एउटाले भित्तो फोर्यो
र घरभित्र छिर्यो
अर्को झ्याल भत्काएर
भित्र पस्यो ।
केही मानिसहरू नारा जुलुसमा
हुलका हुल घरभित्र छिरे ।
भान्सा कुरेको बाहनामा
भाँडा एक्लै रित्याउन बसेको मान्छे
सुरुक्क चुल्हो चौको जिम्मा लाएर
मूल ढोकाबाट बाहिर निस्कियो
अर्थात् ऊ विस्थापित ।
घरभित्र छिरेकाहरू
कसैका हातमा छिनो र घन छ
कसैका हातमा खुँडा र खुर्पा
कोही लाठी बोकेर उभिएका छन्
कोही आगोको प्रकाश
कोही घण्टीको घण्टोमा छन्
कोही हलो कोदालोमा
कोही रुखका हाँगा समातेर
खरानीको जोहो गर्ने सोचमा निमग्न ।
चना चटपटेको
सुरु भएको छ व्यापार
भोजन त त्यही हो ।
बानी अनुसार :
कोही भित्तै भत्काउन लागे
कोही उज्यालो हुनुपर्छ भन्ने
सिद्धान्तमा अडिग छानु तोड्ने भए ।
कोही आगो बाल्ने
बाहना खोज्न लागे
कोही मजेरी जोत्न
कोही पूजाका थालीमा
अबिर, बत्ती र घण्टी बजाउन लागे
कोही लाठीले भाँडा बजाउन ।
जसले जग्गा जोड्यो,
जसले घरको परिकल्पना गर्यो,
जसले चुल्हो चौको निर्माण गर्यो
र भान्सा तयार पार्यो
अहिले त्यो जनता विस्थापित छ
त्यो नेता विस्थापित छ,
त्यो संयन्त्र विस्थापित छ ।
अवसर त हो नि
चारोटा चोर प्वालबाट
चियाइरहेका छन्
छिमेकीहरूको लस्कर ।
लाग्छ, कुराउनी भागबण्डामा
व्यस्त बाँदरको भीडभित्र
कुराउनी न्याय गर्ने दाउ ।
सुरु भएको छैन
विस्थापितहरूको
मौन जुलूस ।
जुनदिन सुरु हुने छ
त्यस दिन विध्वंशकारी
वर्णशंकरहरूको हुल
घरबाहिर निकै टाढा
विस्थापित हुनुपर्ने हो कि ?
साक्षी म घरको द्वारपाल
भयभीत छु :
कतै विस्थापित र वर्णशंकरहरूको
यो तानातानीमा
मेरो घर नै विस्थापनमा नपरोस्
मेरो जग्गाको जग नै
विस्थापित नहोस् ।
बु.न.पा.-१०, कपन
२०८२ जेठ १ ।
प्रतिक्रिया