काठमाडौं । नेपाल योग तथा प्राकृतिक चिकित्सा संघ, नेपालले प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको पक्राउपछि योग तथा प्राकृतिक चिकित्सा (BNYS) अध्ययन, प्राकृतिक चिकित्सकको कार्यक्षेत्र तथा “डा.” उपाधिको प्रयोगबारे विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र जनमानसमा उठेका प्रश्न तथा भ्रमप्रति स्पष्ट पार्न विस्तृत प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।
संघका उपाध्यक्ष डा. दिनेश राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा डा. चेतन पौडेल एक दर्ताप्राप्त प्राकृतिक चिकित्सक (BNYS) तथा जनस्वास्थ्य विज्ञ (MPH) भएको उल्लेख गर्दै उनको तत्काल न्यायिक रिहाइको माग गरिएको छ। साथै प्राकृतिक चिकित्सा क्षेत्रलाई कानुनी तथा संस्थागत रूपमा थप स्पष्ट व्यवस्थापन गर्न सरकारसँग विभिन्न मागहरू अघि सारिएको छ।
संघका अनुसार BNYS (Bachelor of Naturopathy and Yogic Sciences) साढे पाँच वर्षे चिकित्सा शिक्षा (Medical Degree) हो, जसको अध्ययनका लागि विज्ञान संकायमा भौतिकशास्त्र, रसायनशास्त्र तथा जीवविज्ञान विषयसहित कक्षा १२ उत्तीर्ण गरी चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ।
विज्ञप्तिमा भारतका ७० भन्दा बढी मेडिकल कलेजमा BNYS कार्यक्रम सञ्चालन भइरहेको तथा नेपालमा नेपाल संस्कृत विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयले समेत उक्त कार्यक्रमको पाठ्यक्रम स्वीकृत गरिसकेको उल्लेख गरिएको छ। साथै नेपाल सरकारले राजपत्रमार्फत योग तथा प्राकृतिक चिकित्सा मेडिकल कलेज स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्ड तयार गरिसकेको अवस्थामा BNYS अध्ययन गरेका चिकित्सकलाई गैरकानुनी भन्न नमिल्ने संघको तर्क छ।
संघले BNYS अध्ययन पूरा गरेपछि त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि मात्र अभ्यास गर्न पाइने व्यवस्था रहेको जनाएको छ।
प्रेस विज्ञप्तिमा BNYS, MBBS, BHMS तथा BAMS लगायतका स्वास्थ्य विज्ञानका स्नातकलाई सम्बन्धित विश्वविद्यालयहरूले दीक्षान्त समारोहमा “Dr.” उपाधिसहित प्रमाणपत्र प्रदान गर्ने गरेको उल्लेख गरिएको छ।
यस्तो अवस्थामा अन्य स्वास्थ्य विज्ञानका स्नातकले “डा.” उपाधि प्रयोग गर्न पाउने तर BNYS स्नातकलाई त्यसबाट वञ्चित गर्नु न्यायोचित नहुने संघको भनाइ छ। विश्वविद्यालय शैक्षिक उपाधि प्रदान गर्ने निकाय भएको र परिषद् (Council) नियमनकारी निकाय मात्र भएकाले “डा.” उपाधि प्रयोगलाई गैरकानुनी भन्न नमिल्ने संघको जिकिर छ।
संघले नेपाल मेडिकल काउन्सिल (NMC) एलोपेथिक चिकित्सकको नियमनका लागि स्थापना भएको निकाय भएको उल्लेख गर्दै प्राकृतिक चिकित्सा तथा होमियोप्याथीका चिकित्सकहरू हालसम्म नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) मा दर्ता हुँदै आएको जनाएको छ।
विज्ञप्तिमा २०५३ सालको ऐनअनुसार प्राकृतिक चिकित्सक र होमियोप्याथिक चिकित्सक NHPC मा विधिसम्मत रूपमा दर्ता हुँदै आएको तथा राज्यले छुट्टै प्राकृतिक चिकित्सा परिषद् स्थापना गर्न ढिलाइ गरेको कारण चिकित्सकलाई अपराधीकरण गर्न नमिल्ने उल्लेख गरिएको छ।
संघले NHPC अन्तर्गत दर्ता भएका होमियोप्याथी चिकित्सकहरू सरकारी सेवामा समेत “डा.” का रूपमा कार्यरत रहेको उदाहरण प्रस्तुत गर्दै NHPC मा चिकित्सक दर्ता नहुने भन्ने धारणा गलत भएको दाबी गरेको छ।
संघका अनुसार BNYS चिकित्सकले बिरामीको प्रारम्भिक स्वास्थ्य परीक्षण, ल्याब परीक्षण तथा रेडियोलोजिकल परीक्षणको नतिजा अध्ययन गरी रोगको निदान गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
यसका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले जारी गरेको Code of Ethics for Naturopathy Professionals को Scope of Practice अन्तर्गत प्रयोगशाला तथा इमेजिङ रिपोर्टको व्याख्या गर्ने अधिकार उल्लेख गरिएको संघले जनाएको छ।
संघले २०५९ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय तथा नेपाल राजपत्रमार्फत प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीअन्तर्गत समावेश गरिएको स्मरण गराएको छ।
त्यसैगरी नेपालको संविधान २०७२ को धारा ५१(ज), राष्ट्रिय स्वास्थ्य नीति २०७६, नेपाल सरकारका वार्षिक नीति तथा कार्यक्रम तथा मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको १०० बुँदे शासकीय सुधार कार्यक्रमले समेत प्राकृतिक चिकित्साको संरक्षण, प्रवर्द्धन तथा एकीकृत विकासलाई प्राथमिकता दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
संघले विश्व स्वास्थ्य संगठन (WHO) ले प्राकृतिक चिकित्सालाई Traditional, Complementary and Integrative Medicine अन्तर्गत महत्वपूर्ण स्वास्थ्य प्रणालीका रूपमा स्वीकार गरेको जनाएको छ।
त्यस्तै अमेरिका, क्यानडा, अष्ट्रेलिया, जर्मनी, स्विट्जरल्याण्ड, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, भारत लगायत १०० भन्दा बढी देशमा प्राकृतिक चिकित्सा अध्ययन, अनुसन्धान र अभ्यास भइरहेको दाबी गरिएको छ। World Naturopathic Federation (WNF) लाई यस क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिनिधि संस्थाका रूपमा उल्लेख गरिएको छ।
संघका अनुसार प्राकृतिक चिकित्सा केवल औषधिमा आधारित प्रणाली नभई रोग रोकथाम, स्वास्थ्य प्रवर्द्धन, जीवनशैली व्यवस्थापन, पुनर्स्थापना तथा समग्र (Holistic) स्वास्थ्य सेवामा केन्द्रित प्रमाणमा आधारित स्वास्थ्य प्रणाली हो।
नेपाल योग तथा प्राकृतिक चिकित्सा संघले सरकारसमक्ष निम्न प्रमुख मागहरू अघि सारेको छ–
संघले राज्यले स्पष्ट कानुनी संरचना निर्माण गरी प्राकृतिक चिकित्सा क्षेत्रलाई अन्य स्वास्थ्य प्रणालीसरह व्यवस्थित गर्नुपर्नेमा जोड दिएको छ। साथै कानुनी अस्पष्टताका कारण पेशागत रूपमा कार्यरत चिकित्सकलाई अपराधीकरण गर्नु न्यायोचित नहुने निष्कर्ष विज्ञप्तिमा उल्लेख गरिएको छ।


![]()
प्रतिक्रिया