मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारलाई एकपटक फेरि झस्काएको छ। कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा भएको आक्रमणपछि अमेरिका, बेलायत र युरोपभर ग्यासको मूल्य एकाएक उकालो लागेको छ। आपूर्ति अवरुद्ध हुन सक्ने त्रासले बजारमा तत्काल प्रभाव परेको विश्लेषकहरू बताउँछन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले कतारस्थित ऊर्जा संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै अब थप आक्रमण नगर्न आग्रह गरेका हुन्। उनले यस्तो गतिविधि दोहोरिएमा त्यसको परिणाम गम्भीर हुने संकेत समेत दिएका छन्।
ट्रम्पले इरानको साउथ पार्स ग्यास क्षेत्रमा भएको भनिएको इजरायली आक्रमणबारे भने अमेरिका अनभिज्ञ रहेको दाबी गरेका छन्। बुधबार भएको उक्त आक्रमणबारे आफूहरूलाई कुनै जानकारी नभएको उनको भनाइ छ। साउथ पार्स क्षेत्र विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ, जहाँ इरान र कतार दुवैले उत्पादन गरिरहेका छन्। तर यस घटनाबारे इजरायलले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यो क्षेत्रलाई विश्व ऊर्जा आपूर्तिको केन्द्र मानिन्छ। यहाँ अस्थिरता बढ्दै जाँदा एशिया र युरोपसम्म ऊर्जा संकट गहिरिने खतरा देखिएको छ।
यता, कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा दुःखद घटना भएको छ। एक अवरुद्ध गरिएको मिसाइलका टुक्रा खसेर ब्यूटी पार्लरमा लाग्दा तीन महिलाको ज्यान गएको प्यालेस्टाइन रेड क्रिसेन्टले जनाएको छ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर देखाउन थालेको छ। पेट्रोलियम पदार्थको मूल्य, ढुवानी खर्च र दैनिक उपभोगका बिलहरू बढ्न थालेपछि यस वर्ष घट्ने अपेक्षा गरिएको मुद्रास्फीति (inflation) उल्टै प्रभावित हुने संकेत देखिएको छ।
यसअघि अनुमान गरिएको थियो कि मुद्रास्फीति करिब २ प्रतिशतको लक्ष्यमा झर्नेछ र त्यही आसपास रहनेछ, जसले मूल्य वृद्धिलाई सामान्य र सहनीय बनाउने थियो। तर पछिल्ला केही सातामा ऊर्जा मूल्य ह्वात्तै बढेपछि सरकारी पूर्वानुमानकर्ताहरूले वर्षको अन्त्यसम्म मुद्रास्फीति ३ प्रतिशत पुग्न सक्ने आकलन गरेका छन्। अब केही अर्थशास्त्रीहरू भने यो दर ४ प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिइरहेका छन्।
यद्यपि यो दर विगतका दुई अंक (double-digit) मुद्रास्फीतिको जस्तो गम्भीर नहुन सक्छ, तर लगातार बढ्दो मूल्यले जनजीवनमा दबाब भने कायम रहनेछ। यदि सरकारले राहत प्याकेज ल्यायो वा ऊर्जा मूल्य फेरि घट्यो भने अवस्था केही सहज हुन सक्छ। तर पछिल्ला घटनाक्रमले देखाएझैँ, आगामी अवस्था कता मोडिन्छ भन्ने कुरा अझै अनिश्चित छ।
यसैबीच इरानले खाडी क्षेत्रका अमेरिकी तथा इजरायली सहयोगी देशहरूको ऊर्जा संरचनामाथि आक्रमण गर्ने चेतावनी दिएको छ। आफ्नो ऊर्जा पूर्वाधारमाथि पुनः आक्रमण भएमा “पूर्ण रूपमा ध्वस्त पार्ने” सम्मको प्रतिक्रिया दिने इरानी सैन्य नेतृत्वले जनाएको छ। इरानले हालै दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित आफ्नै संरचनामा भएको आक्रमणपछि खाडी क्षेत्रमा ग्यास र तेल केन्द्रहरूमा लगातार हमला सुरु गरिसकेको छ।
इरानले स्ट्रेट अफ हर्मुज प्रयोग गर्ने जहाजहरूबाट शुल्क उठाउने प्रस्तावसमेत अघि सारेको छ। इरानी संसदका प्रतिनिधिहरूले उक्त मार्गको सुरक्षाको जिम्मेवारी आफूहरूले लिएको दाबी गर्दै अब त्यसको प्रयोगका लागि कर तिर्नुपर्ने व्यवस्था गर्न खोजिरहेका छन्। विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमा यस्तो कदमले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जटिलता ल्याउने देखिन्छ।
यता अमेरिकी सेनाले इरानका गहिरो भूमिगत हतियार भण्डारहरू लक्षित गर्दै आक्रमण तीव्र पारेको छ। हजारौँ लक्ष्यमा आक्रमण गरिए पनि इरानले अझै मिसाइल र ड्रोनमार्फत छिमेकी देशहरूमा हमला जारी राखेको छ। इरानले आफ्ना हतियारहरू पहाडभित्र र जमिनको गहिराइमा सुरक्षित राखेकाले तिनलाई नष्ट गर्न अत्याधुनिक “बंकर बस्टर” बमहरू प्रयोग गर्नुपरेको छ।
खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा होस्ट गर्ने देशहरूलाई इरानले निशाना बनाएको यो पहिलो घटना भने होइन। तर यसपटकको आक्रमणको परिमाणले भने क्षेत्रीय नेताहरूलाई नै चकित बनाएको छ। यही आक्रोश अरब र इस्लामिक देशहरूको संयुक्त वक्तव्यमा समेत स्पष्ट देखिएको छ।
यी आक्रमणहरूमा आवासीय क्षेत्र र सर्वसाधारणको पूर्वाधारसमेत प्रभावित भएका छन् भने ठूला ऊर्जा केन्द्रहरू प्रत्यक्ष निशानामा परेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले युद्ध सुरु भएयता आफूहरूतर्फ प्रक्षेपण गरिएका दुई हजारभन्दा बढी मिसाइल र ड्रोनको सामना गर्न सक्ने क्षमता रहेको दाबी गरेका छन्। तर अन्य खाडी देशहरूजस्तै उनीहरूले पनि “विश्व ऊर्जा सुरक्षामाथि गम्भीर खतरा” पैदा भएको चेतावनी दिएका छन्।
पर्यटन, ऊर्जा र प्रविधिमा आधारित खाडी देशहरूको अर्थतन्त्र अहिले उच्च जोखिममा परेको छ। यस युद्धले ती देशहरूको दीर्घकालीन लगानी, विकास योजना र आर्थिक अपेक्षामा गहिरो असर पार्ने देखिएको छ।
यूएईका एक अधिकारीले इरानले मध्यस्थकर्ताको भूमिका खेलेका देशहरूलाई समेत यसरी निशाना बनाएकोप्रति आश्चर्य व्यक्त गरेका छन्।
पश्चिमी देशहरू र इजरायलद्वारा लामो समयदेखि प्रतिबन्ध र दबाब भोग्दै आएको इरान यस युद्धअघि नै केही हदसम्म अलग-थलग थियो। तर यदि वर्तमान शासन टिकिरह्यो भने पनि यसले पहिले विश्वास गरेका मध्यस्थ देशहरूसँगको सम्बन्धमा गम्भीर क्षति पुर्याइसकेको देखिन्छ।
मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वले केवल राजनीतिक अवस्था मात्र होइन, विश्व अर्थतन्त्र, ऊर्जा बजार र सर्वसाधारणको जीवनमा समेत गम्भीर असर पार्न थालेको देखिएको छ।
प्रतिक्रिया