काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावसँगै चार दिनसम्म परेको अविरल वर्षाले नेपालका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी, पहिरो र डुबानका घटनामा हालसम्म २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता र पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि सुरु भएको भारीदेखि अतिभारी वर्षापछि देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका सयौँ घटना भएका छन्। प्रारम्भिक विवरणअनुसार बाढीका ५३ घटनामा सात जनाको मृत्यु भएको छ भने पहिरोका २५६ घटनामा १४ जनाको ज्यान गएको छ। पहिरोमा चार जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन्।
विपद्ले आवासीय क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। हालसम्म १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ। बाढीपहिरोबाट ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। जोखिममा रहेका विभिन्न जिल्लाबाट करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ।
जाजरकोट, म्याग्दी र बागलुङलगायत केही क्षेत्रमा बाढी तथा पहिरोमा फसेकाहरूको हेलिकप्टरसमेत प्रयोग गरी उद्धार गरिएको छ। सुरक्षित स्थानमा सारिएका नागरिकका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राहत तथा आवश्यक बन्दोबस्ती गरिएको छ।
यसपटकको वर्षाको तीव्रता पनि असाधारण देखिएको छ। पछिल्ला चार दिनमा देशभरका १८६ वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ। सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४.२ मिलिमिटर, कास्कीको पञ्चासेमा ५००.२ मिलिमिटर र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको छ।
सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन निकायले पूर्वसूचना प्रणालीसमेत सक्रिय गरेको थियो। प्राधिकरणका अनुसार अग्रपङ्क्तिमा खटिने निकायलाई पाँच हजारभन्दा बढी सूचना पठाइएको थियो भने बाढीको सम्भावित जोखिममा रहेका क्षेत्रमा आठ लाख १४ हजारभन्दा बढी एसएमएसमार्फत सर्वसाधारणलाई सतर्क गराइएको थियो।
वर्षा कम हुँदै गए पनि पहिरोको जोखिम तत्काल समाप्त नहुने भएकाले भिरालो भूभाग, नदी तथा खोलाको आसपास र यसअघि जमिन चिरिएको क्षेत्रमा विशेष सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्। बेपत्ताको खोजी, अवरुद्ध सडक खुलाउने तथा प्रभावित क्षेत्रमा राहत र उद्धारको काम जारी छ।
प्रतिक्रिया