दशकौँदेखि मध्यपूर्वको सबैभन्दा बलियो रणनीतिक साझेदार मानिँदै आएको अमेरिका–इजरायल सम्बन्ध अहिले नयाँ मोडमा पुगेको विश्लेषण हुन थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच पछिल्ला महिनाहरूमा देखिएको मतभेद, इरानसँग शान्ति सम्झौताको प्रयास, लेबनान युद्धको विषय र अमेरिकी घरेलु राजनीतिमा बदलिँदो जनमतका कारण दुई देशबीचको सम्बन्धमा पहिलेको जस्तो सहजता नरहेको आकलन विभिन्न अन्तर्राष्ट्रिय विश्लेषकहरूले गरेका छन्।
यद्यपि, वासिङ्टनले इजरायलसँगको दशकौँ पुरानो सुरक्षा साझेदारी अन्त्य गर्ने वा सैन्य सहयोग रोक्ने कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। त्यसैले “अमेरिकाले इजरायललाई छोड्न लागेको” भन्ने दाबीलाई हालसम्म पुष्टि भएको तथ्यका रूपमा होइन, विश्लेषकहरूको अनुमान र राजनीतिक बहसका रूपमा हेरिएको छ।
इजरायलमा भ्रष्टाचारसम्बन्धी मुद्दाको सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु राजनीतिक रूपमा कठिन अवस्थामा छन्। यहीबीच इरानसँग सम्भावित दीर्घकालीन सम्झौता गर्न खोजिरहेको अमेरिकी प्रशासन र लेबनानमाथिको सैन्य कारबाहीलाई निरन्तरता दिन चाहने इजरायली नेतृत्वबीच रणनीतिक मतभेद बढ्दै गएको बताइएको छ।
कूटनीतिक स्रोतहरूका अनुसार इरानले अमेरिकासँगको वार्तामा दक्षिणी लेबनानमा इजरायली सैन्य अभियान अन्त्यलाई प्रमुख सर्तका रूपमा अघि सारेपछि वासिङ्टन र तेल अभिवबीच नीति समन्वय कठिन बन्दै गएको छ।
गत महिना सार्वजनिक भएको एक चर्चित विवरणअनुसार ट्रम्प र नेतन्याहुबीचको टेलिफोन संवाद निकै तनावपूर्ण बनेको थियो। उक्त विवरणलाई अमेरिकी प्रशासनले औपचारिक रूपमा अस्वीकार नगरेपछि त्यसले थप चर्चा पाएको थियो। सो संवादमा ट्रम्पले नेतन्याहुलाई युद्ध विस्तार नगर्न चेतावनी दिएको र अन्तर्राष्ट्रिय स्तरमा इजरायलको छवि कमजोर बन्दै गएको टिप्पणी गरेको दाबी गरिएको छ।
पछि अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ट्रम्पले “नेतन्याहुलाई आफू निर्णयकर्ता को हो भन्ने थाहा छ” भन्ने अभिव्यक्ति दिएपछि दुई नेताबीच सम्बन्ध चिसिएको चर्चा झन् तीव्र बनेको हो।
अमेरिकाले इरानसँग नयाँ सुरक्षा तथा क्षेत्रीय स्थायित्वसम्बन्धी सहमति खोजिरहेको छ। यस प्रक्रियामा लेबनान, होर्मुज जलडमरूमध्य र क्षेत्रीय सुरक्षा व्यवस्थालाई एकीकृत रूपमा समाधान गर्ने प्रयास भइरहेको विश्लेषण गरिएको छ।
यता इजरायल भने इरानमाथि थप दबाब कायम राख्नुपर्ने पक्षमा देखिँदै आएको छ। यही दृष्टिकोणको भिन्नताले दुई देशबीचको रणनीतिक दूरी बढाएको बताइन्छ।
अमेरिकाभित्र पनि इजरायलप्रतिको परम्परागत समर्थनमा परिवर्तन देखिन थालेको छ। हालैका सर्वेक्षणहरूमा विशेषगरी युवा मतदाता र केही रिपब्लिकन समर्थकमाझ इजरायललाई दिइने असीमित सैन्य तथा कूटनीतिक सहयोगप्रति प्रश्न उठ्न थालेका छन्।
ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन (MAGA)” अभियानसँग निकट रहेका केही प्रभावशाली व्यक्तित्वहरूले समेत इजरायलप्रतिको अमेरिकी नीतिको खुला आलोचना गर्न थालेका छन्।
पूर्व टेलिभिजन प्रस्तोता तथा ट्रम्पका पूर्व सहयोगी टकर कार्लसनले अमेरिकाले मध्यपूर्वमा अनावश्यक रूपमा युद्धमा तानिएको आरोप लगाउँदै इजरायलको नीतिले अमेरिकी हितलाई जोखिममा पारेको टिप्पणी गरेका छन्।
राजनीतिक मतभेद बढे पनि अमेरिकाको सुरक्षा सहयोग इजरायलका लागि अहिले पनि जीवनरेखाकै रूपमा रहेको विश्लेषण गरिएको छ।
सन् २०१६ मा भएको १० वर्षे समझदारीअनुसार अमेरिकाले इजरायललाई ३८ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराइरहेको छ, जुन अमेरिकाले कुनै पनि मुलुकलाई दिएको सबैभन्दा ठूलो दीर्घकालीन सुरक्षा सहायता कार्यक्रममध्ये एक हो।
यससँगै संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा पनि अमेरिकाले पटक–पटक इजरायलको पक्षमा आफ्नो कूटनीतिक प्रभाव प्रयोग गर्दै आएको छ।
इजरायलका विपक्षी नेताहरूले नेतन्याहुको विदेश नीतिले अमेरिकासँगको ऐतिहासिक सम्बन्ध कमजोर बनाएको आरोप लगाइरहेका छन्।
पूर्वप्रधानमन्त्री याइर लापिडले वर्तमान सरकारका कारण इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिँदै गएको दाबी गरेका छन् भने पूर्व सैनिक प्रमुख गादी आइजनकोटले नेतन्याहुको कूटनीतिक असफलताका कारण अमेरिका इजरायललाई पन्छाएर इरानसँग प्रत्यक्ष सम्झौता गर्न पुगेको आरोप लगाएका छन्।
इजरायली राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिकाको समर्थन कमजोर भए इजरायलको सुरक्षा, प्रविधि, कूटनीतिक प्रभाव तथा अन्तर्राष्ट्रिय हैसियतमा ठूलो असर पर्नेछ।
विश्लेषकहरूको भनाइमा ट्रम्प प्रशासनले नेतन्याहुसँग असन्तुष्टि देखाएको भए पनि अमेरिका–इजरायलबीचको सुरक्षा साझेदारी तत्काल समाप्त हुने सम्भावना अत्यन्त न्यून छ।
पूर्व अमेरिकी कूटनीतिज्ञ आरोन डेभिड मिलरका अनुसार ट्रम्पले आवश्यक परे इजरायलमाथि दबाब सिर्जना गर्न सक्छन्, तर त्यसको उद्देश्य सम्बन्ध विच्छेद होइन, बरु आफ्नो कूटनीतिक सफलता स्थापित गर्नु हुनेछ।
त्यसैले अहिले देखिएको अवस्था दुई देशबीचको सम्बन्ध अन्त्यतर्फ गएको भन्दा पनि मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलन, इरानसँगको सम्भावित सम्झौता, लेबनान युद्ध र अमेरिकी घरेलु राजनीतिक दबाबका कारण उत्पन्न भएको अस्थायी रणनीतिक तनावका रूपमा बुझ्नुपर्ने विश्लेषकहरूको निष्कर्ष रहेको छ।
प्रतिक्रिया