मान्छेको पहिचान हुन्छ नि निजी त्यो भन्नु नै धर्म हो ।
गर्दै पालन पूर्ण जीवन बितोस् यो गर्नु सत्कर्म हो ।।
आफ्ना सन्ततिले त्यही लिन सकून् देखेर जानून् सब ।
यो जीवन्त रहोस् निरन्तर चलोस् हो देशको गौरव ।।
***
मान्छेमा पशुमा छ भिन्न कि यही मान्छेसँगै धर्म छ ।
पुर्खाको छ नि संस्कृति हृदयमा जे जे गरे मर्म छ ।।
पुर्खाका पदचिह्न मेटिन गए अस्तित्व आफ्नो गुम्यो ।
बढ्दा नास्तिकता पथच्युत भयो आयो विधर्मी घुम्यो ।।
***
पाइन्छन् फलफूल यो प्रकृतिमा दिन्छन् त्यही धर्म हो ।
धर्ती अन्न फलाइदिन्छ उसको पाल्ने यही धर्म हो ।।
वर्षा गर्छ सराकले जल दिने यो सृष्टिको धर्म हो ।
दिन्छन् नित्य प्रकाश चन्द्ररविले उन्को यही धर्म हो ।।
***
पुग्छन् सागरमा सबै नदनदी बग्ने त्यही धर्म हो ।
तारा टिम्टिम गर्दछन् सगरमा गर्ने त्यही धर्म हो ।।
चल्दो यो सब सृष्टि नित्य छ त्यही यो सृष्टिको धर्म हो ।
प्राणी पालन गर्छ कर्म अघिका सम्पूर्णको धर्म हो ।।
***
जस्ले त्याग्दछ धर्म देवपितृले जानौं सरापे तब ।
भूतप्रेत सताउँछन् पतनको बाटो लिने हो तब ।।
बाँचुन्जेल त थुक्छ लोक र मरे पर्ने त हो नर्कमा ।
त्याग्नै हुन्न स्वधर्म भूल छ बडो त्यागे पर्यो कष्टमा ।।
***
हेर्दामा निरपेक्ष हुन्न नि जगत् सम्पूर्ण सापेक्ष छन् ।
आफ्नो धर्म गरेर पालन सबै चल्छन् निजी धर्म छन् ।।
रक्षा गर्दछ धर्मको यदि भने मान्छे रह्यो रक्षित ।
छोड्यो धर्म भने पढाइ जति होस् मानिन्न त्यो शिक्षित ।।
*******
२०८२/९/२६/७ मा
प्रतिक्रिया