Washington DC, US : November 6, 2026, Friday 12:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल !|‘पूर्णबहादुरको सारङ्गी’ पछि सरोज पौडेलको अर्को चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते प्रदर्शनमा आउने|दीपक आचार्य निर्देशित चलचित्र ‘चिरञ्जीवी भव’ माघ १ गतेदेखि प्रदर्शनमा आउने|Breaking News: शव टुक्र्याएर फालेको नरेशको स्वीकारोक्ति|अदालतमा ममता काफ्ले भट्टका हत्यारा आरोपी पति नरेश भट्टले के के भनेर बयान दिए ? हेर्नुस भिडियोहरु !|Breaking News : सुन्न पनि गाह्रो हुने हृदय बिदारक समाचार – ममता काफ्ले भट्ट प्रकरणमा सनसनीपूर्ण मोड|यो कस्तो लोकतन्त्र लिएर आयौ ?|अनलाइन खबरका प्रधान सम्पादक बसन्त बस्नेतको यो भिडियो जो आफैमा बहुत कुछ बोल्छ, हेर्ने प्रयास गर्नुहोला !|प्रहरी संगठनलाई स्वतन्त्र, निष्पक्ष र व्यावसायिक रहन दिऔँ, राजनीतिकरण बन्द गरौँ|Cartoon

धुर्मुस-सुन्तली, शतीले सरापेको देश र चक्र ब्यूहको खेल ! ‘म त मर्छु कि क्या हो ?’ को नवौँ भाग हेर्दा हाँस्न होइन, भक्कानिएर रुन बाध्य भएँ। धुर्मुस, सुन्तली र सानी छोरी मुन्तलीले भोगेको पीडा, एउटा कलाकार परिवारको सङ्घर्ष र देशमा केही गर्छु भन्ने मानिसले भोग्नुपर्ने नियतिको मार्मिक चित्रणले मन छियाछिया बनायो।

  NepalMother.com | २१ कार्तिक २०८३, शुक्रबार १२:२०

  • रामप्रसाद खनाल

भाइ सीताराम कट्टेल ‘धुर्मुस’ र बहिनी कुञ्जना घिमिरे ‘सुन्तली’ नेपाली कला क्षेत्रका दुई अद्भुत प्रतिभा हुन्। उनीहरूलाई म आजदेखि होइन, धेरै पहिलेदेखि नजिकबाट चिन्छु, जान्दछु र बुझ्ने प्रयास गर्दै आएको छु। उनीहरूको कला, प्रतिभा, समाजसेवा, मानवीय संवेदना र देशका लागि केही गरौँ भन्ने भावनाको म सधैँ प्रशंसक र शुभचिन्तक रहँदै आएको छु।

मैले धुर्मुस–सुन्तलीका विषयमा धेरैपटक लेखेको छु, बोलेको छु। उनीहरूले अघि सारेका विभिन्न सामाजिक अभियान, परियोजना र सकारात्मक प्रयासमा आफ्नो ठाउँबाट साथ, सहयोग, समर्थन र हौसला प्रदान गर्दै आएको छु। उनीहरूलाई पर्दामा देखिने कलाकारका रूपमा मात्र होइन, पर्दाबाहिर पनि केही असल काम गरौँ भन्ने सपना बोकेका मानिसका रूपमा चिनेको छु।

धुर्मुस–सुन्तलीले नेपाली हास्यव्यङ्ग्यको क्षेत्रमा कति योगदान दिएका छन् भन्ने कुरा भनिरहनु पर्दैन। कहिले उटपट्याङ अभिनय गरेर, कहिले समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्य गरेर, कहिले सर्वसाधारणका दुःखसुखलाई हास्यका माध्यमबाट प्रस्तुत गरेर उनीहरूले लाखौँ नेपालीलाई हँसाएका छन्। उनीहरूको अभिनय हेरेर पेट मिचीमिची हाँसेका क्षणहरू हामी धेरैको स्मृतिमा ताजै छन्।

तर आज एउटा बिल्कुलै फरक अनुभव भयो।

आज मैले उनीहरूको हास्य शृङ्खला ‘म त मर्छु कि क्या हो ?’ को नवौँ भाग हेरेँ। हाँस्न भनेर हेर्न बसेको थिएँ, तर हेर्दाहेर्दै मन थाम्नै सकिनँ। मुटु भक्कानिएर आयो। आँखाबाट आँसु झरे। कतिपय दृश्यमा त पर्दामा अभिनय भइरहेको छ भन्ने कुरा नै बिर्सिएँ।

आज धुर्मुसले हँसाएनन्, रुवाए। मुन्तलीले पनि आफ्नो भूमिकाबाट मन छोइन्।

 

यो हास्य शृङ्खला हो, तर आजको भाग हँसाउनेभन्दा धेरै रुवाउने बन्यो। लेखक, साहित्यकार, कलाकार र पत्रकार हुनुको नाताले मलाई त आजको प्रस्तुति कैयौँ नेपाली कथानक चलचित्रभन्दा उच्च कोटिको, जीवन्त, मार्मिक र प्रभावशाली लाग्यो। संवाद, अभिनय, कथा, परिस्थितिको चित्रण र मानवीय संवेदनाले भरिएको यो भाग सामान्य मनोरञ्जन होइन, एउटा परिवारको पीडा र समाजको वास्तविकताको कलात्मक अभिव्यक्ति बनेको छ।

मलाई थाहा छ, चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्ने महान् सपना बोकेर अघि बढेका धुर्मुस र सुन्तलीले पछिल्ला केही वर्षमा कति मानसिक तनाव, पीडा र अप्ठ्यारा परिस्थितिहरू सामना गर्नुपरेको छ। उनीहरूकी सानी छोरी मुन्तलीले समेत परिवारको त्यो कठिन यात्राको प्रभाव महसुस गरेकी होलिन्।

अरूलाई हँसाउने कलाकारहरू आफूभित्र कति रोएका होलान् ? अरूका लागि सपना देख्ने मानिसहरूले आफ्ना सपनाहरू कसरी टुटेको अनुभूति गरे होलान् ? संसारलाई खुसी बाँड्ने कलाकार दम्पतीले बन्द कोठाभित्र एकअर्काको अनुहार हेरेर कति आँसु बगाए होलान् ? आजको शृङ्खला हेर्दा मेरो मनमा यिनै प्रश्नहरू घुमिरहे।

धुर्मुस र सुन्तलीको सङ्घर्षलाई मैले केवल बाहिरबाट सुनेको वा समाचारमा पढेको मात्र होइन। भाइ धुर्मुस नेपाल जाँदा काठमाडौँस्थित मेरै निवासमा आएर मसँग धेरैपटक बसेका छन्। हामीबीच घण्टौँ कुराकानी भएका छन्। उनले चितवनको क्रिकेट रङ्गशाला, त्यसको निर्माण प्रक्रिया, आर्थिक तथा प्रशासनिक कठिनाइ, विभिन्न निकायसँगका अनुभव, आफ्ना पीडा, चिन्ता र भविष्यका विषयमा खुलेर कुरा गरेका छन्। मैले उनका कुरा ध्यान दिएर सुनेको छु। प्रश्न गरेको छु। उनको मनोविज्ञान, बाध्यता र परिस्थिति बुझ्ने प्रयास गरेको छु।

त्यसैले म आफ्नो व्यक्तिगत अनुभव र विश्वासका आधारमा आज पनि भन्छु, धुर्मुस–सुन्तलीको नियतमाथि मलाई विश्वास छ। उनीहरूले देश र जनताका लागि केही राम्रो गर्ने उद्देश्यले नै त्यो विशाल परियोजनामा हात हालेका थिए भन्ने मेरो दृढ धारणा छ।

हो, उनीहरूले निकै ठूलो सपना देखे। सरकार स्वयंले अग्रसर भएर बनाउनुपर्ने स्तरको एउटा विशाल क्रिकेट रङ्गशाला निर्माण गर्ने आँट गरे। त्यो सामान्य कलाकार दम्पतीका लागि अत्यन्त ठूलो जिम्मेवारी थियो। यस्तो परियोजनामा आर्थिक व्यवस्थापन, प्राविधिक जटिलता, प्रशासनिक प्रक्रिया र संस्थागत जिम्मेवारीका अनेक चुनौती हुनु स्वाभाविक थियो।

तर उनीहरूको सपना र नियतलाई ती चुनौतीबाट अलग राखेर बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।

एउटा कलाकार दम्पतीले आफ्नो लोकप्रियता, सामाजिक विश्वास, समय, श्रम र जीवनको महत्त्वपूर्ण हिस्सा देशका लागि केही निर्माण गर्ने उद्देश्यमा लगाउनु आफैँमा सानो कुरा होइन।

धुर्मुस–सुन्तलीले विगतमा भूकम्पपीडितका लागि बस्ती निर्माणदेखि विभिन्न सामाजिक सेवाका अभियानमार्फत देखाएको सक्रियता पनि हामीले बिर्सनु हुँदैन। उनीहरूले हास्यकलाबाट कमाएको लोकप्रियतालाई समाजसेवामा उपयोग गर्ने प्रयास गरे। आफ्नो प्रतिभालाई व्यक्तिगत सफलतामा मात्र सीमित राखेनन्।

त्यही विश्वास, उत्साह र समाजप्रतिको जिम्मेवारीबोधले उनीहरूलाई क्रिकेट रङ्गशालाजस्तो महत्त्वाकाङ्क्षी परियोजनासम्म पुर्‍यायो।

आज सोच्दा लाग्छ, त्यो सपना पूरा गर्न संस्थागत रूपमा अझ बलियो साथ, स्पष्ट जिम्मेवारी र समयमै आवश्यक सहयोग जुटेको भए परिस्थिति कति फरक हुन सक्थ्यो होला !

आजको नवौँ भागमा मैले त्यही अपूरो सपना, असह्य पीडा, प्रशासनिक झन्झट, राजनीतिक आश्वासन र एउटा असल नियत बोकेको परिवारको सङ्घर्षको कलात्मक चित्रण देखेँ।

यस शृङ्खलाले देशको राजनीतिक र प्रशासनिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको अनुभूति भयो। सरकार फेरिन्छन्, प्रधानमन्त्री फेरिन्छन्, मन्त्री फेरिन्छन्, जनप्रतिनिधि फेरिन्छन्, तर जनताले भोग्ने प्रशासनिक सास्ती र अनिश्चितता कहिले फेरिने ?

प्रचण्ड, केपी शर्मा ओली, बालेन शाह, रवि लामिछाने, भरतपुर महानगरपालिकाकी नेतृत्वकर्ता रेणु दाहाललगायतका राजनीतिक नेतृत्वदेखि सम्बन्धित मन्त्रालय, सरकारी निकाय र कर्मचारीतन्त्रसम्मले यस्ता सार्वजनिक महत्त्वका परियोजनाबारे आत्मसमीक्षा गर्नुपर्ने सन्देश मैले यस प्रस्तुतिमा पाएँ।

कुनै एक व्यक्तिलाई दोष लगाउनेभन्दा पनि हाम्रो समग्र प्रणाली कसरी चलिरहेको छ भन्ने गम्भीर प्रश्न यसले उठाएको छ।

देशका लागि केही गर्छु भनेर अघि सर्ने मानिसलाई राज्यले कसरी प्रोत्साहन गर्नुपर्छ ? सार्वजनिक हितका परियोजनामा सरकार र नागरिकबीचको साझेदारी कसरी जिम्मेवार बनाउनुपर्छ ? कुनै परियोजना समस्यामा पर्दा त्यसको न्यायोचित समाधान कसरी खोज्नुपर्छ ? प्रशासनिक प्रक्रियाले नागरिकलाई अनावश्यक पीडा नदिने व्यवस्था कहिले बन्छ ? आजको प्रस्तुति हेरिरहँदा यी प्रश्नहरू मेरो मनमा उठिरहे।

यसले मलाई नेपालको एउटा तीतो यथार्थ फेरि सम्झाइदियो। हाम्रो देशमा कहिलेकाहीँ केही राम्रो गर्छु भन्ने मानिसले काम गर्नुभन्दा धेरै समय आफ्नो नियत प्रमाणित गर्न, कार्यालय धाउन, स्पष्टीकरण दिन र आफ्नो आत्मसम्मान बचाउन खर्च गर्नुपर्ने अवस्था आउँछ।

त्यस्तो परिस्थितिले एउटा व्यक्तिलाई मात्र होइन, उसको परिवार, बालबच्चा, भविष्य र आत्मविश्वासलाई समेत प्रभावित पार्छ।

सायद यही कारणले होला, देशलाई माया गर्ने, देशमै केही गर्ने सपना देख्ने, आफ्नो क्षमता र श्रम आफ्नै मातृभूमिमा समर्पण गर्न चाहने कैयौँ नेपाली अन्ततः विदेशिन विवश हुन्छन्।

यो केवल धुर्मुस–सुन्तलीको कथा होइन। यो देशभित्र सपना देखेर सङ्घर्ष गरिरहेका र अनेक परिस्थितिका कारण विदेशको बाटो रोज्नुपरेका असङ्ख्य नेपालीको साझा वेदना पनि हो।

म स्वयं पनि कुनै रहरले मात्र देश छोडेर विदेशिएको मानिस होइन। मेरा आफ्नै अनुभव छन्, सङ्घर्ष छन्, पीडा छन्। आफ्नो जन्मभूमिप्रतिको प्रेम, त्यहाँ केही गरौँ भन्ने चाहना र परिस्थितिको कठोर वास्तविकताबीचको द्वन्द्व मैले पनि भोगेको छु।

त्यसैले भाइ धुर्मुस र बहिनी सुन्तलीको पीडा मैले अलि फरक ढङ्गले महसुस गर्छु।

भाइ सीताराम, बहिनी कुञ्जना !

आज तिमीहरूलाई म फेरि एउटा कुरा भन्न चाहन्छु।

तिमीहरू गलत छौ भन्ने मलाई लाग्दैन। तिमीहरूले देशको अहित गर्ने नियत राख्यौ भन्ने म कल्पनासमेत गर्न सक्दिनँ।

तर तिमीहरूले एउटा ठूलो ‘अपराध’ भने गरेछौ ! त्यो के भने, शतीले सरापेको भनिने देशमा केही राम्रो गर्छु भनेर सपना देख्यौ। सरकारले गर्नुपर्ने काम हामी गर्छौँ भनेर आँट गर्‍यौ। आफ्नो व्यक्तिगत सुखसुविधाभन्दा देश र समाजको हितलाई प्राथमिकता दियौ।

यो मैले तिमीहरूलाई दोष लगाउन भनेको होइन। यो त हाम्रो समाजको विडम्बनामाथिको एउटा कटु व्यङ्ग्य हो।

असल नियत र ठूलो साहसलाई अपराधजस्तो महसुस गर्नुपर्ने अवस्था कुनै पनि देशका लागि दुःखद हो।

मलाई अझै सम्झना छ, भाइ धुर्मुस, तिमी मेरो काठमाडौँको निवासमा आएर बस्दा हामीबीच भएका कुराकानीहरू। मैले त्यतिबेलै तिमीलाई कतिपय कुरा भनेको थिएँ।

देशको परिस्थिति, तिमीहरूले भोगिरहेका चुनौती, पारिवारिक जिम्मेवारी र सानी छोरीको भविष्यलाई पनि गम्भीरतापूर्वक सोच्न सुझाव दिएको थिएँ।

आवश्यक परे अमेरिकाको ग्रिनकार्ड प्रक्रियाबारे पनि विचार गर, छोरीको भविष्यका लागि वैकल्पिक बाटो खुला राख भाइ भनेको थिएँ।

त्यो मैले तिमीहरूलाई देश छोड्न उक्साउन भनेको थिइनँ। एउटा दाजुले भाइबहिनीको भलो चाहेर, आफ्नो जीवनका अनुभवका आधारमा भनेको थिएँ।

आजको शृङ्खला हेर्दा ती सबै कुराकानी फेरि सम्झिएँ।

म चाहन्छु, तिमीहरू जहाँ रहे पनि खुसी रहोस्। छोरीको उज्ज्वल भविष्य होस्। तिमीहरूलाई फेरि निर्धक्क हाँस्ने वातावरण मिलोस्। तिमीहरूको कला, प्रतिभा र सिर्जनशीलता अझ फुलोस्, फैलियोस्।

नेपालले तिमीहरूजस्ता कलाकारको आवश्यकता सधैँ महसुस गरिरहनेछ।

आजको भागमा धुर्मुसको अभिनय असाधारण लाग्यो। उनले पात्रको पीडा, विवशता, निराशा र भित्री सङ्घर्षलाई अत्यन्त स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन्। छोरी मुन्तलीको उपस्थितिले कथामा थप संवेदना भरेको छ। बाबुछोरीको सम्बन्ध र पारिवारिक परिस्थितिको चित्रणले दर्शकको मन नछोई छोड्दैन।

यद्यपि आजको भागमा बहिनी सुन्तलीको अभिनय पनि भएको भए अझ पूर्णता आउने थियो भन्ने लाग्यो। उनको अनुपस्थिति मैले निकै महसुस गरेँ। धुर्मुस–सुन्तलीको जोडीले पर्दामा ल्याउने आत्मीयता, स्वाभाविकता र प्रभावको आफ्नै विशेष महत्त्व छ।

यस प्रस्तुतिमा अभिनय गर्नुहुने मेरा अग्रज आदरणीय दाइ राजाराम पौडेललगायत सम्पूर्ण कलाकारहरूप्रति पनि हार्दिक सम्मान व्यक्त गर्दछु। सबैले आफ्नो भूमिकामार्फत कथालाई जीवन्त बनाउन योगदान गर्नुभएको छ।

आजको प्रस्तुति केवल कला होइन, एउटा गहिरो सामाजिक सन्देश हो। हाँस्यव्यङ्ग्यको माध्यमबाट पनि कति गम्भीर विषय प्रस्तुत गर्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण हो।

म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गर्दछु, ‘म त मर्छु कि क्या हो ?’ को नवौँ भाग एकपटक अवश्य हेर्नुहोला।

यसलाई केवल हास्य शृङ्खला भनेर नहेर्नुहोला। यसमा एउटा कलाकारको पीडा छ। एउटा परिवारको सङ्घर्ष छ। एउटा ठूलो सपना बोकेर अघि बढेका मानिसको व्यथा छ। राज्य र नागरिकबीचको सम्बन्धमाथि उठेका प्रश्न छन्। देशमै केही गर्ने चाहना र विदेशिनुपर्ने बाध्यताबीचको द्वन्द्व छ।

मलाई त यो शृङ्खला धुर्मुस–सुन्तलीले भोगेका वास्तविक अनुभवहरूको अत्यन्त जीवन्त र हृदयस्पर्शी कलात्मक अभिव्यक्ति लाग्यो।

यद्यपि नाटकीय प्रस्तुतिका प्रत्येक प्रसङ्गलाई प्रमाणित घटनाको शाब्दिक विवरण मान्नुभन्दा त्यसले उठाएको मानवीय पीडा र सामाजिक सन्देशलाई बुझ्न आवश्यक छ।

चितवनको क्रिकेट रङ्गशालासँग सम्बन्धित बाँकी विषयहरूमा पनि सम्बन्धित सबै निकायले निष्पक्ष, पारदर्शी, मानवीय र न्यायोचित समाधान खोजून् भन्ने मेरो हार्दिक चाहना छ। जिम्मेवारी कसको कति हो भन्ने कुरा विधि, प्रक्रिया र प्रमाणका आधारमा स्पष्ट होस्। तर यो प्रक्रियामा धुर्मुस–सुन्तलीको योगदान, सपना, त्याग र उनीहरूले भोगेको पीडाको पनि उचित सम्मान होस्।

हामी नेपालीको एउटा कमजोरी के छ भने कहिलेकाहीँ मानिसले गरेको राम्रो कामको मूल्याङ्कन गर्न ढिलो गर्छौँ। उसको योगदानको महत्त्व उसले धेरै पीडा भोगिसकेपछि मात्र बुझ्छौँ। म आशा गर्छु, धुर्मुस–सुन्तलीको हकमा त्यस्तो नहोस्।

उनीहरूलाई माया गर्ने, उनीहरूको कला र समाजसेवाको सम्मान गर्ने, उनीहरूको असल नियतमा विश्वास गर्ने नेपालीहरूले यो कठिन समयमा साथ, सहयोग र हौसला प्रदान गरून्।

भाइ धुर्मुस, बहिनी सुन्तली, जीवनमा एउटा सपना अपूरो रहँदैमा सम्पूर्ण जीवन असफल हुँदैन। कुनै एउटा परियोजनामा कठिनाइ आउँदैमा वर्षौँको योगदान मेटिँदैन। केही मानिसले नबुझ्दैमा सम्पूर्ण समाजले कहिल्यै बुझ्दैन भन्ने पनि होइन।

तिमीहरूले नेपालीहरूलाई हँसाएका छौ। दुःखमा परेकाहरूलाई सहयोग गरेका छौ। समाजका लागि केही निर्माण गर्ने साहस देखाएका छौ। ती योगदानहरू आफैँमा महत्त्वपूर्ण छन्।

आज तिमीहरूको अभिनय हेरेर म रोएँ। सायद मजस्तै अरू हजारौँ दर्शकको पनि मन भक्कानिएको होला।

तर म तिमीहरूलाई रोइरहेको होइन, फेरि हँसिरहेको हेर्न चाहन्छु। फेरि उत्साहका साथ सिर्जनामा लागिरहेको देख्न चाहन्छु। आत्मविश्वासका साथ अगाडि बढिरहेको देख्न चाहन्छु।

समय सधैँ एकनास रहँदैन। पीडाका दिनहरू पनि एक दिन बित्छन्। आज नबुझ्नेहरूले भोलि बुझ्न सक्छन्। समाजले ढिलो भए पनि योगदानको मूल्याङ्कन गर्नेछ र न्यायको पक्षमा उभिनेछ भन्ने विश्वास राखौँ।

भाइ धुर्मुस, बहिनी सुन्तली, हिम्मत नहार। तिमीहरूको कला, तिमीहरूको योगदान र तिमीहरूले देखेको असल सपनाको म सधैँ सम्मान गर्छु।

अरूलाई हँसाउँदा हँसाउँदै आफ्नै जीवनमा आँसु बगाउन बाध्य भएका मेरा प्यारा कलाकार भाइबहिनी, तिमीहरूको जीवनमा फेरि खुसी फर्कियोस्। सानी मुन्तलीको मुहारमा सधैँ मुस्कान रहोस्।

देश र समाजले तिमीहरूको पीडा बुझून्, तिमीहरूको योगदानको कदर गरून् र बाँकी समस्या न्यायपूर्ण ढङ्गले समाधान होऊन्।

अन्त्यमा एउटा कुरा फेरि भन्न चाहन्छु। धुर्मुस–सुन्तली, तिमीहरूले देशलाई माया गर्नु अपराध होइन। देशका लागि सपना देख्नु गल्ती होइन। केही राम्रो गर्ने साहस गर्नु कमजोरी होइन। बरु यस्ता सपनालाई संरक्षण गर्न सक्ने व्यवस्था, संस्कार र समाज निर्माण गर्नु हामी सबैको जिम्मेवारी हो।

आज तिमीहरूले हामीलाई हँसाएनौ, रुवायौ। तर त्यही आँसुले देश, समाज, राज्यव्यवस्था र हाम्रो सामूहिक जिम्मेवारीबारे फेरि सोच्न बाध्य बनायो। यही नै आजको तिमीहरूको अभिनयको सबैभन्दा ठूलो सफलता हो।

तिमीहरूलाई मेरो माया, सद्भाव, सम्मान र सधैँ साथ रहने विश्वास। एक दिन सत्य, न्याय र असल नियतको सम्मान अवश्य हुनेछ।

अन्त्यमा, यो स्तरीय, जीवन्त, मार्मिक र प्रभावशाली हास्य शृङ्खला ‘म त मर्छु कि क्या हो ?’ लाई आफ्नो कुशल छायाङ्कन कलामार्फत अझ सशक्त र हृदयस्पर्शी बनाउने मेरा प्रिय मित्र राजु केसीलाई पनि विशेष रूपमा सम्झन चाहन्छु। नेपाली चलचित्रदेखि म्युजिक भिडियोसम्मको छायाङ्कनमा आफ्नो विशिष्ट पहिचान बनाएका, यस क्षेत्रका सिद्धहस्त र अनुभवी छायाकार राजुको कलात्मक दक्षता यस प्रस्तुतिमा पनि स्पष्ट झल्किन्छ। त्यसैगरी मेरा अर्का प्रिय मित्र मोहन मिश्र देखि पर्दाअगाडि र पर्दापछाडि रहेर यस उत्कृष्ट सिर्जनालाई जीवन्त बनाउन योगदान पुर्‍याउने सम्पूर्ण कलाकार, प्राविधिक तथा सिङ्गो निर्माण टोलीप्रति हार्दिक सम्मान, माया र आभार व्यक्त गर्दछु। तपाईंहरू सबैको सामूहिक मेहनत, प्रतिभा, समर्पण र सिर्जनशीलताले नेपाली कला क्षेत्रलाई अझ समृद्ध बनाओस्। धुर्मुस–सुन्तलीसहित सम्पूर्ण कलाकार र सर्जकहरूको जीवनमा सुख, शान्ति, सफलता र उज्ज्वल भविष्यको कामना गर्दछु। सबैको जय होस् ! जन्मभूमि र कर्मभूमि दुवैको जय होस् ! संसारको जय होस् ! भवतु सब्ब मङ्गलम् ! सत्य मेव जयते !!

  • लेखक खनाल अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष पनि हुनुहुन्छ ।

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।