भारत सरकारले सन् २०२६ का लागि बहुप्रतीक्षित कैलाश–मानसरोवर तीर्थयात्रा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। भारतको विदेश मन्त्रालय ले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार चीन सरकारसँगको सहकार्यमा यो यात्रा सञ्चालन गर्न लागिएको हो।
मन्त्रालयका अनुसार यात्रा आगामी जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ। कुल २० समूहमार्फत तीर्थयात्रा गराइनेछ, जसमा १० समूह लिपुलेक दर्रा हुँदै र अर्को १० समूह नाथु ला दर्रा हुँदै जानेछन्। प्रत्येक समूहमा ५० जना सहभागी रहने व्यवस्था मिलाइएकाले यस वर्ष एक हजार तीर्थयात्री सहभागी हुन सक्नेछन्।
इच्छुक भारतीय नागरिकहरूले मे १९ भित्र आधिकारिक अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। मन्त्रालयले कम्प्युटर प्रणालीबाट निष्पक्ष छनोट गरिने जनाएको छ।
यसैबीच, भारतस्थित चिनियाँ दूतावास की प्रवक्ता यु जिङ ले २०२६ मा तीर्थयात्रा पुनः सुरु भएकोमा स्वागत जनाउँदै यसलाई “विश्वास र मित्रताको पुल” का रूपमा व्याख्या गरेकी छन्। उनले यस वर्ष एक हजार भारतीय यात्रुलाई सेवा दिन पाउँदा चीन उत्साहित रहेको बताइन्।
तर, यस निर्णयमा नेपालसँग कुनै औपचारिक परामर्श नभएको देखिएको छ। विशेषगरी कालापानी क्षेत्र र लिपुलेक क्षेत्र नेपालको दाबीमा रहे पनि भारतले ती मार्ग प्रयोग गरेर यात्रा सञ्चालन गर्ने निर्णयले कूटनीतिक प्रश्न उठाएको छ। नेपालले यसअघि पनि उक्त क्षेत्रमा भारत–चीनबीच भएको सहमतिप्रति असन्तुष्टि जनाइसकेको छ।
धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने कैलाश पर्वत र मानसरोवर ताल हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्र हुन्। हिन्दू विश्वासअनुसार कैलाश पर्वतलाई भगवान शिव र देवी पार्वतीको निवास मानिन्छ भने जैन परम्परामा यस क्षेत्रलाई मोक्ष प्राप्तिको पवित्र स्थलको रूपमा लिइन्छ।
यसपटकको यात्राले धार्मिक आस्था र क्षेत्रीय कूटनीतिक संवेदनशीलता दुवैलाई पुनः चर्चामा ल्याएको छ।
प्रतिक्रिया