काठमाडौं । नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा परेको छ । काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकसहित देशका ११ जिल्लामा संक्रमण पुष्टि भइसकेको छ भने हालसम्म पाँच लाखभन्दा बढी पन्छी नष्ट गरिएका छन् । संक्रमणको विस्तारसँगै कुखुरा व्यवसाय, किसानको जीविकोपार्जन र पशु स्वास्थ्य सुरक्षामाथि चुनौती थपिएको छ । पशु सेवा विभागका अनुसार २०८२ चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण पछिल्लो तीन महिनाको अवधिमा देशका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ । प्रयोगशाला परीक्षणबाट संक्रमण पुष्टि भएका जिल्लामा मोरङ, झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक रहेका छन् ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार संक्रमित क्षेत्रबाट हालसम्म पाँच लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको छ । त्यसैगरी, संक्रमण फैलिन नदिन नौ लाख ८९ हजार ३१३ अण्डा तथा एक लाख ९५ हजार ४८५ किलोग्राम दाना सुरक्षित रूपमा नष्ट गरिएको छ । संक्रमित क्षेत्रका फार्महरूमा व्यापक रूपमा नियन्त्रण तथा निगरानी अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ । प्रभावित जिल्लामा आवश्यक प्राविधिक जनशक्ति परिचालन गरिएको छ भने संक्रमण नियन्त्रणका लागि विशेष कार्ययोजना लागू गरिएको छ ।
उहाँले संक्रमणका कारण कुखुरा व्यवसायी तथा किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउनुभयो । ‘संक्रमण रोक्नका लागि संक्रमित पन्छी नष्ट गर्नु अपरिहार्य भएकाले किसानको लगानीमा प्रत्यक्ष असर परेको छ’, उहाँले भन्नुभयो ।
काठमाडौं उपत्यकामा उच्च जोखिम
विभागका अनुसार कोशी प्रदेशमा संक्रमण केही हदसम्म नियन्त्रणमा आउन थालेको छ । प्रारम्भिक चरणमा लागू गरिएको पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसार प्रतिबन्ध पनि क्रमशः खुकुलो बनाइएको छ । तर, काठमाडौं उपत्यकाभित्र भने संक्रमणको जोखिम अझै उच्च रहेको विभागको निष्कर्ष छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पालिएका पन्छीमा संक्रमण पुष्टि भइरहेकाले उपत्यकालाई विशेष निगरानी क्षेत्रमा राखिएको छ । विभागले किसान तथा व्यवसायीलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
संक्रमण फैलाइरहेको भाइरसको प्रकृतिमा कुनै परिवर्तन आएको छ वा छैन भन्ने विषयमा अध्ययन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरी भाइरसको ‘सिक्वेन्सिङ’ प्रक्रिया अघि बढाइएको महानिर्देशक दाहालले जानकारी दिनुभयो । यसबाट भाइरसको स्वरूप, संक्रमणको क्षमता तथा सम्भावित जोखिमबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।
नेपालमा बर्डफ्लु पहिलो पटक सन् २००९ मा झापामा देखिएको थियो । त्यसयता विभिन्न समयमा संक्रमण देखिँदै आए पनि सन् २०१९ र २०२१ मा यसको ठूलो प्रकोप फैलिएको थियो । ती प्रकोपका क्रममा देशभर लाखौँ कुखुरा, हाँस तथा अन्य पन्छी नष्ट गरिएका थिए ।
विशेषगरी सन् २०१९ मा नेपालमा पहिलो पटक बर्डफ्लु संक्रमणका कारण एक युवकको मृत्यु पुष्टि भएपछि जनस्तरमा ठूलो त्रास फैलिएको थियो । त्यसबेला काठमाडौं उपत्यकासहित करिब १० देखि ११ जिल्ला उच्च जोखिममा परेका थिए । संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावित क्षेत्रलाई क्वारेन्टिनमा राख्ने, पन्छीको आवतजावतमा रोक लगाउने तथा संक्रमित फार्मका सम्पूर्ण पन्छी नष्ट गर्ने नीति लागू गरेको थियो ।
बर्डफ्लु मुख्यतः पन्छीमा देखिने भाइरल रोग भए पनि केही विशेष अवस्थाहरूमा संक्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा रहेका मानिसमा समेत संक्रमण सर्नसक्ने सम्भावना रहन्छ । यद्यपि, नेपालमा हालसम्म मानिसमा संक्रमण पुष्टि भएका घटना अत्यन्तै न्यून छन् ।
स्वास्थ्य तथा पशु स्वास्थ्य विज्ञहरूले संक्रमित वा बिरामी देखिएका पन्छीलाई नछुन, मासु तथा अण्डा राम्ररी पकाएर मात्र सेवन गर्न, फार्ममा जैविक सुरक्षा अपनाउन तथा अस्वाभाविक रूपमा पन्छी मरेको देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन् ।
बर्डफ्लुको पछिल्लो प्रकोपले कुखुरा उद्योगलाई पुनः ठूलो दबाबमा पारेको छ । संक्रमण फैलिएका जिल्लामा उत्पादन घट्नुका साथै बजारमा आपूर्ति शृंखला प्रभावित हुने चिन्ता बढेको छ । किसानहरूले क्षतिपूर्तिको व्यवस्था प्रभावकारी बनाउन तथा रोग नियन्त्रणका लागि दीर्घकालीन रणनीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् ।
विज्ञहरूका अनुसार जैविक सुरक्षा प्रणालीलाई मजबुत बनाउने, सीमावर्ती क्षेत्रमा निगरानी बढाउने, नियमित परीक्षण गर्ने तथा किसानलाई सचेतनामूलक तालिम प्रदान गर्ने कार्यलाई प्राथमिकता दिनसके मात्र बर्डफ्लुको जोखिमलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिन्छ ।
बर्डफ्लुको संक्रमण विस्तार हुँदै गइरहेका बेला सरकार, किसान र सरोकारवाला निकायबीचको समन्वय तथा सतर्कता नै यसको प्रभावकारी नियन्त्रणको मुख्य आधार बन्ने देखिएको छ ।
उच्च सतर्कता अपनाउन आग्रह
पशु सेवा विभागले पन्छीपालक कृषकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै फार्ममा जैविक सुरक्षाका उपाय कडाइसाथ लागू गर्न र पन्छीमा कुनै पनि असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा जानकारी गराउनसमेत अपिल गरेको छ ।
अण्डा राख्ने पुराना कागजी क्रेट पुनः प्रयोगमा नल्याउन र ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनु अघि अनिवार्य रूपमा निसंक्रमण गर्न अनुरोध गरिएको छ । त्यस्तै, काग र जंगली चराचुरुंगीबाट घरपालुवा पन्छी जोगाउन जैविक सुरक्षाका मापदण्ड अपनाउनुका साथै पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र ढुवानी गर्न सचेत गराइएको छ । साथै यस्ता बहुविधि संक्रमणबाट बच्न किसानलाई नियमित रूपमा खोप लगाउन र संक्रमण पुष्टि भई मरेका पन्छीलाई फार्म परिसरमै गहिरो खाडल खनेर पुरेपछि निसंक्रमण गर्न सुझाव दिइएको छ । विभागले रोग नियन्त्रणको यस साझा अभियानमा सबै सरोकारवालाको सहयोग र सचेतना आवश्यक रहेको जनाएको छ ।
प्रतिक्रिया