काइँला बा- हैन, ठेट्ना यो पटक मोती जयन्ती नमाउने भए कि कसो? गाइँगुइँ सुनिन्न त!
ठेट्नो- किन र काइँला बा ? नेपालैभरि गजलकार छन् मोती जयन्ती त मनाम्छन् होला नि !
काइँला बा- त्यसो हैन के ठेट्ना। उता स्पन्दन भन्नेले विदेशबाट अगजललाई गजल भन्दा मोती जयन्तीको अपमान भयो भनेर ठोकेको ठोकै छ। अब गजलै लेखेर त कसले मनाम्लान् र?
ठेट्नो- त्यै त गजल नलेख्नेले/ नजान्नेले मोती जयन्ती नमाउनु त काइँला बा?
काइँला बा- तँ पनि त्यसै गजलकार हुँ भन्दै घनेद्र जस्तै उफ्रन्छस् मात्र।गजल बहरमा लेखिने पद्य विधा हो भन्ने थाहा हुँदा हुँदै आ-आफ्नै तरिकाले लेखेर मोतीपथ त्यागेर आफ्नै पथ बनाउने हो त?
ठेट्नो- अनि गजलमा मोतीपथपछि ब्राजाकीपथ, ज्ञानुवाकरपथ, परिश्रमीपथ, घनराजपथ, प्रान्जलपथ, घनेन्द्रपथ निस्केका छन् कुन पथ समातेर मोती जयन्ती मनाउँने होला त काइँला बा?
काइँला बा- तँ पनि घाँसै रैछस्। त्यसै गजल लेख्छु भनेर हुन्छ? यसो गजलको सिद्धान्त पढ्नु र लेख्नु नि ! सबै विधाको आफ्नै सिद्धान्त हुन्छ। नेपालमा गजल भित्रेको मोतीपथबाट हो । अरू मै हुँ गुरु भनेर निस्केका जुङ्गेपथ हुन्। परिश्रमीपथ चाहि मोतीपथको निरन्तरता हो ठेट्दा । बुझिस् ?
ठेट्नो- हस् काइँला बा- त्यसो भए हामी गजल लेख्न नजान्नेले मोती जयन्ती नै नमनाउनु त?
काइँला बा- त्यसै हो र तँ ठेट्नालाई घाँस भनेको ? हेर ठेट्ना, मोतीराम भट्ट आदिगजलकार मात्र हैनन् । उनी युवाकवि पनि हुन् जसले समस्यापूर्ति कविताको शुरुआत गरे।
ठेट्नो- ओख्खो ! गज्जब कै कुरा रहेछ त काइँला बा! समस्यापूर्ति कविता भनेको के रहेछ?
काइँला बा- हो यसरी लाइनमा आइज म सिकाउँछु नि ! ल सुन् समस्यापूर्ति कविता भनेको पद्यको अन्तिम लाईन यौटै हुने हो।पद्य कविताको हरेक श्लोकको अन्तिम लाईनमा यौटै समस्या राखेर सोही पद्यमा समस्याको सम्बोधन हुने कविता लेख्नुपर्छ।
ठेट्नो – यो पनि छन्द रहेछ । गजल पनि फाइसी छन्द। अब मोती जयन्ती मनाउन नसकिने भयो काइँला बा।
काइँला बा- नकरा ठेट्ना ! गजल लेख्नेले गजल वाचन गरौँ, समस्यापूर्ति कविता लेख्नेले समस्यापूर्ति कविता वाचन गरौँ। नसक्नेले मोतीरामको नाममा चारु, मुक्तक, गद्यकविता, गीत लेखेर वाचन गरौँ। त्यै पनि नसक्नेले मोतीका रचना वाचन गरौँ वा मोतीलाई सम्झेर उनका तस्विरमा माल्यार्पण गरौँ। सक्दैनस् र ठेट्ना?
ठेट्नो – ओख्खो! गज्जबको कुरा गर्नुभयो काइँला बा ! मोती जयन्ती मनाउन अगजल लेखेर गजल भन्नै पर्ने रहेनछ नि है ? यत्रा साहित्यिक संस्थाले किन अगजललाई गजल भनेका होलान?
काइँला बा- सबै परिश्रमी वा स्पन्दन बने भने औँलामा गन्न सकिने पारिजात, भानुभक्त, लक्ष्मीप्रसाद, शिद्धिचरण, लेखनाथ, लक्ष्मीप्रसाद, गोपाल, माधव मात्र रहन्थ् र नेपाली साहित्यमा ? सही बाटो हिँड्नेको मात्र इतिहास अमर हुन्छ बुझिस्? त्यसै पद र पुरस्कारको थुप्रो बोकेर गुटको भिड हँसाएर हुन्छ र ठेट्ना?
ठेट्नो- ओख्खो काइँला बाले मेरो आँखा खोलिदिनु भयो। म त बरू यौटा गजल लेख्छु तर सिद्धान्तमै लेख्छप। बहरबिना त गजल नै नहुने रहेछ। बरू फोटो धुलाउन हिँडिहालेँ म ।
काइँला बा- ए पख् पख् कुन फोटो हो देखा त!
ठेट्नो- काइँला बा पनि बूढो हुनुभएछ ! मोतीराम भट्टको यौटै फोटो त छ नि । सबैले त्यही फोटो धुलाएर पूजा गर्छन् । हैन र?
काइँला बा- त्यै भएर त मोती जयन्ती भनेर धेरैले गफ मात्र चुट्ने, चुट्किला सुनाएर थपडी मार्ने पर्व बनाएका छन् भनेको नि ! युवा अवस्थामै भौतिक संसारबाट टाढा भएका मोतीरामको बृद्ध जस्तो देखिने तस्विर राखेर हुन्छ त?
ठेट्नो- अनि अर्को कुनै तस्विर छ त काइला बा?
काइँला बा- लु लैजा। यो तस्विर हेर त मोतीराम भट्टको !
ठेट्नो – (तस्विर समात्दै) ओख्खो काइला बा, मैले त आजसम्म यो तस्विर देखेकै थिएन।
काइँला बा- तैले धेरै कुरा देखेकै छैनस् जस्तो कि गजल ! त्यसै गजल भनेर उफ्रन्छस् । आजकल धेरै साहित्यिक संस्थाले गजलका नाममा चामलमा ढुंगा हालेर बेचेका छन्। अब बुझ्ने बेला आएको छ। यो तस्विर विद्वान् वरिष्ठ साहित्यकार गोपाल पाँडे असिमकी विदुषी छोरी वरिष्ठ साहित्यकार रमा शर्माबाट पाएको हुँ। ल यही राखेस्।
ठेट्नो- हवस् काइँला बा ! म त मोती जयन्ती नमाउने भइयो भनेर बसेको बल्ल ढुक्क भएँ काइँला बा। धन्यवाद !
काइँला बा- त्यसै स्पन्दन जस्ता सर्जकलाई गाली गरेर बसेर हुन्छ? कुरो बुझेर संस्था र साहित्य दुबै शुद्ध पुस्तान्तरणमा हामीले यस्तै मान्छेको साथ दिनुपर्छ। सही ज्ञान दिने यस्तालाई धन्यवाद दिनुपर्छ ठेट्ना ।
ठेट्नो- हवस् काइँला बा ! काइँला बा को जय होस् ।
(काइँला बा हुक्का तान्दै मोतीरामका समस्यापूर्ति कविता लय हाल्न थाल्नु भयो ठेट्नो मोतीरामको तस्विर धुलाउन हिँड्यो ।)
– स्पन्दन विनोद
(कवि तथा गजल अभियन्ता)

प्रतिक्रिया