नेपालमा ‘ब्रेन ड्रेन’ अर्थात् पेशागत तथा प्रतिभाशाली जनशक्तिको पलायन पछिल्ला वर्षहरूमा चर्को रूपमा बढिरहेको छ। म धेरै वर्षदेखि यस विषयमा लेख्दै, बोल्दै र विभिन्न अन्तरवार्तामा अभिव्यक्ति दिँदै आएको छु। यस्ता प्रसङ्गमा प्रायः कतिपयले मलाई उल्टै व्यङ्ग्य गर्दै सोध्छन् “विदेशमा बसेर नेपालको चिन्ता किन गर्नुहुन्छ? हाम्रो देशको चिन्ता हामी स्वदेशमै बसेर लिन्छौँ, हामी आफैं बनाउँछौँ, तपाईँ जस्तो देश छोडेर हामी विदेशिँदैनौं।”
उनीहरू आफैलाई चर्को राष्ट्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी वा सङ्घीयतावादीका रूपमा प्रस्तुत गर्छन्। तर विडम्बना के छ भने, केही समयपछि ती मध्ये धेरैलाई म यहाँ अमेरिकामा, वा युरोप, अस्ट्रेलिया, क्यानडा, अनि कम्तीमा खाडी मुलुकहरूमा भेट्छु।
यो देख्दा मनमा गहिरो पीडा उम्लिन्छ, तर व्यक्तिगत रूपमा मैले के गर्न सक्छु र ? यसमा चासो दिनुपर्ने मुख्य जिम्मेवारी त सरकार र राज्य सञ्चालन गर्ने निकायको हो। दुर्भाग्यवश, सत्तामा बसेकाहरूलाई यसको समाधानमा खासै चासो छैन। बरु उनीहरूलाई जनशक्ति पलायन हुनुमा प्रत्यक्ष फाइदा छ। ब्रेन ड्रेन बढ्दा सचेत मतदाता घट्छन्, र “झोले” तथा “अन्धभक्त” जनसमूह बढ्छ। कुशासन, भ्रष्टाचार र अन्यायको जरा यस्तै वातावरणमा अझ गहिरिन्छ।
यथार्थ के हो भने, यदि अहिलेको गति यस्तै रह्यो भने, केही वर्षमै नेपालमा उत्पादनशील, दक्ष र शिक्षित जनशक्ति निकै घट्नेछ। १२ कक्षा सकेका मात्र विद्यार्थीमध्ये जो विदेश जान सक्दैनन्, उनीहरू मात्रै देशमा रहनेछन्। त्यसबाहेक, गाउँघरमा बुढाबुढी हजुरबा–हजुरआमा, आमा–बा मात्र बाँकी हुनेछन्। बाँकी युवापुस्ताको ठुलो भाग रोजगारी, शिक्षा र अवसरको खोजीमा सीमा पार गरिसकेको हुनेछ।
ब्रेन ड्रेनको यो लहरले मुलुकको अर्थतन्त्र, प्रशासन, शिक्षा, स्वास्थ्य र अनुसन्धान सबै क्षेत्रमा गम्भीर सङ्कट ल्याउनेछ। तत्कालीन समयमा यो प्रवृत्तिको रोकथामका लागि ठोस नीति, रोजगारी सिर्जना, पारदर्शी शासन र अवसरको समान वितरण हुन जरुरी छ। तर अहिलेका शासकहरू उल्टै यो परिस्थितिलाई आफ्नो राजनीतिक फाइदामा प्रयोग गरिरहेका छन्। उनीहरूलाई सजग बनाउने, प्रश्न गर्ने र परिवर्तनको माग गर्ने नागरिकभन्दा अन्ध समर्थन गर्ने, आरती उतार्ने जनसमूह चाहिएको छ।
यसरी हेर्दा, आगामी केही वर्षमा नेपाल “झोले”, “खोले”, “नबोले” र “भक्त” हरूको मात्र देश बन्दै जाने खतरा देखिन्छ। राष्ट्रको मेरुदण्ड बन्ने नयाँ पुस्ता विदेशमा स्थापित भइसकेको, र बाँकी बस्न नसक्ने अवस्था आएको अवस्थामा, मुलुकको स्वाभिमान र भविष्य गम्भीर सङ्कटमा पर्न सक्छ। यसका लागि आजैबाट राज्यका हरेक तहमा सचेत नेतृत्व, दीर्घकालीन योजना र सच्चा राष्ट्र प्रेमी दृष्टिकोण आवश्यक छ, नत्र इतिहासले क्षमा गर्ने छैन चेतना भया !

प्रतिक्रिया