इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कडा शब्दमा आक्रमण गर्दै उनलाई “अपराधी”को संज्ञा दिएका छन् र इरानमा दशकौँयताकै सबैभन्दा घातक बनेका विरोध प्रदर्शनहरूका पछाडि अमेरिकाको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार खामेनेईले भनेका छन्, “पछिल्लो इरानविरोधी षड्यन्त्र यसअर्थमा फरक थियो कि यसमा अमेरिकी राष्ट्रपति स्वयं प्रत्यक्ष रूपमा संलग्न भए।” रॉयटर्सले उद्धृत गरेको यो अभिव्यक्ति पछिल्लो समय इरानी सरकारद्वारा दोहोरिँदै आएको अमेरिकी संलग्नताको आरोपकै निरन्तरता हो, जहाँ तेहरानले आन्तरिक अस्थिरताका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहराउँदै आएको छ।
इरानमा गत डिसेम्बरको अन्त्यदेखि सुरु भएका विरोध प्रदर्शनहरू प्रारम्भमा आर्थिक समस्याका कारण सुरु भए पनि छिट्टै सरकारविरोधी व्यापक आन्दोलनमा रूपान्तरण भएका थिए। ती प्रदर्शनहरूलाई सुरक्षा निकायले कठोर रूपमा दबाउने प्रयास गर्दा ठूलो संख्यामा मानवीय क्षति भएको बताइन्छ। मानवअधिकार संस्थाहरूका अनुसार हजारौँ प्रदर्शनकारी मारिएका छन्। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ नामक संस्थाले शुक्रबारसम्म मृतक संख्या ३,०९० पुगेको जनाएको छ। यो संख्या पछिल्ला दशकहरूमा इरानमा भएका कुनै पनि आन्दोलनभन्दा बढी भएको र सन् १९७९ को क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ।
यसैबीच, इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले अमेरिकी पत्रकार ब्रेट बेयरसँगको अन्तर्वार्तामा कम्तीमा १२ हजार मानिसको ज्यान गएको दाबी गरेका छन्। यद्यपि यी तथ्यांकबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रदर्शनकारीप्रति समर्थन जनाउँदै आएका छन् र आवश्यक परे शासन परिवर्तनसम्मको कुरा उठाएका छन्। केही रिपब्लिकन सांसदहरूले त सैन्य कारबाहीको विकल्पसमेत खुला रूपमा अघि सारेका छन्। ट्रम्पले मंगलबार इरानी सरकारसँगका सबै सम्पर्क तोडेको घोषणा गर्दै, प्रदर्शनकारीको हत्या रोकिने अवस्था नआएसम्म कुनै वार्ता नहुने बताएका थिए। उनले इरानी जनतालाई “देशको नियन्त्रण आफैँ लिन” आह्वानसमेत गरेका छन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानमाथि आक्रमण नगर्ने निर्णय अरूले होइन, आफूले नै गरेको बताएका थिए। उनले इरानमा तय भएका सामूहिक फाँसीहरू रोकिएको दाबी गर्दै त्यसलाई सकारात्मक संकेतका रूपमा प्रस्तुत गरे। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा लेखेका छन्, “हिजो हुने तय भएका ८०० भन्दा बढी फाँसीहरू इरानी नेतृत्वले रद्द गरेको तथ्यलाई म अत्यन्त सम्मान गर्दछु। धन्यवाद।” तर उनले ती जानकारी कसरी र कससँगबाट प्राप्त गरे भन्ने स्पष्ट छैन।
ह्वाइट हाउसकी प्रेस सचिव करोलाइन लेभिटले पनि पत्रकारहरूलाई इरानलाई स्पष्ट सन्देश दिइएको बताउँदै, हत्या जारी रहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिइएको र तय भएका फाँसीहरू रोकिएको जानकारी राष्ट्रपति समक्ष आएको दाबी गरेकी छन्। यद्यपि ८०० फाँसी एकै दिन रोकिएको हो कि लगातार दुई दिनसम्म यति नै संख्यामा फाँसी स्थगित गरिएको हो भन्ने विषय अझै अस्पष्ट छ।
यसै क्रममा, इरानी सरकारी रेडियोमार्फत प्रसारित आयातोल्लाह अहमद खातामीको प्रवचनले जुम्मा नमाजमा सहभागी भीडलाई उत्तेजित बनाएको थियो। “हथियारधारी पाखण्डीहरूलाई मृत्युदण्ड दिनुपर्छ” भन्ने नारासमेत सुनिएको बताइएको छ। इरानको एक्स्पर्ट्स सभा र गार्डियन काउन्सिलका सदस्य खातामीले प्रदर्शनकारीलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका “नोकर” र “ट्रम्पका सैनिक” भन्दै ती नेताहरूले “कठोर बदला” भोग्नुपर्ने चेतावनी दिएका थिए।
खामेनेईले शनिबारको सम्बोधनमा पछिल्लो अशान्तिमा हजारौँ मानिस मारिएको स्वीकार गर्दै “केही अमानवीय र बर्बर तरिकाले” ज्यान गएको उल्लेख गरे पनि त्यसको दोष “विद्रोही र षड्यन्त्रकारी” माथि थोपरे। उनले अमेरिकालाई इरानमा भएको “मानवीय क्षति, विनाश र बदनाम”का लागि जिम्मेवार ठहराउँदै ट्रम्पलाई पुनः “अपराधी” भनेका छन् र अमेरिकालाई जवाफदेही बनाइनुपर्ने धारणा राखेका छन्।
यसबीच, इरानी सरकारका अनुसार यी प्रदर्शनहरू विदेशी शत्रुहरूले उक्साएका “दंगा” मात्र हुन्। प्रदर्शनकारीमाथि घातक बल प्रयोग गरिएको, इन्टरनेट तथा सञ्चार सेवा प्रायः पूर्ण रूपमा बन्द गरिएको कारण पछिल्ला दिनका घटनाक्रमबारे स्पष्ट जानकारी बाहिर आउन सकेको छैन। केही दिनयता अशान्ति कम भएको भनिए पनि अवस्था अझै अनिश्चित छ।
ट्रम्पले बुधबार “इरानमा हत्या रोकिएको जानकारी पाएको” बताएका थिए तर सैन्य कारबाहीको विकल्प पूर्ण रूपमा खारेज नगरेको पनि स्पष्ट पारेका छन्। उनका यी अभिव्यक्ति अमेरिकाले कतारस्थित अल–उदेइद हवाई अड्डाबाट केही सैन्य तथा कूटनीतिक कर्मचारी फिर्ता बोलाएपछि आएका हुन्। अमेरिकी र बेलायती दुवै पक्षले कर्मचारी संख्या घटाएको पुष्टि गरेका छन्। सीबीएस र बीबीसीलाई अमेरिकी अधिकारीहरूले यो कदमलाई “सावधानीका रूपमा लिइएको आंशिक फिर्ती” भनेका छन्।
प्रतिक्रिया