राजसंस्थाको पुनर्स्थापनाको पक्षमा गठन गरिएको संयुक्त जनआन्दोलन समिति अहिले पुनर्गठनको प्रक्रियामा छ। हालका संयोजक नवराज सुवेदीलाई हटाएर युवामुखी नेतृत्व निर्माण गर्ने तयारी थालिएको प्रवक्ता स्वागत नेपालले आफ्नो फेसबुक स्टाटसमार्फत जनाएका छन्। नेपालका अनुसार अबदेखि आन्दोलनको नेतृत्व युवा पुस्ताले गर्नेछ भने अनुभवी नेताहरू सल्लाहकारको भूमिकामा सीमित हुनेछन्। उनले लेखेका छन्, “अब युवा अगाडि आउँछन्। उनीहरूले तय गरेको कार्यक्रम बुढा पुस्ताले मान्नुपर्छ। नमान्ने हो भने सल्लाहकारको भूमिकामा सीमित हुन्छन्।”
उनले स्पष्ट रूपमा जनाएका छन् कि संयुक्त जनआन्दोलन समितिमा उनीबाहेक सबै कुनै न कुनै दल वा अभियानमा आबद्ध थिए। आफू स्वतन्त्र र कानुन पृष्ठभूमिका व्यक्ति भएको बताउँदै उनले सकेसम्म पुराना नेताहरूलाई समेट्न र सम्झाउने प्रयास गरेको तर बुढा पुस्ताको स्वार्थ र अहंकारले आन्दोलन कमजोर पार्ने अवस्था सिर्जना भएको आरोप लगाएका छन्। “मिडियाको माझमा समीक्षा बैठक गरेर आन्दोलनलाई भताभुङ्ग बनाइयो, जनभावनालाई तुहाउने प्रयास भयो,” उनले लेखे। “तर युवा पुस्ताले आन्दोलन तुहिन दिने छैन। यो आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको धैर्य आवश्यक छ।”
गत साता संयोजक नवराज सुवेदीको नेतृत्वमा आयोजित समीक्षा बैठकमा गम्भीर विवाद उत्पन्न भएको थियो। बैठकका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोलिरहँदा हल्ला–गल्ला भएपछि सुवेदीले बैठक नै स्थगित गरेका थिए। यस घटनापछि राजावादी धार झन् निष्क्रिय भएको देखिएको छ। राजसंस्थाको पक्षमा उभिएका ४४ वटा संगठनहरूले मिलेर घोषणा गरिएको अनिश्चितकालीन आन्दोलन पनि नेतृत्व विवादकै कारण अलपत्र परेको छ। नेताहरूबीच आरोप–प्रत्यारोप चलिरहेकाले आन्दोलन एकीकृत ढंगमा अघि बढ्न सकेको छैन।
अब समितिमा युवा नेतृत्वको आगमनसँगै पुनः सक्रियता आउने अपेक्षा गरिएको छ। जनताबीच राजसंस्थाको विषयमा चासो कायमै रहे पनि, नेतृत्वको अस्थिरता र आन्तरिक कलहले आन्दोलनमा तत्काल प्रभाव पारिरहेको छ।





प्रतिक्रिया