अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छ महिनाभन्दा लामो समयदेखि जारी द्वन्द्वमा अहिलेसम्म १८ जना अमेरिकी सैनिकको ज्यान गएको बताएका छन्। शुक्रबार अलाबामाको मोबाइलमा आयोजित मध्यावधि निर्वाचन केन्द्रित सभालाई सम्बोधन गर्दै उनले अमेरिकी सेनाले ठूलो मूल्य चुकाएको उल्लेख गरे।
ट्रम्पले आफूले यसअघि इरानविरुद्धको उद्देश्य केही साताभित्र पूरा गर्ने बताएको विषयमा पनि स्पष्टीकरण दिए। उनका अनुसार त्यसको अर्थ सम्पूर्ण युद्ध केही सातामै अन्त्य गर्ने नभई इरानलाई परमाणु हतियार विकास गर्नबाट रोक्ने उद्देश्य थियो। उनले अमेरिकी बी २ बमवर्षक विमानमार्फत गरिएको आक्रमणले इरानको परमाणु क्षमतामा गम्भीर क्षति पुर्याएको दाबी गरे।
राष्ट्रपति ट्रम्पले अमेरिकी आक्रमणबाट इरानको सैन्य तथा रणनीतिक संरचनामा भएको क्षति पुनर्निर्माण गर्न वर्षौं लाग्ने दाबी गर्दै तेहरानले पहिले नै सम्झौता गर्नुपर्ने बताएका छन्। उनले अहिले पनि कूटनीतिक सहमति सम्भव रहेको संकेत गर्दै युद्ध “एक वा अर्को तरिकाले” छिट्टै अन्त्य हुने बताएका छन्।
ट्रम्पले युद्ध समाप्त भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेख्य रूपमा घट्ने दाबीसमेत गरेका छन्। उनका अनुसार इरानको अर्थतन्त्र गम्भीर दबाबमा रहेको छ र युद्ध अन्त्य भएपछि ऊर्जा बजारमा ठूलो परिवर्तन आउन सक्छ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको वर्तमान शासन कमजोर हुँदै गएको दाबी गर्दै भविष्यमा त्यसको पतन हुने बताएका छन्। उनले अमेरिकी दबाब तथा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्समाथि परेको आर्थिक र सैन्य दबाबलाई त्यसको कारणका रूपमा प्रस्तुत गरेका छन्।
मध्यपूर्वमा तनाव कायमै रहँदा शनिबार साउदी अरबको राजधानी रियादस्थित तेल केन्द्र नजिक आगलागी भएको खबर पनि सार्वजनिक भएको छ। घटनाको कारण स्पष्ट भइसकेको छैन। पछिल्ला साताहरूमा इरान समर्थित हुथी समूहबाट साउदी ऊर्जा संरचनामाथि खतरा बढेको भए पनि उक्त आगलागीमा उनीहरूको संलग्नता पुष्टि भएको छैन।
अमेरिका र इरानबीच सैन्य तनावसँगै वार्ताको सम्भावना पनि कायमै छ। एकातर्फ सम्झौताको प्रयास भइरहेको छ भने अर्कोतर्फ अमेरिकी प्रशासनले आवश्यक परे थप सैन्य कारबाही गर्न सक्ने संकेत दिइरहेको छ। त्यसैले आगामी केही साता मध्यपूर्वको युद्ध, तेल बजार र अमेरिका इरान सम्बन्धका लागि महत्वपूर्ण हुने देखिएको छ।
प्रतिक्रिया