अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको रहस्यमय बेपत्ता तथा हत्या प्रकरणमा बिहीबार अदालतमा भएको बयानले मुद्दालाई नयाँ र अत्यन्त गम्भीर मोडमा पुर्याएको छ। पत्नीको हत्या गरेको आरोपमा मुद्दा खेपिरहेका नरेश भट्टले पहिलोपटक अदालतसमक्ष ममतालाई घरमै मृत अवस्थामा फेला पारेको, त्यसपछि उनको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले पत्नीको हत्या भने आफूले नगरेको दाबी गरेका छन्। प्रिन्स विलियम काउन्टीको अदालतमा आफ्नो बचाउमा बयान दिँदै नरेशले ममताले आत्महत्या गरेको हुन सक्ने दाबी प्रस्तुत गरेका हुन्। यद्यपि ममताले आत्महत्या गरेको पुष्टि गर्ने स्वतन्त्र चिकित्सकीय वा वैज्ञानिक प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन। उनको शवसमेत फेला परेको छैन। नरेशको यो बयान सन् २०२४ मा पत्नी बेपत्ता भएपछि प्रहरी र सञ्चारमाध्यमसमक्ष दिएको विवरणभन्दा पूर्णतः फरक छ। त्यसबेला उनले ममता घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सासमा रहेको हुन सक्ने बताएका थिए। बिहीबारको बयानमा भने उनले ममताको मृत्यु भएको थाहा पाएपछि आफू डराएको र शव लुकाउने निर्णय गरेको स्वीकार गरेका छन्।
प्रतिक्रिया