काठमाडौं / नेपाली लोकसंस्कृति, लोकसंगीत तथा मौलिक कला संरक्षणको उद्देश्यसहित सांस्कृतिक संस्थानले आयोजना गरेको ‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ बुधबार राष्ट्रिय नाचघर, जमलमा भव्य समारोहका बीच उद्घाटन गरिएको छ। सांस्कृतिक संस्थानको ५४औँ वार्षिकोत्सव तथा राष्ट्रिय नाचघरको ६७औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित प्रतियोगिताले देशभर छरिएर रहेका लोक प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्ने अपेक्षा गरिएको छ।
नेपाल सरकारअन्तर्गत सजीव कला प्रदर्शनसम्बन्धी प्रमुख तथा ऐतिहासिक संस्थाका रूपमा परिचित सांस्कृतिक संस्थानले नेपाली लोककला, लोकसंस्कृति र विशेषगरी दोहोरी परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको जनाएको छ। प्रतियोगिता असार ३ गतेदेखि सुरु भई असार ५ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रम सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। वरिष्ठ लोकगायक तथा निर्देशक नारायण रायमाझी प्रमुख अतिथि तथा वरिष्ठ लोकगायक, गीतकार, संगीतकार, पत्रकार एवं अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा लोकसंगीत क्षेत्रका वरिष्ठ कलाकार, स्रष्टा, विभिन्न सांस्कृतिक तथा सामाजिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा लोकसंगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा लोकप्रिय लोकगायक राजु परियार, चर्चित गायिका देवी घर्ती तथा कलाकार राजु ढकालले विशेष सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रम सञ्चालन संस्थानका कलाकार रोहित सुवेदीले गरेका थिए भने प्रतियोगिताको प्रत्यक्ष प्रस्तुति वरिष्ठ लोकगायक बद्री पंगेनी र लोकप्रिय गायिका मञ्जु पौडेलले सञ्चालन गरेका थिए।
प्रतियोगिताको मूल्याङ्कनका लागि वरिष्ठ लोकस्रष्टा दुर्गा रायमाझी, चन्द्र शर्मा, गायिका सीता थापा, राधिका हमाल, गायक कृष्ण रेउले तथा स्रष्टाद्वय दीपक खड्का र सुवास केसी निर्णायक मण्डलमा रहेका छन्। वरिष्ठ सांस्कृतिककर्मी तेजबहादुर केसी विशेष निर्णायकको भूमिकामा रहेका छन्।
सांस्कृतिक संस्थानका अनुसार प्रतियोगिताका लागि देशभरबाट २५ समूहले आवेदन दिएका थिए। पहिलो दिन ९ समूहबीच प्रतिस्पर्धा सम्पन्न भएको छ भने बाँकी समूहहरूबीच आगामी दुई दिन प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट हुने समूह तथा प्रतिभाहरूलाई असार ५ गते आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज अधिकारी (गणेश) को उपस्थितिमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै महाप्रबन्धक किरण बाबु पुनले नेपाली लोकसंगीत राष्ट्रको पहिचान, इतिहास र सामाजिक एकताको महत्वपूर्ण आधार भएको बताए। उनले लोकसंस्कृतिको संरक्षण र पुस्तान्तरण राज्यको प्राथमिक दायित्व भएकाले संस्थानले दोहोरी प्रतियोगितालाई आफ्नो नीति तथा कार्यक्रममै समावेश गरी अघि बढाएको उल्लेख गरे।
उनले विगतमा प्राविधिक तथा राष्ट्रिय परिस्थितिका कारण कार्यक्रम समयमै सम्पन्न हुन नसके पनि यस वर्ष वार्षिकोत्सवको अवसर पारेर प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न सकिएको बताए। देशका विभिन्न भूभागबाट आएका प्रतिभाहरूलाई समान अवसर प्रदान गर्दै निष्पक्ष प्रतिस्पर्धामार्फत नयाँ पुस्तालाई लोकसंगीततर्फ आकर्षित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
महाप्रबन्धक पुनले लोकसंगीत क्षेत्रका कलाकार, स्रष्टा र सांस्कृतिक अभियन्ताहरूलाई एकताबद्ध हुन आग्रह गर्दै सिर्जनशील समुदायको नीतिगत चेतना र अधिकार सुनिश्चित गर्न सामूहिक आवाज आवश्यक रहेको धारणा राखे। उनले आफ्नो कार्यकालमा ६७ वर्षको इतिहास बोकेको सांस्कृतिक संस्थानलाई पहिलोपटक नाफामा लैजान सफल भएको उल्लेख गर्दै संस्थागत सुधार, पारदर्शिता र परिणाममुखी व्यवस्थापनले सकारात्मक परिवर्तन सम्भव भएको बताए।

प्रमुख अतिथि नारायण रायमाझीले सांस्कृतिक संस्थानसँग आफ्नो लामो सम्बन्ध रहेको स्मरण गर्दै संस्थानले पहिलोपटक नीति तथा कार्यक्रमकै रूपमा राष्ट्रिय दोहोरी प्रतियोगिता सञ्चालन गरेकोमा खुशी व्यक्त गरे। उनले दोहोरी गीत नेपाली लोकजीवनको अमूल्य सम्पदा भएकाले यसलाई मर्यादित, सभ्य र सांस्कृतिक मूल्यअनुरूप विकास गर्नुपर्ने धारणा राखे। उनले दीप प्रज्वलन, ढिकी कुट्ने परम्परागत विधि तथा गीतमार्फत प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।

विशिष्ट अतिथि रामप्रसाद खनालले आफू लामो समयदेखि अमेरिकामा बसोबास गरे पनि आफ्नो मन र भावना सधैं नेपाली माटो, नेपाली संस्कृति र नेपाली लोकसंगीतमै केन्द्रित रहने बताए। उनले सांस्कृतिक संस्थानको स्थापना कालदेखि नै संस्थाको गतिविधि नजिकबाट नियालेको उल्लेख गर्दै विभिन्न नेतृत्व आए पनि वर्तमान नेतृत्वले संस्थागत सुधार, आर्थिक अनुशासन र सांस्कृतिक पुनर्जागरणका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए।
वरिष्ठ लोकगायक खनालले नेपाली लोकसंगीत विश्वभर फैलिएको भए पनि यसको मौलिकता जोगाउने चुनौती बढ्दै गएको भन्दै राष्ट्रिय दोहोरी प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धा, सिर्जनात्मकता र सांस्कृतिक मर्यादालाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। उनले दोहोरी क्षेत्रमा देखिएका केही विकृति र अस्वस्थ प्रवृत्तिलाई सुधार गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए।
सांस्कृतिक संस्थानमा महा प्रबन्धक भएर आए देखि हाल सम्म किराना बाबु पुन ले गरेका सर्हानिय कामले सांस्कृतिक संस्थानको गरिमा उच्च बनाएको, संस्थान सुधार भएको, नाफामा गएको, सांस्कृतिक क्षेत्रमा संस्थानले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेकोमा कार्यक्रमकै अवसरमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका (International Artists Forum America) का अध्यक्षसमेत रहेका खनालले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनलाई संस्थागत सम्मानस्वरूप विशेष पदक प्रदान गरेका थिए।

लोकसंगीत क्षेत्रका कलाकार तथा स्रष्टाहरूले प्रतियोगिताले नयाँ प्रतिभाको खोजी, संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। सांस्कृतिक संस्थानले आगामी वर्षहरूमा पनि लोकसंगीत, लोकनृत्य तथा मौलिक सांस्कृतिक विधाहरूको संरक्षणका लागि यस्ता राष्ट्रियस्तरका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
लोकगीत र दोहोरी नेपाली समाजको आत्मा तथा सांस्कृतिक पहिचानको जीवित अभिलेखका रूपमा रहेको सन्दर्भमा ‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ लाई नेपाली लोकसंगीत क्षेत्रको नयाँ ऊर्जा, नयाँ पुस्ताको सहभागिता र सांस्कृतिक पुनर्जागरणको महत्वपूर्ण अभियानका रूपमा हेरिएको छ।






























प्रतिक्रिया