काठमाडौँ / राजधानीको थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती अन्ततः सरकारी पहलमा हटाइएको छ। विगतमा पटक–पटक प्रयास गर्दा स्थानीयको कडा प्रतिरोध र झडपका कारण रोकिने गरेको यो अभियान यसपटक भने शान्त रूपमा सम्पन्न भयो। शनिबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गर्दै प्रशासनले बस्ती खाली गराएको हो।
यसअघि जस्तो विरोध नदेखिए पनि धेरैजसो बासिन्दा मन दुखाउँदै आफ्ना सामान बोकेर बाहिरिन बाध्य भए। सरकारले दुई दिनअघि नै सूचना जारी गर्दै बस्ती खाली गर्न आग्रह गरेको थियो, जसका कारण केही परिवारले पहिल्यै सुरक्षित स्थानतर्फ सर्न थालेका थिए।
शनिबार बिहान काठमाडौँ महानगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले क्षेत्र नियन्त्रणमा लिएपछि डोजर प्रयोग गरेर अस्थायी टहरा हटाउने काम सुरु गरिएको थियो। पाँचवटा डोजर प्रयोग गरी बस्ती पूर्ण रूपमा खाली गरिएको जनाइएको छ।
यो स्थान खाली गराउने प्रयास बालेन्द्र शाह मेयर हुँदा पनि भएको थियो। त्यसबेला स्थानीयको प्रतिरोधका कारण स्थिति तनावग्रस्त बनेको थियो र सुरक्षाकर्मीसमेत घाइते भएका थिए। तर अहिले उनी प्रधानमन्त्री बनेपछि पुरानो योजनालाई कार्यान्वयनमा ल्याइएको देखिएको छ।
बस्ती हटाउने क्रममा मानवीय पक्षलाई पनि ध्यान दिइएको सरकारको दाबी छ। प्रभावित परिवारलाई तत्काल राहतस्वरूप खानाको व्यवस्था गरिएको छ भने पुनःस्थापनाका लागि विभिन्न विकल्प अघि सारिएका छन्। जसमा नागार्जुन (इचंगु) क्षेत्रका आवास युनिट, कीर्तिपुरस्थित सत्सङ भवन, भक्तपुरको बोडेमा रहेको तालिम केन्द्र, साथै खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गा समावेश छन्।
तर प्रभावितहरूको पीडा भने गहिरो देखिन्छ। करिब दुई दशकदेखि त्यहीँ बसोबास गर्दै आएकी रिता नामकी महिलाले आफूहरूलाई पर्याप्त समय नदिइएको गुनासो गरिन्। “हामी कहाँ जाने? परिवार ठूलो छ, बस्ने ठाउँ छैन,” भन्दै उनले आफ्नो बसोबासमाथि डोजर चलेको दृश्य सहन नसकिएको बताइन्।
यसबीच, बस्ती हटाउने क्रममा खानेपानीको पाइप फुट्दा केही क्षेत्रमा पानी आपूर्ति अवरुद्ध भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड का अनुसार माइतीघर, बालाजु र एकान्तकुना क्षेत्रमा अस्थायी रूपमा पानी बन्द गरिएको छ।
उता, उद्धार कार्य पनि सँगसँगै अघि बढाइएको छ। एक आमा र उनका दुई साना बालबालिकालाई सुरक्षित रूपमा दशरथ रंगशालामा राखिएको महानगर प्रहरी प्रमुखले जानकारी दिएका छन्। अन्य केही बासिन्दा भने अझै वैकल्पिक व्यवस्थाको पर्खाइमा बस्ती छाड्न ढिलाइ गरिरहेका छन्।
सरकारले थापाथलीसँगै गौरीगाउँको बस्ती पनि हटाउने जनाएको छ भने आइतबार मनोहरा र सिनामंगल क्षेत्रका बस्तीमा पनि यही अभियान विस्तार गर्ने योजना रहेको छ।











प्रतिक्रिया