अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीच फ्लोरिडामा भएको पछिल्लो भेटवार्तामा युक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भएको दाबी गरिए पनि सबैभन्दा जटिल र संवेदनशील विषयहरूमा अझै ठोस सहमति हुन सकेको छैन। आइतबार ट्रम्पको मार-ए-लागो निवासमा भएको छलफलमा संशोधित शान्ति योजनाका केही अंशमा सहमति नजिक पुगेको भनिए पनि रुसले पहिल्यै अस्वीकार गरिसकेका मुख्य विषयहरू अझै अनसुल्झिएका छन्।
भेटपछि दुवै नेताले समग्र शान्ति सम्झौता करिब अन्तिम चरणमा पुगेको संकेत दिएका छन्। जेलेन्स्कीले अमेरिका तर्फबाट युक्रेनलाई १५ वर्षसम्म लागू हुने सुरक्षा प्रत्याभूति प्रस्ताव गरिएको बताएका छन्। ट्रम्पले पनि यस विषयमा सहमति झन्डै ९५ प्रतिशत पूरा भइसकेको दाबी गरेका छन्। तर युक्रेनले यस्तो सुरक्षा ग्यारेन्टीलाई आवश्यक परे ५० वर्षसम्म विस्तार गर्न सकिने विकल्प चाहेको स्पष्ट पारेको छ। जेलेन्स्कीका अनुसार शान्ति सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै ती ग्यारेन्टी लागू हुनुपर्ने युक्रेनको अडान छ।
यद्यपि युक्रेनको पूर्वी डोनबास क्षेत्रको भविष्यबारे सहमति अझै बन्न सकेको छैन। डोनेत्स्क र लुहान्स्क क्षेत्र मिलेर बनेको डोनबासको ठूलो हिस्सा हाल रुसको नियन्त्रणमा छ। ट्रम्पले यस विषयलाई अझै “अनसुल्झिएको” माने पनि समाधानतर्फ क्रमशः नजिकिँदै गएको बताएका छन्। रुस भने डोनबासको बाँकी भागबाट पनि युक्रेनी सेना फिर्ता हुनुपर्ने अडानमा अडिग छ।
युक्रेनले डोनबासको केही भागलाई युक्रेनी सुरक्षाकर्मीको निगरानीमा स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव अघि सारेको छ। तर जेलेन्स्कीले यस्तो संवेदनशील विषय युक्रेनी जनताको प्रत्यक्ष सहभागिता र सहमतिबिना टुंगो लगाउन नसकिने बताएका छन्। उनले सम्भावित शान्ति सम्झौतालाई जनमतसंग्रहमा लैजान कम्तीमा ६० दिनको युद्धविराम आवश्यक हुने उल्लेख गरे। तर रुस अस्थायी युद्धविरामको पक्षमा छैन।
यसै सन्दर्भमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच भएको फोन संवादमा पनि अस्थायी युद्धविरामले युद्ध झन् लम्बिने रुसी धारणा व्यक्त भएको थियो। ट्रम्पले रुसको यो दृष्टिकोण आफूले बुझेको बताएका छन्। उनले मास्को जनमतसंग्रहका लागि युद्धविराममा इच्छुक नदेखिएको स्वीकार गरेका छन्।
ट्रम्पले आगामी दिनमा अमेरिका, रुस र युक्रेनबीच त्रिपक्षीय वार्ता सम्भव हुन सक्ने संकेत पनि दिएका छन्। तर यदि वार्ता गम्भीर रूपमा विफल भए युद्ध अझै लम्बिन सक्ने चेतावनी उनले दिएका छन्। जेलेन्स्कीले जनवरी महिनामा वाशिङ्टनमा युक्रेनी अधिकारीहरूको थप बैठक हुन सक्ने र त्यसमा युरोपेली नेताहरू पनि सहभागी हुन सक्ने बताएका छन्।
युरोपेली नेताहरूले फ्लोरिडामा भएको वार्तालाई सावधानीपूर्वक सकारात्मक रूपमा लिएका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लेयेन ले युक्रेनका लागि “बलियो र भरोसायोग्य” सुरक्षा ग्यारेन्टी अपरिहार्य भएको दोहोर्याइन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोँ ले आगामी महिनामा पेरिसमा युक्रेनका सहयोगी राष्ट्रहरूको बैठक आयोजना हुने जानकारी दिएका छन्।
कूटनीतिक पहल तीव्र भइरहे पनि युद्धको वास्तविकता भने रोकिएको छैन। युक्रेनका अनुसार आइतबार मात्र रुसले दर्जनौँ हवाई आक्रमण गरेको थियो, जसमध्ये धेरैजसो खसालिएको दाबी गरिएको छ। उता रुसको रक्षा मन्त्रालयले पनि आफ्ना क्षेत्रमा थुप्रै ड्रोन खसालिएको जनाएको छ। शान्ति प्रयास र युद्धको निरन्तरताबीच युक्रेन संकट अझै निर्णायक मोडमा पुग्न बाँकी नै देखिन्छ।
प्रतिक्रिया