देश र जनता विस्फोटनको सँघारमा छन् । कसैले कसैलाई पाखा लगाएर, आरोप प्रत्यारोप गरेर, खेदेर होइन एउटै टेबलमा बस र निष्कर्ष निकाल, निकास देऊ, देश बँचाऊ ! पानी माथिको ओभानो बन्ने दुष्प्रयास कसैले नगर । यो भन्दा अब बिग्रिन भत्किन केही बाँकी छैन मनन गर ।
२०४६ साल पछिका हरेक सरकार, हरेक दल, हरेक नेतृत्व, चाहे काँग्रेस, एमाले, माओवादी, रा.प्र.पा, मधेसवादी देखी अहिलेका नयाँ जोगीहरू सम्म र राजाकै अध्यक्षताको सरकार समेत पूर्ण रूपमा असफल भएकै हुन, कोही चोखा छैनन्, कोही सफल पनि छैनन्, भएनन् ।
देश काल परिस्थिति हेर, माटो हेर, आ आफ्ना गल्ती कमजोरीहरू स्वीकार गर । जनता सामु आत्मालोचना गर । देश र जनताका लागि एउटा नयाँ मोडेल, नयाँ डिजाइनमा जाऊ, कसैलाई पाखा नलगाऊ । प्रतिसोध नराख । देशलाई प्रयोगशाला मात्र नबनाऊ ।
देश र जनताले अब पनि तितो विगत र तिता प्रयोगहरू दोहोर्याउँदै र प्रयोग गर्दै थेग्न सक्ने अवस्था नै छैन । नेपाल भन्ने देश विदेशीको क्रिडास्थल बनिसकेको छ । कुशासन, अन्याय, अत्याचार, भ्रस्टाचारले बदनाम भैसकेको छ ।
विदेशीहरूले रिन र अनुदान पत्याउन छाडिसकेको अवस्था छ । देशको अर्थतन्त्र ध्वस्त छ । जनशक्ति पलायन तीव्र छ । देशमा आकर्षण होइन विकर्षण बढ्दो छ त्यो जुन सुकै क्षेत्रमा हेरौँ । राजा देखी दल, नेता, सेना, पुलिस, कर्मचारी यन्त्र, स्वयम जनता पनि, छातीमा हात राख र सोंच – नेपाली हामी रहौँला कहाँ नेपालै नरहे !
समय बलवान हुन्छ । समयसँग खेलबाड नगर । जन्मभूमि र माटोलाई सम्झ । राष्ट्रिय एकता कायम गर । नत्र नसोचेको क्षति बेहोर्न सबै तयार होऊ । यो उकुस मुकुस अब धेरै रहला जस्तो लाग्दैन । विस्फोट हुनु पूर्व सबैको चेत खुलोस् । आगो सल्किसकेको छ, आगो नियन्त्रण गर, आफू पनि बाँच र देश पनि बँचाऊ । भिरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न चेतना भया । आगे जो मर्जी !
– सम्पादकीय, नेपाल मदर डट कम
प्रतिक्रिया