वासिङ्टन । क्यानडाभर फैलिएको भीषण डढेलोको धुवाँ उत्तरी अमेरिकाका धेरै राज्यमा फैलिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्। ट्रम्पले क्यानडाले आफ्ना वनको उचित व्यवस्थापन नगरेको आरोप लगाउँदै त्यसको असर अमेरिकाले भोग्नुपरेको बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, “अमेरिका फोहोर, प्रदूषित र अस्वस्थ हावाबाट अनावश्यक रूपमा प्रभावित भइरहेको छ।” उनले क्यानडाको “लापरवाही” को जवाफ माग्न आफूले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग प्रत्यक्ष कुरा गर्ने पनि बताएका छन्।
क्यानडाको वन डढेलो सूचना प्रणालीका अनुसार हाल देशभर ८८८ वटा डढेलो सक्रिय छन्, जसमध्ये अधिकांश अझै नियन्त्रणमा आएका छैनन्। ओन्टारियो प्रान्तमै मात्रै १९० भन्दा बढी स्थानमा आगलागी भइरहेको छ।
डढेलोबाट उठेको बाक्लो धुवाँ मिनेसोटा, मिशिगन, पेन्सिल्भेनिया, ओहायो, न्यूयोर्कलगायतका अमेरिकी राज्यमा फैलिएको छ। धेरै स्थानमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेपछि स्वास्थ्य चेतावनी जारी गरिएको छ भने बाहिरी गतिविधि र विभिन्न सार्वजनिक कार्यक्रमसमेत रद्द भएका छन्। केही क्षेत्रमा निःशुल्क मास्कसमेत वितरण गरिएको छ।
ट्रम्पको अभिव्यक्तिपछि क्यानडाले कडा प्रतिक्रिया दिएको छ। ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिका विगतमा क्यालिफोर्नियाको डढेलो र नर्थ क्यारोलिनाको आँधीबेहरीका बेला क्यानडाले सहयोग गरेको स्मरण गराउँदै अहिले आलोचना गर्नुको सट्टा सहयोग पठाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री मार्क कार्नीले पनि जलवायु परिवर्तन विश्वव्यापी समस्या भएको उल्लेख गर्दै यसको जिम्मेवारी क्यानडामात्र नभई अमेरिका सहित सबै देशको भएको बताएका छन्। उनले दुवै देशबीच डढेलो नियन्त्रणमा लामो समयदेखि सहकार्य हुँदै आएको पनि स्मरण गराए।
जलवायु तथा वन विज्ञहरूले भने डढेलोका लागि क्यानडालाई मात्र दोष दिन नमिल्ने बताएका छन्। उनीहरूका अनुसार अत्यधिक गर्मी, कम वर्षा, चट्याङ तथा जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा डढेलोको जोखिम तीव्र रूपमा बढिरहेको छ। साथै, धुवाँ हावाको बहावअनुसार अन्तर्राष्ट्रिय सीमाभन्दा धेरै टाढासम्म पुग्ने भएकाले यसलाई कुनै एक देशको समस्या भनेर मात्र हेर्न नमिल्ने उनीहरूको भनाइ छ।
यस वर्ष मात्रै क्यानडामा करिब ३० लाख हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोबाट नष्ट भइसकेको छ। उत्तरी ओन्टारियोका धेरै स्थानीय समुदाय विस्थापित भएका छन् भने केही बस्ती पूर्ण रूपमा जलेर खरानी बनेको स्थानीय अधिकारीहरूले बताएका छन्। पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा पनि दर्जनौँ डढेलो नियन्त्रणबाहिर रहेको जनाइएको छ।
विश्लेषकहरूका अनुसार डढेलोको धुवाँ, व्यापारिक तनाव र जलवायु परिवर्तनको बहस एकैसाथ चर्किँदा अमेरिका–क्यानडा सम्बन्धमा नयाँ राजनीतिक तथा आर्थिक विवाद सिर्जना हुने संकेत देखिएको छ।
प्रतिक्रिया