लेबनानको राजधानी बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरेका छन्। उत्तरी इजरायलको हैफा नजिकै रहेको एक सैन्य अड्डामाथि रकेट र ड्रोन प्रहार गरेको दाबी गर्दै हिज्बुल्लाहले जिम्मेवारी लिएपछि इजरायलले तत्काल प्रतिउत्तर दिएको हो। हिज्बुल्लाहले सोमबार बिहान जारी वक्तव्यमा आफ्नो आक्रमण इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्याको बदला भएको जनाएको छ। समूहले “लेबनान र लेबनानी जनताको रक्षा” तथा “इजरायलको पटक पटकको आक्रमणको जवाफ” स्वरूप कारबाही गरिएको उल्लेख गरेको छ।
वक्तव्यमा भनिएको छ, “इजरायली आक्रमण र हाम्रा नेताहरू, युवा र नागरिकको हत्या जारी रहेसम्म हामीलाई आत्मरक्षा गर्ने अधिकार छ। उपयुक्त समय र स्थानमा जवाफ दिनु हाम्रो अधिकार हो।” साथै हिज्बुल्लाहले इजरायलले पन्ध्र महिनादेखि जारी आक्रमण चेतावनीबिना निरन्तर गर्न नसक्ने र लेबनानी भूभागबाट फिर्ता हुनुपर्ने उल्लेख गरेको छ। हिज्बुल्लाहको आक्रमणलगत्तै इजरायलले दक्षिण बेरुतमा तीव्र हवाई प्रहार गरेको छ। स्थानीय सञ्चारमाध्यमहरूले दक्षिण लेबनानका विभिन्न गाउँहरू र देशको पूर्वी भाग बेका उपत्यकामा पनि इजरायली आक्रमण भएको जनाएका छन्। इजरायली सेनाले “लेबनानभर हिज्बुल्लाहमाथि कडा प्रहार भइरहेको” दाबी गरेको छ।
इजरायली सेनाले जारी वक्तव्यमा हिज्बुल्लाहले युद्ध अभियानमा सामेल हुने निर्णय गरेको भन्दै त्यसविरुद्ध कडा कारबाही गरिने जनाएको छ। “हिज्बुल्लाहले इजरायल राज्य र उत्तरी क्षेत्रका बासिन्दामाथि खतरा सिर्जना गर्न अनुमति दिइने छैन,” सेनाले जनाएको छ। साथै लेबनान राज्यलाई अस्थिर बनाउने जिम्मेवारी हिज्बुल्लाहकै भएको आरोप लगाउँदै कुनै पनि आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएको छ।
यो घटनाक्रमले क्षेत्रीय युद्ध झन् गहिरिने संकेत दिएको छ। एकातर्फ अमेरिका र इजरायल, अर्कोतर्फ इरान र उसका सहयोगीबीचको द्वन्द्व अहिले बहुआयामिक रूप लिँदै गएको छ।
लेबनान वर्षौँदेखि आर्थिक र राजनीतिक संकट झेलिरहेको अवस्थामा यो तनावले देशको अवस्था थप जटिल बन्न सक्ने देखिएको छ। सन् २०२४ नोभेम्बरमा हिज्बुल्लाह र इजरायलबीच युद्धविराम भए पनि त्यसपछि पनि इजरायलले लेबनानभर छिटफुट आक्रमण जारी राखेको आरोप लाग्दै आएको छ। गत वर्ष लेबनानी सरकारले हिज्बुल्लाहलाई निःशस्त्रीकरण गर्ने आदेश जारी गरे पनि समूहले त्यसलाई अस्वीकार गर्दै आफ्ना हतियार इजरायली विस्तारवादविरुद्ध आवश्यक भएको दाबी गरेको थियो।
प्रतिक्रिया