काठमाडौं / भारत सरकारको परराष्ट्र मन्त्रालय ले कैलाश मानसरोवर यात्रामा प्रयोग हुँदै आएको लिपुलेक मार्गबारे आफ्नो अडान पुनः स्पष्ट गरेको छ।
नेपालको परराष्ट्र मन्त्रालयले उठाएको सीमा सम्बन्धी दाबीबारे सञ्चारमाध्यममा आएका प्रश्नहरूको जवाफ दिँदै भारतका आधिकारिक प्रवक्ता रणधीर जैसवाल ले लिपुलेक पास लामो समयदेखि प्रयोगमा रहेको मार्ग भएको बताएका हुन्।
उनका अनुसार सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि लिपुलेक मार्ग प्रयोग हुँदै आएको र दशकौँदेखि यो यात्रा निरन्तर सञ्चालन हुँदै आएकाले यसलाई नयाँ विषयका रूपमा लिन नहुने भारतको धारणा रहेको छ।
भारतले सीमा दाबीका विषयमा पनि आफ्नो पुरानै अडान दोहोर्याउँदै यस्ता दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उल्लेख गरेको छ। एकपक्षीय रूपमा भूभाग विस्तार गर्ने प्रयास स्वीकार्य नहुने भारतको भनाइ छ।
यससँगै भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै बाँकी रहेका सीमा विवादहरू संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको जनाएको छ।
हाल लिपुलेक क्षेत्र र कैलाश मानसरोवर यात्रासम्बन्धी विषयमा नेपाल–भारतबीच कूटनीतिक बहस जारी रहेको छ, जसले दुवै देशबीचको सम्बन्धमा पुनः संवेदनशीलता थपेको देखिन्छ।
प्रतिक्रिया