भारतले आईसीसी टी–२० विश्वकपको उपाधि फेरि आफ्नो नाममा दर्ता गर्दै क्रिकेट इतिहासमा नयाँ सफलता हासिल गरेको छ। फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक विश्वकप जितेको हो, जसले उसलाई प्रतियोगिताको सबैभन्दा सफल टोलीको रूपमा स्थापित गरेको छ।
अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनल खेलमा भारतले पहिले ब्याटिङ गर्दै अत्यन्त आक्रामक प्रदर्शन गर्यो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर भारतले २५५ रनको विशाल स्कोर खडा गर्यो र न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य दियो।
भारतका ओपनर सञ्जु स्यामसन ले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८९ रन बनाए। उनले पाँच चौका र आठ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। दोस्रो विकेटका लागि उनले इशान किशन सँग १०५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। इशान किशनले पनि आक्रामक शैलीमा खेल्दै २५ बलमा ५४ रन बनाएर अर्धशतक पूरा गरे।
अर्का ओपनर अभिषेक शर्मा ले २१ बलमा ५२ रन बनाएर भारतलाई तीव्र सुरुआत दिलाए। उनले छ चौका र तीन छक्का प्रहार गरेका थिए। अन्तिमतिर शिभम दुबे २६ रनमा अविजित रहे भने हार्दिक पाण्ड्या ले १८ रन जोडे। कप्तान सूर्यकुमार यादव भने रन नजोडी आउट भए।
न्युजिल्यान्डका लागि बलिङतर्फ जिमी निशम ले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएका थिए। रचिन रविन्द्र र म्याट हेनरी ले समान एक–एक विकेट लिए।
२५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले सुरुदेखि नै दबाब महसुस गर्यो। किवी टोली १९ ओभरमै १५९ रनमा अलआउट भयो। न्युजिल्यान्डका ओपनर टिम सिफर्ट ले २६ बलमा ५२ रन बनाउँदै केही समय प्रतिरोध गरे। कप्तान मिचेल सान्टनर ले ४३ रन बनाए भने डार्यल मिचेल ले १७ रन जोडे।
भारतका बलरहरू अत्यन्त प्रभावशाली देखिए। जसप्रित बुम्राह ले चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिएर न्युजिल्यान्डको ब्याटिङ ध्वस्त पारे। अक्षर पटेल ले तीन विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्मा ले समान एक–एक विकेट लिए।
यो जितसँगै भारतले टी–२० विश्वकपमा तेस्रो पटक उपाधि जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतले यसअघि सन् २००७ मा पहिलो संस्करण र सन् २०२४ मा भएको नवौँ संस्करण जितेको थियो। लगातार दुई संस्करण जित्दै भारत टी–२० विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो टोली बनेको छ।
यस फाइनल खेलमा भारतले २५६ रनको लक्ष्य प्रस्तुत गर्दै टी–२० विश्वकप फाइनलमा सबैभन्दा ठूलो लक्ष्य दिने नयाँ कीर्तिमान पनि कायम गर्यो। यसअघि कुनै टोलीले विश्वकप फाइनलमा यति ठूलो लक्ष्य दिएको थिएन।
विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्ये एक मानिने नरेन्द्र मोदी रंगशालामा करिब एक लाख ३० हजार दर्शकको उपस्थितिमा भारतले घरेलु मैदानमै विश्वकप जित्दै अर्को ऐतिहासिक उपलब्धि पनि हात पारेको छ। टी–२० विश्वकप इतिहासमा घरेलु मैदानमा उपाधि जित्ने पहिलो टोली बन्ने गौरव पनि भारतले नै प्राप्त गरेको छ।
उता न्युजिल्यान्ड भने फेरि उपविजेतामै सीमित भएको छ। यसअघि सन् २०२१ मा पनि फाइनल पुगेको किवी टोली उपाधि जित्न असफल भएको थियो। यसपटक पनि उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलमा हार बेहोर्दै न्युजिल्यान्डले पुनः उपविजेतामै चित्त बुझाउनुपरेको छ।
प्रतिक्रिया