आजकल मानिस चिन्न असाध्यै गाह्रो भएको छ। को आफ्नो हो, को पराइ हो ? को साँच्चै शुभचिन्तक हो, को अबसरबादी हो ? को हाम्रो प्रगतिमा खुसी हुन्छ र को भित्रभित्रै ईर्ष्या र डाहले जलिरहेको हुन्छ ? छुट्याउनै कठिन छ। कहिलेकाहीँ त यस्तो लाग्छ, पराइबाट भन्दा आफ्नै ठानेका मानिसबाट बढी सावधान हुनुपर्ने समय पो आयो कि !
हामी कसैलाई आफ्नो ठान्छौँ। उसलाई दुःख पर्दा हात दिन्छौँ, आपत् पर्दा काँध थाप्छौँ, अभावमा सहयोग गर्छौँ, अप्ठ्यारोमा साथ दिन्छौँ। उसको उन्नति होस्, प्रगति होस्, राम्रो होस् भनेर निःस्वार्थ भावले सक्दो योगदान गर्छौँ। उसको दुःखलाई आफ्नै दुःख सम्झन्छौँ। आफ्ना इच्छा, आवश्यकता र स्वार्थलाई समेत पछाडि राखेर उसलाई अगाडि बढाउन प्रयत्न गर्छौँ। मनमनै विश्वास गर्छौँ, यो त मेरै मान्छे हो, मेरो आफ्नै हो, यसले कम्तीमा मेरो अहित त कहिल्यै चिताउने छैन।
तर विडम्बना ! कहिलेकाहीँ जसलाई सबैभन्दा बढी गुन लगाइएको हुन्छ, जसलाई सबैभन्दा नजिक ठानिएको हुन्छ, जसका लागि सबैभन्दा बढी त्याग गरिएको हुन्छ, त्यही मानिस सबैभन्दा ठूलो बैगुनी बनेर निस्कन्छ। कृतज्ञ हुनुपर्ने मानिस कृतघ्न बन्छ। सहयोगको बदला असहयोग गर्छ। सद्भावको बदला दुर्भावना राख्छ। अगाडि मुस्कुराउँछ, पछाडि कुरा काट्छ। अवसर पाउनासाथ खुट्टा तान्छ र विश्वासको आडमा पछाडिबाट छुरा प्रहार गर्नसमेत पछि पर्दैन।
अचम्म त के भने, हिजो जसको हात समातेर अगाडि बढाइएको थियो, आज त्यही मानिस आफ्नो हात समात्ने व्यक्तिको प्रगति देख्न नसक्ने अवस्थामा पुग्छ। हिजो जसको दुःखमा साथ दिइएको थियो, आज त्यही मानिस अरूको सुखमा दुःखी हुन थाल्छ। हिजो जसलाई उठाउन काँध थापिएको थियो, आज त्यही मानिस आफूलाई उठाउने व्यक्तिलाई नै लडाउन उद्यत देखिन्छ।
आखिर मानिस किन यति बैगुनी हुन्छ ? किन गुन बिर्सन्छ ? किन अरूको भलो चाहने मानिसकै अहित चिताउँछ ? किन अरूको सफलतामा रमाउन सक्दैन ?
यो प्रश्न केवल कुनै एक व्यक्ति वा परिवारको होइन। हाम्रो नेपाली समाजमा आफन्त, दाजुभाइ, दिदीबहिनी, नातागोता, छिमेकी, साथीभाइ र निकट सम्बन्धहरूबीच समेत यस्ता गुनासा सुनिन थालेका छन्। सम्बन्धको बाहिरी आवरण आफ्नोपनको हुन्छ, तर कतिपय अवस्थामा भित्र प्रतिस्पर्धा, तुलना, स्वार्थ, अहंकार, असन्तुष्टि र ईर्ष्याले जरा गाडिरहेको हुन्छ।
मलाई लाग्छ, यसको पहिलो कारण मानिसको सोच, विवेक र संस्कारसँग सम्बन्धित छ। जसले जीवनको अर्थ बुझेको छ, अरूको दुःख र त्यागको मूल्य चिनेको छ, जसमा मानवीय संवेदना, नैतिक चेतना र आत्मसमीक्षा गर्ने क्षमता छ, उसले सामान्यतया गुनको बदला बैगुन गर्ने सोच राख्दैन। ज्ञान हुनु र विवेक हुनु एउटै कुरा होइन। शिक्षित हुँदैमा मानिस असल हुन्छ भन्ने पनि छैन। पद, प्रतिष्ठा र सम्पत्ति हुँदैमा चरित्रवान् भइन्छ भन्ने छैन। असल मानिस हुन असल मन, संस्कार र व्यवहार चाहिन्छ।
दोस्रो कुरा, आफ्नो परिश्रम, क्षमता र उपलब्धिमा सन्तुष्ट मानिसले प्रायः अरूको प्रगतिलाई खतरा ठान्दैन। ऊ अरूलाई लडाएर होइन, आफू अझ राम्रो बनेर अगाडि बढ्न चाहन्छ। तर आत्मविश्वास कमजोर भएको, निरन्तर अरूसँग तुलना गर्ने र आफ्नो असफलताको दोष अरूलाई दिने प्रवृत्ति भएको मानिसमा ईर्ष्या र डाह बढ्न सक्छ। यद्यपि सफल वा शिक्षित मानिसमा ईर्ष्या हुँदैन भन्ने चाहिँ होइन। ईर्ष्या मानिसको मनोवैज्ञानिक कमजोरी हो, जुन जुनसुकै वर्ग र अवस्थामा देखिन सक्छ।
मनोविज्ञानले पनि मानिसले आफ्नो तुलना अरूसँग गर्दा ईर्ष्या, सहानुभूति वा अरूको सफलतामा खुसी हुनेजस्ता फरक प्रतिक्रिया देखाउन सक्ने बताउँछ। सन् २०२२ मा प्रकाशित सामाजिक तुलनासम्बन्धी अध्ययनले यस्ता भावनाहरू मानिसको तुलनात्मक सोच र परिस्थितिसँग जोडिने देखाएको छ।
अझ रोचक कुरा, सहयोग पाउँदा मानिसमा कृतज्ञतासँगै ऋणी भएको अनुभूति र मनोवैज्ञानिक दबाब पनि उत्पन्न हुन सक्छ। कतिपयले सहयोगलाई प्रेमका रूपमा लिन्छन् भने कतिपयलाई आफ्नो कमजोरी सम्झाइदिएको जस्तो महसुस हुन सक्छ।
यसको अर्थ सबै सहयोग पाउने मानिस बैगुनी हुन्छन् भन्ने होइन। तर केही मानिसमा आफ्नै अहंकार, हीनताबोध र गलत सोचका कारण सहयोग गर्ने व्यक्तिप्रति समेत असहजता वा असन्तुष्टि उत्पन्न हुन सक्छ। यो मानिसको मनोविज्ञानको एउटा जटिल पक्ष हो।
तेस्रो र अहिलेको सन्दर्भमा महत्त्वपूर्ण विषय सामाजिक सञ्जालको प्रभाव हो। फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका माध्यममा अरूको सफलता, सम्पन्नता, घुमफिर, घर, गाडी, पद र प्रतिष्ठा देखेर आफ्नो जीवनसँग तुलना गर्ने प्रवृत्ति बढ्न सक्छ। यद्यपि अनुसन्धानहरूले सामाजिक सञ्जालको प्रभाव सबैमा समान नहुने देखाएका छन्। यसको प्रयोग गर्ने तरिका, व्यक्तिको सोच र परिस्थितिले सकारात्मक वा नकारात्मक प्रभाव निर्धारण गर्छ।
अर्कोतर्फ पारिवारिक संस्कार, नैतिक शिक्षा, जीवनशैली र सामाजिक वातावरणमा भइरहेको परिवर्तन पनि विचारणीय छ। अस्वस्थ प्रतिस्पर्धा, उपभोक्तावादी सोच, देखासिकी, भौतिक उपलब्धिलाई मात्र सफलताको मापदण्ड मान्ने प्रवृत्ति र आपसी संवादको कमीले सम्बन्धलाई कमजोर बनाउन सक्छ। खानपान र जीवनशैलीले मनोस्वास्थ्यमा प्रभाव पार्न सक्ने भए पनि कसैको कृतघ्नता वा बेइमानीलाई विषादीयुक्त खानाकै परिणाम ठान्नु वैज्ञानिक रूपमा उचित हुँदैन। मूल प्रश्न चरित्र, सोच, व्यवहार र नैतिक जिम्मेवारीको हो।
हाम्रो नेपाली संस्कृतिले सधैँ गुन सम्झन, ठूलालाई आदर गर्न, सानालाई माया गर्न, सहयोगीप्रति कृतज्ञ रहन र अरूको भलो चिताउन सिकाएको छ। हामीले सानैदेखि सुन्दै आएका छौँ, गुन कहिल्यै बिर्सनु हुँदैन, बैगुन गर्नु पाप हो। तर आज कतिपय सम्बन्धमा यही नैतिक मूल्य कमजोर हुँदै गएको अनुभूति हुन्छ।
अझ दुःखलाग्दो पक्ष त के हो भने, मानिसले शत्रुबाट शत्रुताको अपेक्षा गरेको हुन्छ, तर आफ्नैबाट विश्वासघातको कल्पना गरेको हुँदैन। त्यसैले पराइको प्रहारभन्दा आफ्नाको धोका बढी पीडादायी हुन्छ। बाहिरको मानिसले गरेको आलोचना सजिलै सहन सकिएला, तर आफ्नै भनेर हृदयमा राखेको मानिसले पछाडिबाट खुट्टा तान्दा मन गहिरोसँग दुख्छ।
त्यसो भन्दैमा कसैले आलोचना गर्यो, असहमति जनायो वा हाम्रो अपेक्षाअनुसार व्यवहार गरेन भन्दैमा उसलाई ईर्ष्यालु, बैगुनी वा शत्रु ठानिहाल्नु पनि गलत हुन्छ। सच्चा शुभचिन्तकले आवश्यक पर्दा हाम्रो गल्ती पनि औँल्याउँछ। आलोचना र षड्यन्त्र फरक कुरा हुन्। असहमति र विश्वासघात फरक कुरा हुन्। यी कुरा छुट्याउने विवेक हामी आफैँमा पनि हुनुपर्छ।
अर्को महत्त्वपूर्ण कुरा, कसैले हाम्रो खुट्टा तानिरहेको छ भने त्यो हाम्रो प्रगतिसँग उसको असहजताको सङ्केत हुन सक्छ, तर त्यसलाई मात्र हाम्रो सफलताको प्रमाण मान्नु हुँदैन। हाम्रो वास्तविक सफलता हाम्रो मेहनत, आचरण, योगदान, उपलब्धि र अरूका जीवनमा पुर्याएको सकारात्मक प्रभावले निर्धारण गर्छ।
तर एउटा कुरा भने पक्का हो, अरूको प्रगति रोक्न खर्चिने समय र शक्ति आफ्नै उन्नतिमा लगाउने हो भने मानिस धेरै अगाडि बढ्न सक्छ। अरूलाई लडाएर कोही महान् बन्दैन। अरूको बदनाम गरेर आफ्नो चरित्र उच्च हुँदैन। अरूको बत्ती निभाउँदैमा आफ्नो घर उज्यालो हुँदैन।
मेरो विचारमा, निःस्वार्थ सहयोग गर्ने आफ्नो असल बानी छोड्नु हुँदैन। कसैले बैगुन गर्यो भन्दैमा हामी पनि बैगुनी बन्नु हुँदैन। कसैले धोका दियो भन्दैमा हामीले पनि धोका दिनु हुँदैन। कसैले हाम्रो अहित चितायो भन्दैमा हामीले उसको अहित चिताउन आवश्यक छैन। तर यसको अर्थ पटकपटक धोका दिने व्यक्तिलाई फेरि पनि आँखा चिम्लेर विश्वास गरिरहनुपर्छ भन्ने होइन।
क्षमा दिन सकिन्छ, तर विश्वास जोगाउने जिम्मेवारी सम्बन्धित व्यक्तिको पनि हो। शुभकामना दिन सकिन्छ, तर आफ्नो जीवनमा पुनः उही स्थान दिनैपर्छ भन्ने छैन।
नकारात्मक, ईर्ष्यालु, षड्यन्त्रकारी र पटकपटक विश्वासघात गर्ने मानिससँग दूरी कायम गर्नु बुद्धिमानी हो। सम्बन्धका नाममा आफ्नो स्वाभिमान, मानसिक शान्ति र जीवनको अमूल्य समय बलिदान गरिरहनु उचित होइन। आफन्त भएकै कारण सबै व्यवहार सहनुपर्छ भन्ने छैन। साथी भएकै कारण सबै गोपनीयता सुम्पिनुपर्छ भन्ने छैन। गुन लगाएकै कारण उसबाट आजीवन प्रतिगुनको अपेक्षा राख्नु पनि उचित हुँदैन।
अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, समाजमा बैगुनी मानिस मात्र छैनन्। यहाँ धेरै सज्जन, असल, इमानदार, कृतज्ञ र परोपकारी मानिसहरू पनि छन्। दुःखमा साथ दिने, सुखमा रमाउने, अप्ठ्यारोमा हात समात्ने, अरूको सफलतामा खुलेर बधाई दिने र गुनलाई जीवनभर सम्झिरहने मानिसहरूको पनि कमी छैन। केही नराम्रा अनुभवका कारण सबै आफन्त, सबै साथीभाइ र सिङ्गो समाजप्रति अविश्वास पाल्नु हुँदैन। राम्रा मानिसको संगत बढाउनुपर्छ, नराम्रा प्रवृत्तिबाट आफूलाई जोगाउनुपर्छ।
म त भन्छु, आफ्नो गुनको बदला बैगुन गर्ने, आफ्नो प्रगतिमा जल्ने, पछाडिबाट खुट्टा तान्ने र अरूको अहित चिताउने मानिसलाई पनि सराप्ने होइन, भगवान संग उसको सद्बुद्धिका लागि प्रार्थना गरौँ।
हे प्रभु ! यो मानिसको मनमा किन यति धेरै ईर्ष्या, डाह र दुर्भावना भरियो ? यसलाई सद्बुद्धि देऊ। यसको मनबाट अहंकार, द्वेष र कृतघ्नता हटाइदेऊ। यसलाई मभन्दा अझ सफल, अझ समृद्ध र अझ असल बनाइदेऊ। यसले आफ्नो जीवनमा यति धेरै प्रगति गरोस् कि मेरो वा अरू कसैको सफलतामा ईर्ष्या गर्ने फुर्सद नै नपाओस्। यसलाई अरूको खुट्टा तानेर होइन, आफ्नै खुट्टामा उभिएर अगाडि बढ्न सक्ने बनाइदेऊ। अरूको अहितमा होइन, आफ्नै उन्नति र समाजको भलाइमा रमाउन सिकाइदेऊ।
यस्तो प्रार्थना गर्न सक्नु नै मानवीयता हो। यस्तो सोच राख्न सक्नु नै सकारात्मकता हो। किनकि अरूले आफ्नो चरित्र देखाउँछन्, हामीले आफ्नो। अरूले बैगुन गरे भन्दैमा हामीले आफ्नो गुन गर्ने संस्कार मार्नु हुँदैन।
अन्त्यमा, जीवनले सिकाएको एउटा महत्त्वपूर्ण पाठ यही हो-आफ्नोपन रगतको नाताले मात्र निर्धारण गर्दैन, व्यवहारले निर्धारण गर्छ। सँगै फोटो खिच्ने सबै मित्र हुँदैनन्, मीठो बोल्ने सबै शुभचिन्तक हुँदैनन्, नाताले नजिक भएका सबै मनले नजिक हुँदैनन्। कहिलेकाहीँ सात समुद्रपारिको पराइ आफ्नैभन्दा आत्मीय बन्छ भने एउटै घर, परिवार वा नाताभित्रको मानिस पनि व्यवहारले पराइ बन्न सक्छ।
त्यसैले मानिसलाई शब्दले होइन, व्यवहारले चिनौँ। सम्बन्धलाई स्वार्थले होइन, सद्भावले मूल्याङ्कन गरौँ। कसैले सहयोगको मूल्य बुझेन भन्दैमा सहयोगको महत्त्व घट्दैन। कसैले इमानदारीको सम्मान गरेन भन्दैमा इमानदारी कमजोर हुँदैन।
हामी असल बनौँ, असल गरौँ, असल सोचौँ। गुन गर्न नछोडौँ, तर गुन लगाउने मानिस छनोट गर्दा विवेक पुर्याऔँ। कसैको बैगुनले आफ्नो मानवता नमारौँ। नराम्रा मानिससंग दूरी बढाऔँ, राम्रा मानिससँग आत्मीयता बढाऔँ।
किनकि अन्ततः मानिसले कमाएको धनसम्पत्ति, पद वा प्रतिष्ठाभन्दा ठूलो सम्पत्ति उसको चरित्र, असल कर्म र अरूको हृदयमा बनाएको स्थान हो।
गुन बिर्सनेहरू समयसँगै बिर्सिएर जान सक्छन्, तर गुन गर्नेहरूको असल कर्म मानिसको मनमा बाँचिरहन्छ। अरूको प्रगतिमा जल्ने होइन, खुसी हुन सिकौँ। अरूलाई पछाडि तान्ने होइन, आफू अगाडि बढ्न सिकौँ। आफ्नो मनको ईर्ष्या जित्न सक्नु पनि जीवनको ठूलो विजय हो।
मनोविज्ञान र समाजशास्त्रले मानिसको ईर्ष्या, कृतघ्नता र विश्वासघातलाई केवल नैतिक कमजोरीका रूपमा मात्र नभई व्यक्तिको मनोवृत्ति, आत्मसम्मान, सामाजिक तुलना, पारिवारिक संस्कार र सामाजिक सम्बन्धसँग जोडेर व्याख्या गर्छन्।
मनोवैज्ञानिक लियोन फेस्टिङ्गरले सन् १९५४ मा प्रतिपादन गरेको सामाजिक तुलना सिद्धान्त (Social Comparison Theory) अनुसार मानिसले आफ्नो सफलता, क्षमता र सामाजिक हैसियत अरूसँग तुलना गर्ने प्रवृत्ति राख्छ। विशेष गरी आफ्नै नजिकका साथी, आफन्त वा समान पृष्ठभूमिका मानिस अगाडि बढ्दा कतिपयमा प्रेरणाभन्दा हीनताबोध, असुरक्षा र ईर्ष्या उत्पन्न हुन सक्छ। अरूको सफलतालाई आफ्नो असफलता ठान्ने सोच नै समस्याको एउटा प्रमुख कारण बन्न सक्छ।
मनोविज्ञानले अर्को रोचक पक्ष पनि औँल्याउँछ। कहिलेकाहीँ सहयोग पाउने व्यक्तिमा कृतज्ञताको सट्टा आफू अरूमाथि निर्भर भएको अनुभूति, ऋणीपन वा आत्मसम्मानमा चोट पुगेको भावना विकास हुन सक्छ। फलस्वरूप उसले आफ्नै सहयोगीप्रति दूरी, प्रतिरोध वा नकारात्मक व्यवहार देखाउन सक्छ। तर यस्तो प्रतिक्रिया सबैमा हुँदैन। स्वस्थ आत्मसम्मान र सकारात्मक सोच भएका मानिसमा सहयोगले कृतज्ञता र सम्बन्धलाई अझ बलियो बनाउँछ।
समाजशास्त्री एल्भिन गोल्डनरले सन् १९६० मा व्याख्या गरेको पारस्परिकताको सामाजिक मान्यता (Norm of Reciprocity) अनुसार सहयोगको बदला कृतज्ञता र सद्भाव प्रकट गर्नु सामाजिक जीवनको महत्त्वपूर्ण नैतिक आधार हो। जब सम्बन्धमा स्वार्थ, शक्ति, प्रतिष्ठा र व्यक्तिगत फाइदाको हिसाबकिताब हाबी हुन्छ, तब यही पारस्परिकता कमजोर हुन सक्छ। त्यसैगरी समाजशास्त्रमा चर्चित सापेक्ष वञ्चितीकरणको सिद्धान्त (Relative Deprivation Theory) ले मानिस आफू वास्तवमै कति सम्पन्न वा सफल छ भन्नेभन्दा अरूसँग तुलना गर्दा आफू पछाडि परेको महसुसले बढी असन्तुष्ट हुन सक्ने बताउँछ। त्यसैले कहिलेकाहीँ वास्तविक अभावभन्दा तुलनाबाट उत्पन्न असन्तोष नै ईर्ष्याको कारण बन्न पुग्छ।
अनुसन्धानहरूले ईर्ष्याका पनि फरक रूप हुने देखाएका छन्। सकारात्मक ईर्ष्याले मानिसलाई मेहनत गर्न र आफू सुधार्न प्रेरित गर्न सक्छ भने दुर्भावनापूर्ण ईर्ष्याले अरूलाई होच्याउने वा उसको उपलब्धि कमजोर पार्न खोज्ने प्रवृत्ति बढाउन सक्छ। तर ईर्ष्या महसुस गर्नु र त्यसका आधारमा कसैलाई हानि पुर्याउनु फरक कुरा हुन्। व्यवहारको नैतिक जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुन्छ।
यसर्थ मनोविज्ञानले भन्छ, मानिसले आफ्नो तुलना गर्ने तरिका, आत्मसम्मान र भावनालाई व्यवस्थापन गर्न सिक्नुपर्छ। समाजशास्त्रले भन्छ, परिवार र समाजमा कृतज्ञता, पारस्परिक सम्मान, न्याय, विश्वास र सहकार्यको संस्कार बलियो बनाउनुपर्छ।
यसबाट बुझ्नुपर्ने सार के हो भने, मानिसको वास्तविक समस्या अरूको सफलता होइन, अरूको सफलतालाई हेर्ने आफ्नो दृष्टिकोण पनि हुन सक्छ। अरूको प्रगतिबाट प्रेरणा लिन सक्ने मानिस अगाडि बढ्छ, अरूको प्रगतिमै आफ्नो पराजय देख्ने मानिस ईर्ष्या र असन्तोषमा अल्झिन सक्छ। आखिर असल चरित्रको पहिचान अरूभन्दा कति माथि पुगियो भन्नेमा होइन, अरू माथि पुग्दा आफ्नो मन कति फराकिलो राख्न सकियो भन्नेमा पनि हुन्छ।
जे होस्, अशल मानिसले यस्तो भन्न सिकौं – मेरो एउटै कामना छ ‘भवतु सब्ब मंगलंम’, अर्थात् सबैको मंगल होस्, सबैको कल्याण होस्, सबैको भलो होस्। सबैको राम्रो होस्, सबैको जय होस्। मेरा आफन्त, नातेदार, साथीभाइ, शुभचिन्तक, परिचित, अपरिचित सबै सुखी, खुसी, स्वस्थ, सफल र समृद्ध बनून्। अझ विशेष गरी, जसले गुनको बदला बैगुन गरे, सहयोगको बदला असहयोग गरे, विश्वासको बदला विश्वासघात गरे, मेरो प्रगतिमा ईर्ष्या र डाह गरे, पछाडिबाट खुट्टा तान्न खोजे, ती सबैको झन् धेरै राम्रो होस्, झन् धेरै भलो होस्। उनीहरू मभन्दा अझ अगाडि बढून्, अझ सफल बनून्, अझ समृद्ध बनून्। किनकि उनीहरूको ईर्ष्या, विरोध, असहयोग र बैगुनी व्यवहारले मलाई कमजोर बनाएको छैन, बरु जीवन र मानिसलाई अझ गहिरोसँग बुझ्न, आफूलाई सच्याउन, सतर्क हुन, थप मेहनत गर्न र अझ अगाडि बढ्न प्रेरणा दिएको छ। दुःख त लाग्छ, तर त्यही दुःखलाई मैले शक्ति र प्रेरणामा बदल्न सिकेको छु। म कसैको पतनमा आफ्नो विजय खोज्दिनँ, कसैको असफलतामा आफ्नो सफलता देख्दिनँ। मेरो प्रतिस्पर्धा कसैसँग होइन, हिजोको आफ्नै अवस्थासँग हो। म हिजोभन्दा आज र आजभन्दा भोलि अझ राम्रो मानिस बन्न चाहन्छु। त्यसैले कसैप्रति मेरो मनमा प्रतिशोध होइन, सद्भाव रहोस्, घृणा होइन, करुणा रहोस्, ईर्ष्या होइन, शुभकामना रहोस्। मलाई माया गर्नेहरूको पनि जय होस्, मलाई नराम्रो चिताउनेहरूको पनि जय होस्। सबैको उन्नति होस्, प्रगति होस्, कल्याण होस्। कसैको कुभलो नहोस्। भवतु सब्ब मंगलंम !
प्रतिक्रिया