अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लक्षित गर्दै अत्यन्तै कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले स्पष्ट रूपमा भनेका छन् कि यदि इरानले अहिलेको समयदेखि ४८ घण्टाभित्र होरमुज कुनै पनि किसिमको धम्कीबिना पूर्ण रूपमा नखोले, भने संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत् उत्पादन केन्द्रहरूमा आक्रमण गर्नेछ र ती संरचनाहरूलाई पूर्ण रूपमा ध्वस्त पार्नेछ। उनले आफ्नो सन्देशमा “सबैभन्दा ठूलो पावर प्लान्टबाट सुरु गरिने” उल्लेख गर्दै यसलाई गम्भीर चेतावनीको रूपमा प्रस्तुत गरेका छन्।
यो अभिव्यक्तिसँगै मध्यपूर्वमा चलिरहेको तनाव थप चर्किएको छ। होरमुज विश्वकै अत्यन्तै संवेदनशील समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने गर्छ। हाल इरानले उक्त जलमार्गमा नियन्त्रण कडाइ गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि देखिएको छ। यस्तो अवस्थामा ट्रम्पको यो अल्टिमेटमले विश्व बजारमा थप अस्थिरता निम्त्याउने संकेत दिएको छ।
पछिल्ला केही हप्तादेखि अमेरिका, इजरायल र इरानबीचको सैन्य तनाव निरन्तर बढ्दो अवस्थामा छ। इरानले इजरायलतर्फ मिसाइल आक्रमण गर्दै आएको छ भने अमेरिका र इजरायलले पनि इरानका विभिन्न रणनीतिक स्थानहरूमा आक्रमण तीव्र पारेका छन्। यसै क्रममा इरानले होरमुज जलमार्गलाई आफ्नो रणनीतिक दबाबको साधन बनाएको देखिन्छ।
ट्रम्पको चेतावनीले अब स्थिति झन् गम्भीर मोडमा पुगेको छ। यदि इरानले उक्त मार्ग खुला नगरेमा अमेरिका प्रत्यक्ष रूपमा इरानको ऊर्जा पूर्वाधारमा ठूला आक्रमण गर्न सक्ने संकेत दिएको छ, जसले युद्धलाई अझ व्यापक बनाउने जोखिम बढाएको छ। इरानले पनि यस्ता कदमको कडा जवाफ दिने चेतावनी दिइसकेको छ, जसका कारण क्षेत्रीय द्वन्द्व विश्वव्यापी संकटमा रूपान्तरण हुन सक्ने चिन्ता बढेको छ।
विशेषज्ञहरूका अनुसार होरमुज जलडमरूमध्य लामो समयसम्म अवरुद्ध रहेमा विश्वभर इन्धन संकट गहिरिन सक्छ, जसले विशेष गरी एशियाली देशहरूमा ठूलो असर पार्नेछ। अन्तर्राष्ट्रिय व्यापार, ढुवानी र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले यो संकटले विश्व अर्थतन्त्रलाई नै कमजोर पार्ने सम्भावना देखिएको छ।
ट्रम्पले इरानसँगको युद्धस्थितिबारे पुनः आक्रामक अभिव्यक्ति दिएका छन्। उनले एक सार्वजनिक सन्देशमार्फत अमेरिका इरानविरुद्ध निर्णायक रूपमा अघि बढिसकेको दाबी गर्दै आफ्नो लक्ष्य समयभन्दा धेरै अघि नै पूरा भएको बताएका छन्।
ट्रम्पले आफ्नो अभिव्यक्तिमा भनेका छन् कि अमेरिकाले इरानलाई “नक्साबाटै हटाइदिएको” जस्तो अवस्था सिर्जना गरिसकेको छ। उनले दाबी गरेअनुसार इरानको नेतृत्व तह कमजोर भइसकेको, नौसेना र वायुसेना निष्क्रिय भइसकेका छन् र देशसँग कुनै प्रभावकारी प्रतिरक्षा क्षमता बाँकी नरहेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा इरान अहिले सम्झौताको लागि इच्छुक देखिएको तर आफू भने सम्झौतामा चासो नराख्ने संकेत ट्रम्पले दिएका छन्।
यसै क्रममा ट्रम्पले अमेरिकी सञ्चारमाध्यमप्रति पनि कडा आलोचना गरेका छन्। विशेष गरी उनले न्यूयोर्क टाइम्सका विश्लेषक डेभिड स्यान्गरलाई लक्षित गर्दै आफूले आफ्नो लक्ष्य पूरा गर्न नसकेको भन्ने टिप्पणीलाई अस्वीकार गरेका छन्। ट्रम्पले यस्तो विश्लेषणलाई गलत भन्दै आफूले तय गरिएको लक्ष्यभन्दा धेरै अघि नै सफलता हासिल गरेको दाबी दोहोर्याएका छन्। साथै उनले न्यूयोर्क टाइम्सलाई “सधैँ गलत हुने” र आफ्नो चुनावी कवरेजमा पनि असफल भएको आरोप लगाएका छन्।
यसरी ट्रम्पको ४८ घण्टे अल्टिमेटमले अहिलेको युद्धलाई निर्णायक मोडमा पुर्याएको छ। अबको केही दिनमै इरानले मार्ग खोल्ने वा अमेरिका सैन्य आक्रमणमा जाने भन्ने निर्णयले मात्र होइन, सम्पूर्ण विश्वको राजनीतिक र आर्थिक दिशालाई समेत निर्धारण गर्ने देखिएको छ।
प्रतिक्रिया