काठमाडौं / नेपाल चलचित्र कलाकार संघले आफ्नो ३७औं स्थापना दिवस विशेष कार्यक्रमसहित काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ। संघले “कलासँगै रोजगारण” भन्ने मूल नाराका साथ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा परिसंवाद, वृक्षारोपण, र योग ध्यान कार्यक्रम आयोजना गरेको हो।
चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चावहिलमा भएको अन्तरक्रिया तथा परिसंवाद कार्यक्रममा कलाकार, विज्ञ र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा चर्चित अभिनेता राजेश हमाल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी., समिर बस्नेत, अभिनेत्री अञ्जना बराइली लगायतले चलचित्र क्षेत्रको वर्तमान अवस्था, भविष्यका चुनौती र अवसरबारे आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा सञ्चालकको भूमिका सविन श्रेष्ठले निर्वाह गरेका थिए भने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एबम अग्रज कलाकार मोहन निरौलाले सहज कर्ताका रुपमा कार्यक्रम अगाडी बढाएका थिए।
स्थापना दिवसकै अवसरमा संघले पर्यावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गर्यो। कार्यक्रम पशुपतिनाथ बनकाली परिसरमा सम्पन्न भएको हो। कार्यक्रममा संघका पदाधिकारी र सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
जीवन विज्ञान ध्यान पीठ, चावहिलमा भएको योग ध्यान कार्यक्रममा चलचित्र कलाकार, पत्रकार र सर्वसाधारणले उत्साहजनक उपस्थिति जनाए। बिहान चलेको कार्यक्रममा योग–ध्यान अभ्याससँगै स्वस्थ जीवनशैली र मानसिक शान्तिबारे विशेष मार्गदर्शन दिइयो।
नेपाल चलचित्र कलाकार संघले आयोजना गरेका यी विविध कार्यक्रमहरूले संघको सामाजिक उत्तरदायित्व र कलाप्रति समर्पणलाई अझ बलियो बनाएको छ। कला, संस्कृतिको संरक्षणसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने उद्देश्य स्पष्ट पार्दै संघले आफ्नो ३७औं स्थापना दिवसलाई एक ऐतिहासिक अवसरको रूपमा मनाएको छ।
प्रतिक्रिया