक्त लोकधुनलाई आधुनिक शैलीमा केही परिमार्जन गरी प्रस्तुत गरिएको हो। भजनको पहिलो भागका शब्दहरू उनको आफ्नै सिर्जना हुन् भने पछिल्लो भागमा प्रचलित तथा संकलित भजनका शब्दहरू समावेश गरिएको उनले स्पष्ट पारेका छन्।
साथै, खनालले टेलिभिजन, रेडियो, मठ–मन्दिर तथा धार्मिक संस्थाहरूलाई यो भजन डाउनलोड गरी निःशुल्क प्रसारण गर्न अनुमति दिएका छन्। तर अन्य कुनै व्यक्ति वा संस्थाले भिडियो डाउनलोड गरी पुनः अपलोड गर्न नपाइने स्पष्ट चेतावनी दिइएको छ। दर्शक तथा श्रोताहरूलाई आधिकारिक Ram Prasad Khanal युट्युब च्यानलमार्फत मात्रै भजन हेर्न र साझा गर्न आग्रह गरिएको छ।
अमेरिकामा रहेर पनि नेपाली भाषा, लोकसंस्कृति, भजन, लोकगीत तथा साहित्य सिर्जनामा निरन्तर सक्रिय रामप्रसाद खनालले हालसम्म हजारभन्दा बढी गीत, सयौं भजन तथा लोकसांगीतिक सिर्जना सार्वजनिक गरिसकेका छन्। उनी हरेक वर्ष नेपाल आएर नयाँ गीत, भजन तथा सांस्कृतिक परियोजनाहरूमा सक्रिय रूपमा संलग्न हुने गरेका छन्। उनका अनुसार आगामी दिनमा पनि आध्यात्मिक चेतना, नेपाली मौलिक संस्कृति र सनातन परम्पराको संरक्षण गर्ने उद्देश्यले यस्ता सिर्जनालाई निरन्तरता दिइनेछ।

भजन सार्वजनिक गर्दै खनालले सबैलाई भगवान श्रीकृष्णको भक्ति भावमा सहभागी हुन, भजन सुन्न, आफ्ना प्रतिक्रिया दिन तथा आधिकारिक माध्यमबाट शेयर गरेर धार्मिक तथा सांस्कृतिक चेतना फैलाउन आग्रह गरेका छन्। उनले भगवान श्रीकृष्णले सम्पूर्ण मानव जातिको कल्याण गरून् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन्।
प्रतिक्रिया