डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि आप्रवासन नीतिमा कडाइ स्पष्ट देखिन थालेको छ । ट्रम्पले सन् २०२५ जनवरी २० मा शपथ लिएको एक वर्षभित्रै अमेरिकाले ५ सय ८३ जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरी नेपाल फिर्ता पठाएको तथ्य सार्वजनिक भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार सन् २०२५ जनवरी २० देखि २०२६ जनवरी २० सम्मको अवधिमा अवैध रूपमा अमेरिका बसोबास गरेको, भिसा अवधि नाघेको, गलत कागजात प्रयोग गरेको तथा अवैध प्रवेश गरेको आरोपमा नेपाली नागरिकहरूलाई निष्कासन गरिएको हो ।
अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अनुज भण्डारीका अनुसार ट्रम्पको दोस्रो कार्यकालमा नेपालीहरूलाई निष्कासन गर्ने तरिका पनि अघिल्लो वर्षहरूको तुलनामा फरक देखिएको छ ।
“एक वर्षको अवधिमा झण्डै ६ सय नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । पछिल्ला महिनाहरूमा धेरैलाई चार्टर्ड विमानमार्फत पठाइएको छ,” उनले जानकारी दिए ।
गत सोमबार (माघ ५) मात्रै अमेरिकाले ९१ जना नेपालीलाई एकैपटक निष्कासन गरी काठमाडौं पठाएको थियो । यो संख्या अहिलेसम्मकै उच्च मानिन्छ । यसअघि पुस ३ गते ७५ जना नेपाली, भदौ १९ गते ३७ जना र जेठ २५ गते पनि ३७ जना नेपाली चार्टर्ड विमानमार्फत नेपाल फर्काइएका थिए ।
अध्यागमन अधिकारीहरूका अनुसार यसअघि अमेरिकी सरकारले प्रायः नियमित व्यावसायिक उडानमार्फत निष्कासन गर्ने गरेको थियो । तर पछिल्लो समय ठूलो संख्यामा एकैपटक निष्कासन गर्न चार्टर्ड उडान प्रयोग हुन थालेको हो ।
अमेरिकी प्रशासनले कानुनी आधार बिना अमेरिका बसोबास गर्ने विदेशी नागरिकमाथि कडाइ गरेको जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले निष्कासन हुनुअघि केही दिन पहिल्यै नेपाल सरकारको अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइन्छ ।
प्रहरी स्रोतका अनुसार डिपोर्ट हुने अधिकांश नेपाली अवैध बाटो हुँदै अमेरिका पुगेका हुन्छन् । सोधपुछका क्रममा उनीहरूबाट मानव तस्कर, दलाल र अवैध रुटबारे सूचना संकलन गरिन्छ ।
अमेरिकाले निष्कासन गरेका नेपालीमाथि अवैध प्रवेश, भिसा नलिई बसोबास, झुटा कागजात प्रयोग र आप्रवासन कानुन उल्लङ्घनजस्ता आरोप लगाएको छ ।
ट्रम्पले दोस्रो कार्यकालका लागि निर्वाचन अभियान चलाउँदा नै आप्रवासन कडाइ आफ्नो मुख्य एजेन्डा बनाएका थिए । राष्ट्रपति पदको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई छिटो निष्कासन गर्नेसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि ट्रम्प प्रशासनले १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीको सूची सार्वजनिक गर्यो, जसमा १ हजार ३ सय ६५ जना नेपाली पनि परेका थिए । ती सबैलाई अवैध रूपमा अमेरिका बसोबास गरेको आरोप लगाइएको थियो ।
सन् २०२४ मा अमेरिकाले जम्मा ३५ जना नेपालीलाई मात्र डिपोर्ट गरेको थियो । तर ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि एकै वर्षमा ५ सय ८३ नेपाली निष्कासन हुनु आप्रवासन नीतिमा आएको कठोर परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।
आप्रवासन विज्ञहरूका अनुसार आगामी महिनाहरूमा निष्कासनको संख्या अझ बढ्न सक्ने सम्भावना छ । विशेष गरी अवैध बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने, शरणार्थी दाबी अस्वीकृत हुने तथा भिसा अवधि नाघेका नेपाली उच्च जोखिममा छन् ।
सरकारी अधिकारीहरू र आप्रवासन विज्ञहरूले अवैध बाटोबाट अमेरिका जाने प्रवृत्तिले नेपाली युवालाई थप जोखिममा पारिरहेको बताएका छन् । लाखौँ खर्च गरेर अमेरिका पुगेका युवाहरू डिपोर्ट भएर फर्कनुपर्दा आर्थिक, सामाजिक र मानसिक समस्या झेल्न बाध्य हुने गरेको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया