बीसको उमेर
यो त गोधूलिको छायाँभन्दा पनि छरितो,
हावा जस्तै छरपस्ट, सपना जस्तै अनियन्त्रित।
त्यहाँ न सिमा हुन्छ, न सन्तुलन।
त्यहाँ स्वप्न हुन्छ
गगन चुम्ने र सागर उछिन्न सक्ने कल्पनाशक्ति।
बीसको हृदय अजङ्गको महल हो
जहाँ आत्माभन्दा ठूलो अभिमान बस्दछ।
उ उड्छ—पर्वतभन्दा अग्लो हुन खोज्छ।
ऊ भन्छ
“जीवन त म आफैले बनाउँछु!”
र समयलाई पुच्छर समाइ खेल्दछ।
तर तीस?
तीस वर्षको थालनी
तुफान पछिको मौन समुद्र हो।
त्यहाँ क्षितिज देखिन्छ, तर आँखा थकित छन्।
ऊ दौड्दैन अब— ऊ हिँड्छ,
र प्रत्येक पाइला नाप्दछ आत्मबोधको काँडामा।
बीसले तीसलाई हेरिरहन्छ
“कहाँ हरायौ तिमी?” भनेर।
तर तीस भित्रै भन्छ
“अब म हराइरहेको होइन,
अब मैले बुझेको छु
स्वप्न देख्नुभन्दा,
स्वप्नको मूल्य बुझ्न सक्नु ठूलो कुरा हो।”
तीसको अनुहारमा चाउरी हुन्छ,
तर ती चाउरीहरू पुस्तक हुन्
अनुभवले लेखेको, नकि आँशुले मेटेको।
ऊ अब संसार बदल्ने हुंकार दिँदैन,
ऊ आफै बदलिने मौन शपथ गर्छ।
बीसमा आगो बल्दछ,
तीसमा त्यो आगोको खरानीमा तातो रहन्छ
समीक्षा गर्ने ताप।
जीवनको पहिलो अर्थ उन्मुक्ति हो,
दोस्रो अर्थ उत्तरदायित्व।
बीसमा हामी गीत बनाउँछौं,
तीसमा त्यही गीतको अर्थ बुझ्दछौं।
यसै गरी,
बीस र तीस
समयको दुई किनार हुन् ,
बीचमा जीवन बग्दछ ,
शान्त तर अर्थपूर्ण।
र जब बीस तीसमा पुग्छ,
त्यसले थाहा पाउँछ
सपना देख्नू मात्र जीवन होइन,
सपनाको मूल्य बुझ्नु पनि जीवन हो।
– राजेश खड्का पेरिस फ्रान्स
प्रतिक्रिया