काठमाडौं। परान फिल्म्स र जिग्री इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ आगामी माघ १ गते, अर्थात् जनवरी १५ मा माघे सङ्क्रान्तिको अवसर पारेर देशभरका चलचित्र भवनमा प्रदर्शन हुने भएको छ।
चलचित्रमा नेपाली कला क्षेत्रका स्थापित तथा नयाँ पुस्ताका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ। वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, आशीर्वाद बराल क्षेत्री, प्रशंसा रायमाझी, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, हरिश निरौला, सुमन कार्की, अभय राज बराल, सुस्मिता कुँवर, कमलमणि नेपाल, कलाकार तथा सञ्चारकर्मी रामप्रसाद खनाल, उमेश बराल र तुलसी घिमिरेलगायतको अभिनय रहेको छ।
चलचित्रमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य, विभूति गौतम र आरव राई बालकलाकारका रूपमा प्रस्तुत भएका छन्।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको चलचित्रको कथा कुमार कट्टेलले लेखेका हुन्। पटकथा सबिन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् भने संवाद लेखनमा दीपकप्रसाद आचार्य, कुमार कट्टेल, सबिन अधिकारी र वसन्त न्यौपानेको योगदान रहेको छ।
चलचित्रका निर्माता उमेशकुमार बराल र चिरन केसी हुन् भने कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री रहेका छन्। छायाङ्कन निर्देशक शिवराम श्रेष्ठ, सम्पादक मित्र डी गुरुङ र प्रमुख सहायक निर्देशक रामबाबु खड्का हुन्।
चलचित्रको सङ्गीत पक्षमा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरसहित बाबुल गिरी, सुशान्त गौतम, अनमोल थापा र समीर खरेलको सहभागिता रहेको छ। गीत लेखनमा कुसुम गजमेर, हर्क साउद, दीपकप्रसाद आचार्य र समीर खरेल रहेका छन्।
यसैबीच, चलचित्रमा समावेश ‘के त माया (जाले रुमाल)’ गीतमा लोकप्रिय गायिका रचना रिमाल, गायक रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ। दीपकप्रसाद आचार्यको शब्द रहेको गीतमा बाबुल गिरीले सङ्गीत सिर्जना, संयोजन तथा मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतको भिडियोमा गम्भीर विष्टको नृत्य निर्देशन रहेको छ भने हरि अधिकारी नृत्य संयोजक र सुरेन्द्र बसेल सहायक नृत्य निर्देशक रहेका छन्। गीतको छायाङ्कनसम्बन्धी काम काठमाडौंको च्यासिन्दोलस्थित कटामारी स्टुडियोमा गरिएको निर्माण विवरणमा उल्लेख छ।
चलचित्रको पृष्ठभूमि सङ्गीत तथा ध्वनि मिश्रणमा रोहित शाक्य र शैलेश श्रेष्ठ, रङ्ग संयोजनमा रेनिश फागो तथा दृश्य प्रभावमा समीर मियाँ र सत्यम राणाको योगदान रहेको छ। चलचित्रका विभिन्न गीतमा किरण थापा, गम्भीर विष्ट र रोहिया महर्जनले नृत्य निर्देशन गरेका छन्।
चलचित्रको नेपालभित्र वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने ओएसआर डिजिटल गैरसिनेमाघर प्रदर्शन तथा डिजिटल साझेदारका रूपमा रहेको छ।
वरिष्ठ तथा नवपुस्ताका कलाकारको संयुक्त अभिनय, अनुभवी प्राविधिक टोली र सङ्गीतकर्मीहरूको सहभागिताका कारण ‘चिरञ्जीवी भव’ नेपाली चलचित्रप्रेमीका लागि चासोको विषय बन्न सक्ने देखिएको छ। निर्माण पक्षले माघे सङ्क्रान्तिको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने तयारी गरेको छ।






प्रतिक्रिया