टोरोन्टोको आकाशमा “नेपालीको आवाज” भन्दै स्थापना भएको नमस्ते रेडियो टोरोन्टोले आफ्नो सेवा–यात्राको दुई दशक पूरा गरेको छ। एनआरएन क्यानाडाका पूर्व अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी अनिल थापाको पहलमा सन् २००५ अगस्ट ६ मा ब्राम्प्टनस्थित तन्दुरी रेस्टुरेन्टमा स्व. डा. कुञ्जरमणि शर्माको उद्घाटनसँगै सुरु भएको यो रेडियो अहिले पनि निरन्तर समुदायको सेवामा सक्रिय छ।
सुरुवाती समयमा सिएमआर १०१.३ एफएममा हरेक आइतबार बिहान ९ देखि १० बजेसम्म प्रशारण हुने कार्यक्रम, तीन वर्षपछि समय तालिका परिवर्तन हुँदै हाल प्रत्येक शनिबार बिहान ७:३० देखि ८:०० बजे “नमस्ते रेडियो – भ्वाइस अफ नेप्लिज कम्युनिटी” शीर्षकमा प्रशारण हुँदै आएको छ। यो कार्यक्रम ग्रेटर टोरोन्टो एरियामा मात्र नभई वेबसाइट namasteradio.ca, फेसबुक, युट्युब, टिकटक र इन्स्टाग्राममार्फत विश्वभर प्रत्यक्ष सुन्न र हेर्न सकिन्छ।
नेपाली समुदायको जीवनशैली, सांस्कृतिक पहिचान र प्रवासीका गतिविधिलाई निरन्तर प्रसारण गर्दै आएको योगदानका लागि ‘क्यानाडियन इथनिक मिडिया एसोसियसन’ले सन् २०२३ मा ‘बेस्ट रेडियो अवार्ड’ प्रदान गर्दै संस्थापक तथा कार्यक्रम प्रस्तोता अनिल थापालाई सम्मान गरेको थियो।
२० वर्षको यात्रामा अनिल थापासँग डा. गोबिन्द सिंह रावत, सपना ढुंगाना, स्वयम पोख्रेल, संजीव शर्मा, अनिल ओझा, सृष्टि रावत, डा. योगेन्द्र शाक्य, डा. सबिन निग्लेखु, स्व. शम्भु धमला, मनोज पोख्रेल, अचिन गीरी, सुजन मास्के, आस्था तामाङ मास्के, चन्दा श्रेष्ठ, केदार बस्नेत, रोशन बस्नेत, लेखनाथ सिवाकोटी, संजीव रिजाल, आशुतोष उपाध्याय, पूर्ण पौडेल, आशा रजक, ज्योति वैद्य, जयराम गौतम, कमला सापकोटा, राम पराजुली, प्रीति भट्ट, दिनेश सिंह मल्ल, कुन्दन घिमिरे, प्रधुमन रेग्मी, डा. बिनोद बराल, मदन बस्नेत लगायत अनेक व्यक्तिहरूको सहयोग रह्यो। दृश्य–पछाडि ढुण्डी पाण्डे, सागर पोख्रेल लगायत धेरै व्यक्तित्वहरूले पनि निरन्तरतामा महत्वपूर्ण भूमिका खेलेका छन्।
स्थापनाको २०औं वार्षिकोत्सवमा संस्थापक अनिल थापाले कार्यक्रमसँग सम्बन्धित सबै होस्ट, सहयोगी, विज्ञापनदाता, नेपाली समाजका अगुवा, व्यवसायी, श्रोता तथा दर्शकहरूलाई आभार व्यक्त गर्दै नमस्ते रेडियो टोरोन्टो लोकतान्त्रिक मूल्य, इमानदारी, निष्ठा, विविधता र रचनात्मकतालाई आत्मसात् गर्दै आगामी दिनमा पनि समुदाय र समाज सेवामा अडिग रहने प्रतिबद्धता व्यक्त गरे।
यो २० वर्षको यात्रा केवल एक रेडियोको कथा मात्र नभई, क्यानाडामा नेपाली पहिचान र आवाजलाई मुख्यधारमा पुर्याउने अथक प्रयासको जीवित प्रमाण बनेको छ।
प्रतिक्रिया