समाजमा एउटा पुरानो र गहिरो जरा गाडेको धारणा अझै पनि बलियो रूपमा देखिन्छ कि धन आर्जन गर्नु, घर, गाडी जोड्नु, आर्थिक रूपमा सम्पन्न बन्नु भनेको कुनै न कुनै रूपमा गलत हो, लोभ हो, वा नैतिक पतनको संकेत हो। अझ कतिपयले त सादगीको नाममा गरिबीलाई नै आदर्श ठान्ने, अभावलाई नै जीवनको लक्ष्य बनाउने प्रवृत्ति देखाउँछन्। यो सोचाइ केवल गलत मात्र होइन, विकास र समृद्धिको बाटोमा सबैभन्दा ठूलो बाधा बनेको दरिद्र मानसिकताको उपज हो।
धन आफैंमा न त पाप हो, न त अपराध। प्रश्न धनको होइन, धन कमाउने तरिकाको हो। यदि सुन, चाँदी, नगद, घर वा गाडी, वा सम्पत्ति इमान्दारीपूर्वक, मेहनत र सीपको आधारमा कमाइएको हो भने त्यो गौरवको विषय हो, लाजको होइन। संसारका विकसित राष्ट्रहरूलाई हेर्ने हो भने त्यहाँका नागरिकहरू उद्यमशील छन्, सिर्जनशील छन्, र आर्थिक रूपमा सबल बन्ने आकांक्षाले प्रेरित छन्। उनीहरूले धनलाई साधनको रूपमा लिन्छन्आफ्नो जीवनस्तर सुधार्न, परिवारलाई सुरक्षित बनाउन, र समाजमा योगदान दिन।
नेपालजस्तो विकासोन्मुख देशका लागि त झन् यो सोच परिवर्तन अनिवार्य छ। यहाँ अझै पनि “धनी हुनु गलत हो” भन्ने भ्रमले धेरै मानिसहरूलाई जोखिम लिन, व्यवसाय सुरु गर्न, वा नयाँ अवसर खोज्न हतोत्साहित गरिरहेको छ। जबसम्म हामी धन कमाउने इच्छालाई सकारात्मक रूपमा लिन सक्दैनौं, तबसम्म रोजगारी सिर्जना, उत्पादन वृद्धि, र समग्र आर्थिक उन्नति सम्भव हुँदैन।
तर, यससँगै अर्को महत्वपूर्ण पक्ष पनि छ त्यो हो नैतिकता र इमान्दारिता । धन कमाउने नाममा भ्रष्टाचार, ठगी, तस्करी, वा राज्यको सम्पत्ति लुट्ने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। दुर्भाग्यवश, हाम्रो समाजमा यस्तै गलत तरिकाबाट धनी बनेकाहरूको संख्या कम छैन, जसले इमान्दार मेहनती व्यक्तिहरूको छविमा समेत प्रश्नचिन्ह खडा गरिदिएको छ। त्यसैले स्पष्ट सन्देश दिन जरुरी छ धनी बन्नु राम्रो हो, तर गलत बाटोबाट होइन।
विशेषगरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूका लागि यो मापदण्ड अझ कडा हुनुपर्छ। राज्यको जिम्मेवारी बोकेका मानिसहरू नै यदि भ्रष्टाचारमा लिप्त भए भने समाजमा गलत सन्देश जान्छ। उनीहरूले पारदर्शिता, इमान्दारी र उत्तरदायित्वको उच्चतम उदाहरण प्रस्तुत गर्नुपर्छ। जनताको करबाट तलब खाने, जनताकै विश्वासमा पदमा पुगेका व्यक्तिहरूले व्यक्तिगत सम्पत्ति जोड्ने नाममा देशलाई लुट्नु केवल कानुनी अपराध मात्र होइन, नैतिक दिवालियापन पनि हो।
हामीले बुझ्नैपर्ने कुरा के हो भने गरिब भएर जन्मनु कसैको दोष होइन। तर गरिबीलाई नियति ठानेर त्यसमै रमाउनु, त्यसबाट बाहिर निस्कने प्रयास नगर्नु, र अरूलाई पनि त्यहीँ बस्न प्रेरित गर्नु भनेको प्रगतिविरोधी सोच हो। हरेक नागरिकले सक्षम बन्ने, आर्थिक रूपमा सबल हुने, र आफ्नो जीवनस्तर उकास्ने अधिकार राख्छ। यो अधिकार प्रयोग गर्न प्रोत्साहन दिनु राज्य, समाज र नीतिनिर्माताहरूको कर्तव्य हो।
आजको आवश्यकता भनेको गरिबीको महिमामण्डन होइन, इमान्दार समृद्धिको सम्मान हो। हामीले त्यस्तो समाज निर्माण गर्नुपर्छ जहाँ मेहनत, सीप र उद्यमशीलताको कदर होस्; जहाँ धनी बन्ने सपना देख्नु अपराध होइन, प्रेरणा होस्; र जहाँ गलत बाटोबाट आर्जित सम्पत्तिलाई कडा रूपमा अस्वीकार गरियोस्।
लक्ष्य स्पष्ट हुनुपर्छ हरेक नेपाली सक्षम बनोस्, आत्मनिर्भर बनोस्, र इमान्दार बाटोबाट समृद्ध बनोस्। चप्पल पड्काएर हिँड्ने बाध्यता होइन, आफ्नै श्रमले गाडी चढ्ने अवसर सबैलाई मिलोस्। यही सोच, यही दृष्टिकोणले मात्र राष्ट्रलाई गरिबीबाट समृद्धिको यात्रामा अघि बढाउन सक्छ।
मान्छे गरिब भएर जन्मनु अपराध होइन, गरिब परिवारमा जन्मनु गल्ती पनि होइन तर गरिबै भएर जिउनु पर्छ, गरिबै भएर मर्नु पर्छ, बाँचुन्जेल चप्पल पड्काएर हिँड्नु पर्छ भन्ने सोच गलत मात्र होइन अपराध पूर्ण सोच हो। हरेक नेपाली, संसारका हरेक मान्छे सक्षम भएको, धनी भएको देख्न, हेर्न पाइयोस।
प्रतिक्रिया