मध्यपूर्व क्षेत्रमा तनाव चुलिँदै गएको बेला इरान का एक उच्च अधिकारीले अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरे त्यसलाई युद्धको सुरुवात मानिने र त्यसको अभूतपूर्व प्रतिक्रिया हुने कडा चेतावनी दिएका छन्। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का पूर्वसचिव तथा सर्वोच्च नेता अली खामेनेई का राजनीतिक सल्लाहकार अली शम्खानी ले भनेका छन् कि यदि अमेरिकाले हमला गर्यो भने अमेरिका, इजरायल र “आक्रमणकारीलाई समर्थन गर्ने सबै” इरानको निशानामा पर्नेछन्। शम्खानीले सामाजिक सञ्जाल एक्समा फारसी र हिब्रु भाषामा लेख्दै “सीमित अमेरिकी आक्रमण भन्ने कुरा भ्रम मात्र हो” भन्दै कुनै पनि स्तरको अमेरिकी सैन्य कारबाहीलाई युद्धको आरम्भ मानिने बताएका छन्।
उनका अनुसार यस्तो अवस्थामा प्रतिक्रिया तत्काल, व्यापक र अहिलेसम्मकै अभूतपूर्व हुनेछ। उनले विस्तृत विवरण नदिए पनि इजरायलको राजधानी तेल अभिभ नजिकैसम्म आक्रमण हुन सक्ने संकेत दिएका छन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रमुख मार्को रुबियो ले अमेरिकी सिनेटको सुनुवाइमा मध्यपूर्व क्षेत्रमा करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहेको र ती इरानी मिसाइल तथा ड्रोनको पहुँचभित्र रहेको बताएका छन्।
रुबियोले इरानमा सत्ता परिवर्तन भए कसले नेतृत्व गर्ने भन्ने विषय अनिश्चित रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग आत्मरक्षाका नाममा पूर्व–आक्रमण गर्ने विकल्प पनि रहेको उल्लेख गरेका छन्। ट्रम्पले हालै इरानविरुद्ध पुनः सैन्य चेतावनी दोहोर्याएका थिए। यसअघि उनले युएसएस अब्राहम लिंकन विमानवाहक युद्धपोतको नेतृत्वमा रहेको अमेरिकी नौसैनिक “आर्माडा” लाई मध्यपूर्वतर्फ पठाउने आदेश दिएका थिए, जसले चाँडै सैन्य अभ्यास गर्ने बताइएको छ।
यो अवस्था त्यतिबेला आएको हो, जब ट्रम्पले इरान वाशिङ्टनसँग सम्झौताका लागि तयार रहेको बताएका थिए। विश्लेषकहरूका अनुसार सम्भावित सम्झौतामा इरानको परमाणु कार्यक्रम, मिसाइल क्षमता र क्षेत्रीय सशस्त्र समूहप्रतिको समर्थन सीमित गर्ने विषय समावेश हुन सक्छ।
इरानको संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ ले पनि ट्रम्पले युद्ध सुरु गर्न सक्लान्, तर त्यसको अन्त्य कसरी हुन्छ भन्ने कुरा उनको नियन्त्रणमा नहुने चेतावनी दिएका छन्। उनले इरान अमेरिका सँग “इमानदार र वास्तविक वार्ताका लागि तयार” रहेको समेत बताएका छन्।
उता, इरानका विदेशमन्त्री अब्बास अराघची ले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानी सशस्त्र बलहरू पूर्ण तयारीमा रहेको बताएका छन्। उनका अनुसार इरानको भूमि, आकाश वा समुद्रमाथि हुने कुनै पनि आक्रमणको तुरुन्त र शक्तिशाली जवाफ दिन सेना तयार छ।
यस घटनाक्रमसँगै अमेरिका–इरानबीचको टकरावको सम्भावना बढ्दै गएको विश्लेषकहरूको भनाइ छ। यदि कूटनीतिक पहल असफल भयो भने यो तनावले मध्यपूर्व मात्र होइन, विश्व सुरक्षामा समेत गम्भीर असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
प्रतिक्रिया