रूसको युक्रेनमाथि ड्रोन् र क्षेप्यास्त्र आक्रमण, कम्तीमा तीनको मृत्यु, राष्ट्रपति जेलेन्स्कीले विश्वलाई दबाब दिन आह्वान
युक्रेन, कीभ / शुक्रबार बिहान रूसले युक्रेनको राजधानी कीभसहित देशका विभिन्न भागहरूमा ठूलो मात्रामा ड्रोन् र क्षेप्यास्त्र आक्रमण गरेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र ४९ जना भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।
यो आक्रमण कीभ, लुत्स्क र टर्नोपिल क्षेत्रमा केन्द्रित थियो। युक्रेनी अधिकारीहरूले बताएअनुसार आक्रमणमा आवासीय भवनहरू, स्कूलहरू र सरकारी संरचनाहरूमा क्षति पुगेको छ। कीभमा मेट्रो ट्रयाकमा क्षति हुँदा सार्वजनिक यातायातसमेत अवरुद्ध भएको छ। हजारौं नागरिकहरू बंकरमा लुकेर रात कटाउन बाध्य भए।
रूसी रक्षा मन्त्रालयले आक्रमणलाई “कीभ सरकारले हालै गरेका आतंकवादी कार्यहरूको जवाफ” भन्दै स्पष्टीकरण दिएको छ। मन्त्रालयले समुद्री, स्थल र हवाई मार्गमार्फत लामो दूरीका हतियारसहित ४० भन्दा बढी मिसाइल र ४०० भन्दा बढी ड्रोन् प्रयोग गरिएको बताएको छ।
कीभका मेयर भिटाली क्लिच्कोले भनेका छन् कि राजधानीमा एक आवासीय भवनमा क्षेप्यास्त्र खसेको छ र केही मानिसहरू भगदडमा परेका छन्। कीभको केन्द्रबाट बारम्बार ड्रोन् को गुन्ज, मेशिनगनको गोली र विस्फोटको आवाज सुनिएको थियो। उज्यालो चम्किएपछि केही सेकेन्डमै ठुला धम्का सुन्न सकिन्थ्यो।
राष्ट्रपति जेलेन्स्कीले X (पूर्व ट्विटर) मा लेख्दै अहिले नै अमेरिका, युरोप र विश्वभरका नेताहरूले रूसमाथि दबाब दिनुपर्ने समय भएको बताएका छन्। उनले डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै लेखे, “यदि कसैले दबाब दिइरहेको छैन भने, त्यो युद्ध लम्ब्याउने संलग्नता हो, र त्यसको जवाफदेही ठहरिनु पर्छ।” उनले तीन जना आपतकालीन सेवा कर्मचारीको मृत्यु भएको जनाउँदै घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
यसअघि युक्रेनले “स्पाइडर’स वेब” नामक अपरेसनअन्तर्गत रूसका चार सैन्य एयरबेसमा ११७ ड्रोन् पठाएर कम्तीमा ४० रूसी बमवर्षक विमानहरू नष्ट गरेको थियो। जेलेन्स्कीका अनुसार सो आक्रमणमा रूसका ३४ प्रतिशत क्रुज मिसाइल बोक्ने विमानहरू प्रभावित भएका थिए।
टर्नोपिल क्षेत्रका सैन्य प्रमुखले यो आक्रमण आफ्नो क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो भएको बताएका छन्। त्यहाँ पाँच जना घाइते भएको र आवासीय घर, विद्यालय र सरकारी भवनहरूमा क्षति पुगेको छ। लुत्स्क शहरमा १५ ड्रोन् र ६ मिसाइल प्रयोग भएको जनाइएको छ, जसमा पाँच जना घाइते भएका छन्।
रूसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी पक्षबाट पनि ड्रोन् प्रहार भएको थियो, जसमा १७४ युक्रेनी ड्रोन् क्रीमियालगायतका क्षेत्रहरूमा रूसी वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरिएको छ। युक्रेनले प्रयोग गरेका ‘नेप्च्यून’ क्रुज मिसाइलहरू पनि ब्ल्याक सी माथिबाट खसालिएको बताइएको छ।
यो आक्रमण त्यतिबेला भएको हो जब ट्रम्प र पुटिनबीच बुधबार १ घण्टा भन्दा लामो टेलिफोन संवाद भएको थियो। ट्रम्पले पुटिनले युक्रेनी आक्रमणको जवाफमा “दृढ र कडा” प्रतिक्रिया दिने वाचा गरेको बताएका थिए। उनले पुटिनलाई दुई हप्ताभित्र कुनै ठोस पहल नगरे स्थिति परिवर्तन गरिने चेतावनी पनि दिएका थिए।
यसअघि इस्तानबुलमा भएको प्रत्यक्ष शान्ति वार्ता कुनै ठोस निष्कर्षमा नपुग्दै टुंगिएको थियो। युक्रेनले अविलम्ब, बिना शर्त युद्धविरामको माग गरेको भए पनि रूसले केबल सीमित क्षेत्रहरूमा २–३ दिनको अस्थायी युद्धविरामको प्रस्ताव मात्रै दिएको थियो।
युद्ध झन जटिल बन्दै गएको बेला आजको रूसी आक्रमणले स्थिति थप तनावपूर्ण बनाएको छ। राष्ट्रपति जेलेन्स्कीले विश्व समुदायसँग रूसलाई रोक्न एकजुट हुन पुनः आह्वान गरेका छन्।
उता इजरायली सेनाले गाजाको दक्षिणी भाग अल-मावासी क्षेत्रमा गरेको एक अप्रकाशित आर्टिलरी आक्रमणबारे BBC Verify को सोधपुछपछि स्वीकार गरेको छ। उक्त आक्रमणमा कम्तीमा एक जना प्यालेस्टिनीको ज्यान गएको र ३० जना घाइते भएको पुष्टि भएको छ।
यो घटना आइतबार भएको थियो, जुन दिन बिहानै रफाह शहरको नयाँ राहत वितरण केन्द्र नजिकैको आक्रमणमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको थियो, जसको विवरण हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले दिएको थियो।
BBC Verify ले घटनाको भिडियो विश्लेषण गर्ने क्रममा, राहत केन्द्रभन्दा करिब ४.५ किलोमिटर टाढा खान युनुस शहरमा भएको अर्को विस्फोटसमेत पत्ता लगायो। प्रारम्भिक रूपमा यस घटनालाई रफाह राहत केन्द्रसँग सम्बन्धित मृत्युसँग जोडिएको दाबी गरिए पनि BBC ले त्यसलाई असत्य प्रमाणित गर्दै भू-स्थान निर्धारणको आधारमा फरक स्थानमा भएको पुष्टि गर्यो।
इजरायली सेनाले प्रारम्भमा यो आक्रमणबारे कुनै जानकारी दिएको थिएन। तर BBC Verify ले जब औपचारिक रूपमा सोधपुछ गर्यो, त्यसपछि मात्र इजरायल डिफेन्स फोर्सेस (IDF) ले घटनाको पुष्टि गर्यो। सेनाले यो “प्राविधिक र सञ्चालनगत त्रुटिका कारण भएको” दाबी गरेको छ।
IDF का अनुसार, उनीहरूले लक्षित क्षेत्रतर्फ आर्टिलरी प्रहार गरेका थिए, तर गोला “विचलित भई गल्तीले अल-मावासी क्षेत्रमा” खसेको हो। यद्यपि, सेनाले यो दाबीको पुष्टि गर्न कुनै प्रमाण पेश गरेको छैन।
इजरायली सेनाले सामान्यतया यस्ता त्रुटिहरू स्वीकार गर्दैन। BBC Verify ले IDF को टेलिग्राम खाताको विश्लेषण गर्दा, २०२३ अक्टोबरबाट सुरु भएको गाजाविरुद्धको युद्धयता मात्र चारवटा घटनामा मात्र यस्ता ‘त्रुटि’ स्वीकारिएको भेटियो।
खान युनुसको उक्त घटनाको भिडियो आइतबार राति सार्वजनिक हुन थालेको थियो। उक्त क्षेत्रमा पाल टाँगेर बसिरहेका विस्थापितहरूबीच बम विस्फोट हुँदा धुलो र रगताम्य दृश्य देखिएका थिए। महिलाहरू र बालबालिकाहरू डरले चिच्याउँदै घाइतेहरूलाई उठाउँदै गरेको दृश्य भिडियोमा देख्न सकिन्छ।
कुवेती फील्ड अस्पतालका अनुसार, उक्त आक्रमणमा एक जना प्यालेस्टिनीको मृत्यु भएको र ३० जना घाइते भएका छन्। केही घाइतेहरूलाई BBC Verify ले घटनास्थलको भिडियो र अस्पतालको तस्बिर दुवैमा चिनाएको छ।
यसैबीच, हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले रफाहको राहत केन्द्र नजिकै इजरायली गोलीबारिले ३१ जना प्यालेस्टिनीको हत्या गरेको बताएको छ। इजरायली सेनाले प्रारम्भमा उनीहरूले त्यहाँ गोली नचालेको भनाइ राखे पनि पछि एक सैनिक स्रोतले BBC Verify लाई “चेतावनी स्वरूप गोली प्रहार” गरिएको स्वीकारेको छ।
IDF ले खान युनुस विस्फोटमा कति मानिसको मृत्यु भयो भन्ने खुलाएको छैन तर यसबारे अनुसन्धान भइरहेको बताएको छ।
यो घटनाले BBC र ह्वाइट हाउसबीच विवादसमेत चुल्याएको छ। सोमबार, BBC Verify ले भिडियोको सत्यता पुष्टि गर्दै रफाह राहत केन्द्र नजिकको घटनासँग सम्बन्ध नभएको प्रमाणित गर्यो। तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले BBC ले आफ्नो रिपोर्ट हटाएको भनेर झुटो दाबी गरिन्। BBC ले यसबारे प्रतिक्रिया दिँदै उनको भनाइ “भ्रमपूर्ण” भएको र उनले दुई फरक घटनालाई “एकआपसमा मिसाएको” जनाएको छ।
BBC को आधिकारिक वक्तव्यमा भनिएको छ, “हामीले कुनै समाचार हटाएका छैनौं र हाम्रो पत्रकारितामाथि दृढ रूपमा अडिएको छौं।”
गाजा युद्धको पृष्ठभूमिमा, इजरायलले हमासको अक्टोबर २०२३ को आक्रमण — जसमा करिब १,२०० मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए — को प्रतिक्रियास्वरूप सैन्य अभियान सुरु गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा अहिलेसम्म कम्तीमा ५४,६०७ जना मारिएका छन्, जसमा मार्च १८ यता मात्रै ४,३३५ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया