मेरा मित्रहरू मेरो छेवैमा बस्दछन् अनि
गुनासा प्युँदछन् खान्छन् गुनासै पोख्दछन् पनि
“बिहानी भैसक्यो भन्थे देखिँदैन कतै पनि ?”
भन्छन् चिच्याउँछन् रुन्छन् देखाउँछन् व्यथा पनि ।
आँखामा वेदना भर्छन् आँतमा क्रोध भर्दछन्
वितृष्णा मनमा भर्छन् शब्दमा रोष भर्दछन्
औँला ठड्याउँछन् बोल्छन् चर्को स्वर गरी गरी
“त्यो खाते ! दुष्ट ! हत्यारा ! चुसाहा ! भ्रष्ट ! पातकी !”
म देख्छु तिनमा पीडा छट्पटी पनि उत्तिकै
उत्तेजित असन्तुष्ट आक्रोशित निकै निकै
हो साथी ! वेदना तिम्रो सच्चा छ घामझैँ तर
काँडामा पनि फुल्दै छन् फूल सुन्दर, हैन र ?
हो चारैतिर दुर्गन्ध फैलिएको छ डङ्गुर
दुर्गन्ध सुँघ्नुले मात्र फैलिएला सुगन्ध र ?
हो “विजेता”हरू भन्ने धेरै कृतघ्न छन् तर
धारे हात उचाल्दैमा समस्या हल हुन्छ र ?
जान्यौँ आलोचना गर्न बुझ्यौँ धेरै कुरा तर
बुझेकै भरमा मात्रै भूमि उर्वर बन्छ र ?
हो दरिद्र भयौँ हामी ठगिँदै छौँ निरन्तर
परन्तु आँसु झार्दैमा गरिबी दूर हुन्छ र ?
हो विश्वास ढले केही के हामी पनि ढल्दिने ?
हो आस्था टुक्रिए केही के हामी पनि टुक्रिने ?
मृत्युले जिन्दगीलाई अन्माएको कहाँ छ र ?
रातले घामको न्यानो जन्माएको कहाँ छ र ?
किन सोच्छौ “कुनै छैनन् समाधान यहाँ दिन ?”
“मरिसके सबै मान्छे ” जस्तो सोच्छौ तिमी किन ?
मरेको छैन हो मान्छे ! भ्रम यो कसरी पर्यो ?
तिमी ज्युँदै म ज्युँदै छौँ ! खै मान्छे कसरी मर्यो ?
समस्या भन्नु नै हुन्छ्न् समाधान निमित्तमा
ज्युँदा मान्छेहरू भिड्छन् समस्यासित निर्मम
मुर्दा चिहानमा बस्छन् ज्युँदा बनाउँछन् घर
आँसुमा बरु पौडिन्छन् रुँदैनन् क्रान्तिका स्वर !
आउनोस् बदलौँ राष्ट्र बदलिऔँ स्वयं पनि
गरेमा गर्न चाहेमा नहुने के कुरा छ नि ?
आयु सीमित हाम्रो छ, अनिश्चित छ जीवन
गरौँ यो जिन्दगीलाई राष्ट्रनिम्ति समर्पण !
प्रतिक्रिया