हेटौंडा / बागमती प्रदेश का मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले आफ्नो घर तथा सम्बन्धित निर्माण सेवा कार्यालयमा भएको छापाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसप्रति आपत्ति जनाएका छन्।
आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित आफ्नो निवास तथा कार्यालयमा गरेको छापामारीले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आँच पुगेको महसुस भएको बताएका छन्।
विज्ञप्तिमा उनले आफू लामो समयदेखि राजनीतिक जीवनमा सक्रिय रहँदै आएको र हाल बागमती प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सुशासन, पारदर्शिता र इमान्दारिता आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारेका छन्। प्रदेश सरकार सञ्चालनमा खर्च नियन्त्रण, आर्थिक अनुशासन तथा योजनामा पारदर्शिता कायम गर्न निरन्तर काम गरिरहेको पनि उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा शासन सञ्चालन हुनुपर्ने धारणा राख्दै संघीय संरचनालाई मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
तर, सञ्चारमाध्यममा आएको समाचारअनुसार गरिएको छापामारीले आफूलाई पूर्वजानकारी नदिई तथा आफू भौतिक रूपमा उपस्थित हुन नसकेको अवस्थामा गरिएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्ता गतिविधिले सार्वजनिक पदमा रहेका व्यक्तिको प्रतिष्ठामा असर पार्ने बताए।
यद्यपि, उनले संविधान र कानुनअनुसार हुने कुनै पनि अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारेका छन्। साथै, प्रदेशवासी तथा शुभेच्छुकहरूलाई अनावश्यक भ्रममा नपर्न आग्रह गर्दै आफू जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने बताएका छन्।
बानियाँ ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गर्ने बताएका छन्।
सोमबार (वैशाख २१) सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले ललितपुरको हात्तीवनस्थित उनको निवाससहित विभिन्न स्थानमा छापामारी गरेपछि मुख्यमन्त्री बानियाँले यस्तो धारणा व्यक्त गरेका हुन्।
निकट स्रोतका अनुसार, छापामारीबारे जानकारी पाएलगत्तै बानियाँले “म अनुसन्धानमा पूर्ण सहयोग गर्छु, राष्ट्रले थालेको अभियानमा साथ दिनु मेरो जिम्मेवारी हो” भन्ने प्रतिक्रिया दिएका छन्। उनले आफू प्रदेशमा सुशासन र पारदर्शिताका लागि निरन्तर काम गरिरहेको पनि बताएका छन्।
विभागले मकवानपुरको हेटौंडास्थित उनको निवास, बानियाँ निर्माण सेवा (बीएनएस) को कार्यालय, काठमाडौंको नक्सालस्थित भूगर्भ सिमेन्ट र सुन्धारास्थित सम्पर्क कार्यालयमा एकसाथ छापा मारेको जनाएको छ। छापामारीका क्रममा केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको विभाग स्रोतले जानकारी दिएको छ।
अनुसन्धानलाई सहज बनाउन मुख्यमन्त्री बानियाँले कानुन व्यवसायीसँग परामर्शसमेत सुरु गरेको स्रोतको दाबी छ।
विभागका अनुसार उनको केही आर्थिक कारोबार शंकास्पद देखिएपछि अनुसन्धान अघि बढाइएको हो। अहिले यस घटनाले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ भने अनुसन्धानको नतिजाप्रति सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया