न्यूयोर्क, ८ मार्च २०२६ / जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरले आफ्नो छैटौँ वार्षिकोत्सव तथा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ। न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालको अडिटोरियम हलमा अपराह्न २ बजेबाट सुरु भएको कार्यक्रम साँझ ८ बजेसम्म सञ्चालन गरिएको थियो।
कार्यक्रम न्यूयोर्क राज्यकी सिनेटर जेसिका रामोसको प्रमुख आतिथ्यता तथा एसेम्ब्ली सदस्य जेसिका गोन्जालेसको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन ज्येष्ठ समाजसेवी शारदा क्षेत्रीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रममा फाउन्डेशनका प्रवक्ता तथा कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले अतिथिहरूलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो।
प्रमुख अतिथि सिनेटर जेसिका रामोसले नेपाली समुदाय संख्या हिसाबले सानो भए पनि सामाजिक सेवामा उल्लेखनीय योगदान दिइरहेको उल्लेख गर्नुभयो। उहाँले फाउन्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवी सोमनाथ घिमिरे र उहाँको टोलीले कोभिड–१९ महामारीको कठिन समयमा समेत निरन्तर समाजसेवामा सक्रिय रहँदै समुदायलाई सहयोग पुर्याएको भन्दै प्रशंसा गर्नुभयो। साथै, घिमिरेलाई भविष्यमा न्यूयोर्क राज्यको डिस्ट्रिक्ट एसेम्ब्लीमा प्रतिनिधित्व गरेको देख्न चाहेको भन्दै उहाँको सामाजिक तथा राजनीतिक यात्राको सफलताको कामना गर्नुभयो।
विशेष अतिथि एसेम्ब्ली सदस्य जेसिका गोन्जालेसले फाउन्डेशनले समुदायमा गरिरहेको सेवा कार्यबाट आफू प्रभावित भएको बताउँदै वार्षिकोत्सव तथा महिला दिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रसाद कम्युनिटी अफेयर्स फूड प्यान्ट्रीकी अध्यक्ष जेन्नी प्रसादले जिपी कोईराला फाउन्डेशनसँग लामो समयदेखि सहकार्य गर्दै आएको बताउँदै फाउन्डेशनले गरीब, असहाय र विद्यार्थी वर्गलाई खाद्यान्न वितरण लगायतका मानवीय कार्य गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो।
त्यसैगरी, एनआरएनए अमेरिकाकी सचिव तथा महिला नेतृ लक्ष्मी थापाले महिला सशक्तिकरणको आवाज अहिले विश्वभर गुञ्जिरहेको उल्लेख गर्दै नेपाली महिलाहरू पनि विभिन्न क्षेत्रमा उदाहरणीय रूपमा अघि बढिरहेको बताउनुभयो। एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष **डण्डपाणी लामिछाने (वासु)**ले महिलाहरू अब घरभित्र सीमित नरही समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिन थालेको धारणा राख्नुभयो।
कार्यक्रममा जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष दिनदयाल भण्डारी (दिनेश), रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेश भट्ट, पत्रकार किरण मरहट्टा, साहित्यकार गीता खत्री र राम खत्री, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष वसन्ती राई, संयुक्त राष्ट्रसंघ आध्यात्मिक संघका अध्यक्ष गुरु दिलीप थांकापन, समाजसेवी मनिता गुरुङ, अनिता परियार, कल्पना घिमिरे, पुष्पा अधिकारी, कुन्ती थापा, लक्ष्मी कार्की, मिलन शाही, दोलखा समाज अमेरिकाका अध्यक्ष भोजराज ठोक्कर, न्यूयोर्क सिटी काउन्सिल बोर्ड सदस्य वीरेन्द्र मानन्धर, माइनोरिटी इम्पावरमेन्ट न्यूयोर्कका अध्यक्ष श्याम कार्की, नेपाली ममः क्याफेका सञ्चालक हरी मगर, फाउन्डेशनका आजीवन सदस्य शेखर कार्की, भीमसेन महत, समाजसेवी राजेन्द्र श्रेष्ठ, एनआरएनए नेता तथा गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू पनि आकर्षणको केन्द्र बनेका थिए। चिनियाँ सांस्कृतिक नृत्यसँगै नेपाली सांस्कृतिक प्रस्तुति राखिएको थियो। साथै, २० पटकका गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर दिनेश सुनार पार्कोर तथा हास्य कलाकार एवं जादुगर महादेव त्रिपाठीले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।
कार्यक्रमका क्रममा सिनेटर जेसिका रामोसले ८९ वर्षीया रानी जुम्रत्ता हिल्डा रहमान र सामाजिक अभियन्ता शान्ता ठोकर (संयुक्त राज्य अमेरिकामा पहिलो नेपाली कराटे डोजो स्थापना गर्ने)लाई सम्मानपत्र प्रदान गर्नुभयो। त्यसैगरी अमेरिकी कांग्रेस सदस्य ग्रेस मेंगको तर्फबाट समाजसेवामा उल्लेखनीय योगदान पुर्याउने महिलाहरू लक्ष्मी थापा, सुनिता भण्डारी, रश्मी श्रेष्ठ, कञ्चन लामा, पुष्पा अधिकारी गौतम र फुडोमा शेर्पालाई विशेष प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले फाउन्डेशनले हालसम्म गरेका सामाजिक गतिविधिहरूको चर्चा गर्दै आगामी दिनमा पनि सबैको सहयोग र सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो।
त्यस्तै, फाउन्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवी सोमनाथ घिमिरेले स्थापना कालदेखि नै आफ्नो टोलीले निस्वार्थ भावनाका साथ समाजसेवामा निरन्तर काम गर्दै आएको बताउनुभयो। साथै, आफू न्यूयोर्क डिस्ट्रिक्ट–३० बाट राज्य एसेम्ब्लीका लागि हुने प्राइमरी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको उल्लेख गर्दै समुदाय तथा नागरिक समाजसँग सहयोगको अपिल गर्नुभयो।
कार्यक्रमको सञ्चालन सोनिया लामाले गर्नुभएको थियो। कार्यक्रममा राजु रौनियार, नील तामाङ, राधा ज्ञवाली र भावना सिंखडाले स्वयंसेवकको रूपमा योगदान दिएका थिए भने फाउन्डेशनका कार्यसमिति सदस्यहरू रामचन्द्र अधिकारी, सूर्य सिंखडा, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री र राजेश आचार्य लगायतले कार्यक्रम व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रतिक्रिया