दीपक राज गिरी, नेपाली मनोरञ्जन क्षेत्रमा एउटा यस्तो नाम हो, जुन आज केवल कलाकारको परिचयमा सीमित छैन, एक सशक्त ब्राण्ड बनेको छ। हास्यव्यङ्ग्यको क्षेत्रमा गहिरो पकड बनाएका गिरी नेपाली चलचित्रका निर्माता, निर्देशक, नायक, संवाद लेखक र सञ्चारकर्मीको रूपमा समेत परिचित र लोकप्रिय छन्। उनको बहुआयामिक प्रतिभाले नेपाली दर्शकको मनमा गहिरो छाप छोडेको छ।
काठमाडौंको दहचोकमा जन्मिएका दीपक राज गिरीले सन् १९९० को दशकमा रेडियो नाटकबाट आफ्नो कलाकारिता यात्रा सुरु गरेका थिए। त्यसपछि उनी टेलिभिजनमा प्रवेश गरे, जहाँ उनले सन् २००३ देखि २०१५ सम्म ‘तितो सत्य’ नामक टेलिश्रृंखलामा अभिनय, लेखन र निर्देशन गरे। सामाजिक, राजनीतिक र पारिवारिक यथार्थमाथि आधारित ६०० भन्दा बढी एपिसोडका माध्यमबाट उनले नेपाली हास्य व्यङ्ग्यमा स्थायित्व र गहिरो प्रभाव जमाए। यही कार्यक्रममार्फत उनी आम जनमानसको घर–घरमा पुग्न सफल भए।
टेलिभिजनको लोकप्रियता पछि उनले चलचित्र क्षेत्रमा पाइला टेके र पहिलोपटक निर्माण, लेखन तथा अभिनय गरेको चलचित्र ‘छ एकान छ’ बाट दर्शक तथा समीक्षकको प्रशंसा बटुले। त्यसपछि उनले ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमार्फत हास्यजन्य कथा र सामाजिक यथार्थलाई सशक्त ढंगले पस्किए। ‘छक्का पञ्जा’ चलचित्र शृंखला अहिले नेपाली इतिहासमै सबैभन्दा धेरै कमाइ गर्ने ब्राण्ड बन्न पुगेको छ। दीपक र उनकी जोडी दीपा श्री निरौला नेपाली फिल्म उद्योगका लागि एक ऐतिहासिक उपलब्धि र आइकन पनि बनेका छन् । यो सफलता पछाडि गिरीको लेखन, प्रस्तुति र दर्शक मनोविज्ञान बुझ्ने क्षमताको मुख्य योगदान रहेको मानिन्छ।
चलचित्रको सफल यात्रासँगै दीपक राज गिरीले विभिन्न अवार्डहरू प्राप्त गरेका छन्। उनले NEFTA फिल्म अवार्डबाट ‘छ एकान छ’ का लागि सर्वश्रेष्ठ पटकथाकारको अवार्ड पाएका थिए भने ‘छ माया छपक्कै’ मा गरेको अभिनयका लागि राष्ट्रिय चलचित्र पुरस्कारबाट ‘सर्वश्रेष्ठ अभिनेता’ को उपाधि समेत प्राप्त गरेका छन्। साथै, ‘छक्का पञ्जा ३’ को स्क्रिप्ट र संवाद लेखनमा पनि उनले व्यापक प्रशंसा पाएका थिए। उनका मान सम्मान, पुरस्कार को लिस्ट अलि लामै छ ।
दीपक राज गिरी का चलचित्रले सधैं सामाजिक सन्देश बोकेको हुन्छ, कहिले शिक्षा प्रणालीको आलोचना, कहिले भ्रष्टाचारको पर्दाफास, त कहिले ग्रामीण जीवनका यथार्थ चित्रण। हाँसोको माध्यमबाट गम्भीर कुरा भन्न सक्ने कला उनले अब्बल रूपमा उपयोग गरेका छन्।
नेपाली चलचित्र उद्योगमा उनको योगदान बहुआयामिक छ। हास्य कलाकारलाई जोकरको रूपमा मात्र प्रयोग गरिने चलन तोड्दै उनले हास्यलाई चलचित्रको मूल कथावस्तु र सन्देशको आधार बनाएका छन्। दीपकको सफलता यसैमा छ कि उनले आफैँलाई अभिनयमा मात्र सीमित नराखी पटकथा, संवाद, निर्माण, निर्देशनसम्मको पूरा दायित्व सम्हालेका छन् र सबै पक्षमा उत्तिकै सफल भएका छन्।
आज नेपाली चलचित्र क्षेत्रमा दीपक राज गिरीको नाम एउटा संस्थाजस्तै बनिसकेको छ। उनलाई नचिन्ने नेपाली सायद कमै होलान्। उनी एउटा यस्तो उदाहरण हुन् जसले सीमित साधन र कठिनाइका बाबजुद पनि निरन्तर मेहनत, लगन र सिर्जनात्मक सोचमार्फत एक साधारण कलाकारबाट एक राष्ट्रिय ब्राण्डको रूपमा आफूलाई स्थापित गर्न सकेका छन्। उनका सिर्जनाहरू केवल मनोरञ्जनका साधन होइनन्, ती सामाजिक, सांस्कृतिक सन्देश बोक्ने ऐनाजस्तै छन्। यसैले, दीपक राज गिरी आजको नेपाली सिनेमा र हास्यव्यङ्ग्यको खम्बा हुन, ध्रुवतारा ध्रुबतारा हुन् । उनीसंग नेपाल मदर डट कमले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ :

प्रश्न १: नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रका महान कलाकारहरूमध्ये तपाईंलाई पनि अग्रपंक्तिमा गनिन्छ। तपाईं आफैँलाई कस्तो कलाकारको रूपमा देख्नुहुन्छ?
उत्तर: सर्वप्रथम, सबैमा नमस्कार !
म आफूलाई कलाकारभन्दा पहिला जनताको प्रतिनिधिको रूपमा लिन्छु। ईश्वरको आशीर्वादले मलाई कलाको माध्यमबाट समाजमा भएका समस्याहरू, पीडाहरू, अन्याय र विकृतिहरू पर्दामा जस्ताको त्यस्तै प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ जस्तो लाग्छ। म केवल मनोरञ्जनको साधन होइन, जनचेतनाको एक सशक्त माध्यम हुँ भन्ने बुझाइ लिएर हिँडेको छु।
प्रश्न २: तपाईं दशकौँदेखि हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रमा सक्रिय हुनुहुन्छ। तपाईंका केही अविस्मरणीय र जनताले सधैँ सम्झिरहने कृतिहरू के–के हुन्?
उत्तर: आफ्नै कामको बयान गर्नु सधैँ सजिलो हुँदैन। तर तपाईंको आग्रहप्रति सम्मान जनाउँदै केही कुरा साझा गर्न चाहन्छु।
मेरो करियरको सुरुवात रेडियो नेपालबाट ‘रामबिलास धनियाँ’ नामक चरित्रबाट भयो। त्यो बेला रेडियोको प्रभाव कम हुँदै थियो, तर रामबिलास धनियाँ देशभरका घर–घरमा गुन्जिन सफल भयो।
त्यसपछि टेलिभिजनमा आएँ। समाजमा व्याप्त विसंगति र विकृतिमाथि आधारित कार्यक्रमहरू बनाएँ, जसले जनचेतना जगाउने काम गर्यो। १२ वर्ष टेलिभिजनमा निरन्तर सक्रिय रहेर मैले हास्यलाई माध्यम बनाएर सामाजिक सन्देश सम्प्रेषण गरें।
त्यसपछि चलचित्रमा प्रवेश गरें। पहिले हाम्रा हास्यपात्रहरू केवल जोकरका रूपमा सीमित हुन्थे। तर आज हास्यकलाले चलचित्रमा बलियो उपस्थिति बनाएको छ। नेपाली चलचित्रले विविध वर्गका दर्शकलाई आकर्षित गर्न थालेको छ, जसमा हाम्रो योगदान पनि अवश्य छ।
प्रश्न ३: तपाईंले हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रको अतीत र वर्तमानलाई कसरी तुलना गर्नुहुन्छ?
उत्तर: पहिलो पुस्ताका अग्रज कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त आदिले हामीलाई हास्यकलाको मूल मर्म बुझाउनुभयो। त्यो समय हास्यव्यङ्ग्यको विषय मुख्यतः सत्ता र शासनप्रणालीको आलोचना हुने गर्थ्यो, जुन साहसी र चुनौतीपूर्ण थियो।
तर समयसँगै समाज खुला हुँदै गयो। आज सर्वसाधारण पनि मुखर भएका छन्। हास्य अब केवल विरोधको माध्यम होइन, सामाजिक, सांस्कृतिक र व्यक्तिगत आयाममा पनि प्रभाव जमाउन सफल भएको छ।
हाम्रो पुस्ताले हास्यकलालाई व्यवसायिक बनाउन भूमिका खेलेको हो। अहिलेका पुस्ताले डिजिटल मञ्चहरूमा प्रयोग गर्दै शैली र प्रस्तुतिमा विविधता ल्याएका छन्। आजको कमेडी ‘रोष्ट’ शैलीमा छ, जहाँ एकले अर्कालाई उडाउनु सामान्य भइसकेको छ।
प्रश्न ४: सरकारले हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रलाई कत्तिको प्राथमिकता दिएको अनुभव गर्नुभएको छ?
उत्तर: सरकारले हास्यकलालाई ‘परोक्ष सहयोग’ गरिरहेको छ भन्ने लाग्छ। किनभने, उसले दिनहुँ गर्ने निर्णयहरू, नीतिगत असफलता, शासकीय भ्रमजालहरूले हामीलाई लगातार नयाँ–नयाँ हास्य विषयवस्तु दिन्छ।
तर गम्भीर रूपमा भन्नुपर्दा, हामी कलाकारको चाहना भनेको हो देशमा सुशासन कायम होस्, भ्रष्टाचार हटोस्, जनतामा आशा र उत्साह जागोस्। अनि हामी पनि केही समय विश्राम गर्न सकौं। तर हालसम्मको स्थिति हेर्दा, सरकारले त हामीलाई बूढेसकाल सम्म सक्रिय रहन बाध्य पार्ने देखिन्छ !
प्रश्न ५: अब तपाईंको भविष्यको योजना के–के छन् ?
उत्तर: ३५ वर्ष कलाक्षेत्रमा लगानी गरेपछि अब केही विश्राम लिनुपर्छ भन्ने महसुस भएको छ। अब म थोरै चलचित्रमा मात्रै काम गर्ने निर्णयमा छु। समय, ऊर्जा र अनुभव आवश्यक ठाउँमा खर्च गर्ने सोच बनाएको छु।
प्रश्न ६: तपाईंले अहिलेसम्म पाउनुभएको सम्मान, पुरस्कारका बारेमा बताउनुहोस्।
उत्तर: म पाएको सबैभन्दा ठूलो पुरस्कार भनेको दर्शकको माया हो।
‘तीतो सत्य’ नामक टेलिभिजन शृंखला १२ वर्षसम्म निरन्तर चलेको थियो। चलचित्रमा आठ वटा फिल्महरू सुपरहिट भए — जुन मेरो लागि अभूतपूर्व सम्मान हो।
राज्यबाट विभिन्न सम्मान, तक्मा, राष्ट्रिय अवार्डहरू प्राप्त भएका छन्। तर ती सबै जनताबाट पाएको प्रेमको तुलनामा गौण लाग्छन्।
प्रश्न ७: हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रलाई अझ समृद्ध बनाउन के–के गर्नु जरुरी देख्नुहुन्छ?
उत्तर: अब यो क्षेत्रको दीर्घकालीन विकासका लागि एउटा ‘हास्य संग्रहालय’ आवश्यक छ। जहाँ नेपाली हास्य साहित्य, ऐतिहासिक हास्य सामग्री, हास्य कलाकारहरूको जीवनी, अन्तर्राष्ट्रिय हास्य रचना आदिको संग्रह होस्। यसले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र प्रेरणाका लागि एउटा बलियो आधार बनाउने छ।
प्रश्न ८: पछिल्ला दिनमा हास्य र चलचित्र क्षेत्रमा विकृति फैलिएको भन्ने गुनासोहरू छन्, तपाईंको धारणा के छ?
उत्तर: विकृति त जुनसुकै क्षेत्रमा हुन्छ। हास्यकलामा श्रृंगार रसको प्रयोग गर्दा कतिपयले त्यसलाई छाडापनको आरोप लगाउँछन्। तर श्रृंगार र छाडापनको बीचको सिमा र सन्दर्भ बुझ्न आवश्यक छ।
हामी कलाकारको कर्तव्य भनेको सन्तुलनमा रहँदै दर्शकलाई स्वस्थ मनोरञ्जन दिनु हो।
प्रश्न ९: चलचित्र विकास बोर्ड तथा अन्य संघ–संस्थाहरूको कार्यप्रणालीप्रति तपाईंको मूल्याङ्कन के छ?
उत्तर: संघ–संस्थाहरूको स्थापना राम्रा उद्देश्यका लागि भएको हो। तर अहिले ती संस्थाहरू राजनीतिका थलो बन्न थालेका छन् भन्ने चिन्ता छ।
हामी कलाकारको हित, क्षेत्रको समुन्नति र नीति निर्माणमा यिनको सक्रिय, निष्पक्ष भूमिका चाहिन्छ।
चलचित्र विकास बोर्डको पछिल्ला कामहरू सकारात्मक देखिन्छन्, नेतृत्व बलियो भयो भने अझ राम्रो नतिजा आउनेछ।
प्रश्न १०: अन्त्यमा केही थप भन्न चाहनुहुन्छ?
उत्तर: हामी कलाकारका लागि सबैभन्दा ठूलो ऊर्जा दर्शकको माया हो। हामीले राम्रो काम गर्यौं भने त्यो माया सधैँ रहिरहन्छ।
यो माया कहिल्यै नछुटोस् यही मेरो सन्देश हो।



















प्रतिक्रिया