मेरो दास हली बनेर उभिए हेर्ने र चिन्ने छु म
ज्यूँदो लास बनी चले वचनमा मेरो निको मान्छु म
मेरो हैकम ठान हिम्मत निको मानेर बस्दिन्छु म
गर्छौ प्रश्न भने र दास नबने आफ्मो कहाँ मान्छु म
तिम्रो दृष्टि छ बाल देख्दछ चुली अग्लो अहंकारको
मेरो दृष्टि अनेक भोग अघिको आरोहको मोहको
मेरो सान दुरुस्त मान छ भने राम्रै छ भन्दिन्छु म
हो विद्रोह गरे र मानव बने मान्छे हुनै दिन्न म
बोल्नेका मुख थुन्छु सुन्दछ भने त्यो कान पड्काउँछु
आँखा झिक्दछु हेर्छ जो मगजले सोचे गजो हाल्दछु
मेरै चाल चले उही पथ हिँडे राम्रो छ भन्दिन्छु म
भै स्वाधीन हिँडे सुदास नबने त्यो पाइला रोक्छु म
चाहे दूर्जन ठानियोस् खल बनूँ आफैँ स्वयम्भू छु म
मुठ्ठीमा छ धरा र यो अवनिको माली स्वयम् ठान्छु म
रौँ मात्रै पनि खोसिए थरहरी संसार पार्नेछु यो
मेरो हैकम भोग भाग नभए सिद्धिन्छ संसार यो
हर्दै वाल र वृद्द प्राण अदनाको ताज पैह्रन्छु म
मारी मानवता र न्याय निचरी आदर्श कुर्लन्छु म
कुल्ची सत्य समानता र जनको नाच्ने नलीहाडमा
मेरा साथ निहूँ नखोज नभए पोल्नेछु आगो हुँ म
मैले घस्न परे स्वभष्म शिरमा भैदिन्छु भष्मासुर
मेरो जे छ सबै डढे र नरहे केही कहाँ छाड्छु र
बोल्नेका मुखको म बन्दछु स्वयम् ठेडी कहाँ छोड्छु म
यो ऐश्वर्य सुदीन सिद्दिन गए स्वाहा सबै पार्छु म
प्रतिक्रिया