मलाई अल्पायुमा छोडी जाने मेरो मुटुका दुई पाटा दिवंगत छोराहरु’
आशा त थियो तिमीहरु मेरै साथमा सदैव हुनेछौ तर मेरो दुर्भाग्य! तिमीहरु मेरो कोखबाट जन्मेपनि हुर्केपनि मेरो भाग्यमा त्यो दिन देख्न लेखेको रहेनछ! जेष्ट सुपुत्रको रुपमा कुमार जन्मियौ, खुसीको सिमा रहेन असारको महिना थियो। भारि जीउले गाईगोठको हिलो छोप्न हिलाम्यै भुइमा पल्टेकी सुत्केरी गाईको स्याहार गरेर एउटी सुत्केरीको आशिस थाप्न सोतरको बढेमा डोको बिसाएकै केहिछिनमा तिम्रो यस पृथ्वीमा आगमन भएको थियो। जतिसुकै प्रशवपीडा भएपनि आफ्नो भविष्य आफ्नो कोखको मोती हेर्दा आनन्द विभोर भएकी थिएँ। कमजोरीले र तिम्रो आगमनले गर्दा गदगदले धेरै बेर कम्पन भएथ्यो स-शरीर।
खुशीको उत्कर्ष थियो हाम्रो घरमा! यसरि दिनहरु बित्दै गए। ३ बर्षपछी पुष ५ गते धान्यपुर्णिमाको दिन बलरामको पनि आगमन भएथ्यो। ज्योतिषले तिमीहरुको चिना लाउदै भन्नुभयो, “कुमारले सम्पूर्ण परिवारको पालनपोषण गर्नेछ, सबैलाई मान गर्नेछ। अरुको मुनि कामगर्न रुचाउदैन। हरेक कामको नेतृत्व आफैले गर्न रुचाउछ। यो बाबु सिंह राशिको हो र स्वभाव पनि सिंहको जस्तै हुनेछ।” बललाई झन् यो केटो यस घरको कुलदीप हुनेछ र देशबिदेशमा नाम राख्नेछ। अत्यन्तै हर्ष लग्यो। तिमीहरु दाजुभाइ आँगनमा नाँच्दा हामी सबै हर्षले बिभोर हुन्थ्यौं अनि तिमीहरुको झूमाईको तालमा हास्थ्यौ। कहिलेकाही तिमीहरुलाई सानो चोट लाग्दा छाती चिरिन्थ्यो, त्यसैले हेरचाह गरी रहन्थ्यौं। दिन प्रति दिन समय बित्दैगयो। तिमीहरुको उचाई अनि आकार बढे स्कुल जान थाल्यौ। मेरो आँखाले तिमीहरुकै बाटो हेरिरहन्थ्यो। ४ बजेसम्म घरघरी तिमीहरु आउने बाटो नियालिरहन्थे। जब तिमीहरु देखिन्थ्यौ तव मेरो शरीरमा एकप्रकारको खुशीको तरङ्ग संचारित हुनेगर्थ्यो। पालैपालो झ्याम्म अंगालो मार्दै तिमीहरुलाई चुमी रहन्थें।
सुखमा पनि दु:खमा पनि तिमीहरुमा नै भविष्य हेर्दै रमाई रह्यौं। पछी भाइबहिनी पनि जन्मिय। तिमीहरुको भन्दा उनीहरुको उमेर फरक भएकाले ति साना भाइबहिनीहरुलाई सदैव तिमीहरु नुहाई दिने, कपडा लाईदिने, कपाल कोर्ने, खाना खुवाउने गर्दथ्यौ। आफैले पालैपालो भाइबहिनी बोकी स्कुल लग्ने गर्दा हामीलाई संसारको कुनै दु:खले छोलाजस्तो लागेन। आफुमात्र यस संसारको सुखी मानिस रहेछु भन्ने लाग्थ्यो। झन पछी तिमीहरुले स्कुल जानुअघि र उताबाट फर्केपछि स्कुल ड्रेस नै नफुकाली बाबालाई पसलामा सघाउथ्यौ। म गदगद हुन्थे खुशीले! भोकले चुरभई आएका तिमीहरु मैले दिउसो देखि बनाएको खाजा पनि नखाई जिम्मेवारी निभाउंदा पुन:हर्षले बिभोर हुन्थे। जेजेसो भएपनि समय रोकिएन। तिमि दुई ठुला भयौ। उच्चा शिक्षाको लागी गर्वसाथ दाजुभाइ आ-आफ्ना कलेज जाँदा र आउदा हे भगवान! संसारमा सबैजना मजस्तै सुखि हुन भन्दै अकासतिर हेर्दै बिधातालाई नमन गरी हात जोड्थें। अध्ययन पछी कुमार पर्यटन ब्यबसायमा लाग्यौ। तिमीले पहिलोपटक आफ्नो इमान्दारीसाथ कमाएको रकम १ हप्ताको रु २५००० बाबालाई दिएको देख्दा मेरो देस कति सम्पन्न रहेछ भन्ने लाग्यो। तैपनि यँहा हाम्रा भाइ छोराहरु किन बेरोजगार भएका होलान भन्ने लाग्यो। तिमीलाई पर्यटन व्यवसायमा त्यसबेला प्रवेश गराउने श्री सुरेश महर्जनलाई र उनीहरु कार्यरत सुर्य ट्राभलको म सदैव आभारी रहनेछु।
प्यारो छोरा बलराम तिमि सन २००४ को जुलाई ३० मा अमेरिका जाँदा बाबाले र दादाले तिमीलाई काकाको कारमा एरपोर्ट लग्दा विह्वल भएको म तिम्रा साथीहरुका आँखामा आसुँ देख्दा तिमीलाई टाढा पठाउदा रोहिरहेको म यत्रो मान्छेहरुको मायाँ पाउन सफल छोराकी आमाले आँशु झार्नु हुन्न भन्ने लाग्यो र आफुलाई नियन्त्रण गरें। सकेसम्म तिम्रा साथीहरुलाई पनि आफैले नरोउ कान्छु बल छिट्टै आउछ भन्दै उनीहरुको आँशु पुछेर उनीहरुको निधारमा पालैपालो चुमेको थिएँ। झन बलु तिम्रा साथीहरुले मामु भन्दै मलाई अगालोमा भर्दा मेरो साथमा धेरै बलराम छन् भन्ने लग्यो। तिमीलाई एरपोर्टमा छोडेर अँध्यारो अनुहार लगाएर फर्केका तिम्रा बाबा र कुमारलाई ए लाहुरेहरु किन निराश हँ! भनेको हिजो मात्रै जस्तो लाग्छ। तिमि टाढा भएकोमा निराश भैरहदा र समय बित्दै जाँदा कहिले बलले उप-राष्ट्रपती सम्मान पायो रे! कहिले राष्ट्रपति सम्मान पायो रे! कहिले अमेरिकाको युनिभर्सिटी टप गर्यो रे! भन्दा म आमाको खुट्टा भुईमा हुन्थेन। गर्वले कुमार, स्वती, कान्छु र तिम्रा बाबालाई चुमीरहन्थे। छोरा कुमार! तिमीले हाम्रो घर अगाडिको बाटो पर्यटकहरुको लर्को ल्याइरहदा अनि “माई मम एंड पापा” भनेर सबै पर्यटकहरुलाई भन्दा सबैजनाले हामी छेउ बस्दै हामीलाई अंगालो मार्दै फोटो खिज्दा कुन आमा खुशीले पागल हुन्नन र! झनै तिमीले हजुरबा हजुरमालाई जो (८४ र ७८ बर्षका हुनुहुन्थ्यो) के छ ठिटाठिटी तपाईंहरुको बिबाह गरिदिउ भन्दै दुबैको गाला मुसार्थेयौ।
हजुरबुवा र हजुरआमाले “नक्कले बजिया” भन्दै तिम्रो कान समाउनुहुन्थ्यो। कहिलेकाँही तिमि बाहिरबाट घर अउना ढिला हुँदा तिम्रा भाइबहिनी टोलाईरहन्थे मानौं यिनीहरु पानी बिनाका माछा हुन। हामी भन्दा पनि उनीहरुको मानसपटलमा तिमिनै तिमि छाएका हुन्थ्यौ। अचानक!!! सन् २००८ डिसेम्बर २९ को औंशीको कालोरात्री बिनाग्रहण हाम्रो संसारको कालोग्रहण भयो। त्यो दिन रातिको सवा दस बजे संचारग्राम अगाडी तिम्रो मोटरसाईकल दुर्घटनामा परि मृत्यु भयो। उफ! कहिलेकहिँ जवान युवायुवतीको मृत्यु देखेर आर्यघाट वारी घन्टौं बसी रहने म। आज मेरो मुटूको यो दुर्दशा!!! मेरो बाबा, मेरो मुटु अब तिमि कहाँ छौ!! किन म जन्मदिने आमालाई र घरका सबैलाई टुहुरो बनाई गएको मेरो सर्वात्मा!! भनन तिमि काँहा छौ? काँहा?? काँहा??? प्यारो छोरा! तिमि मलाई छोडी गयौ तर मेरो ज्ञानीपुत्र तिम्रो स्वर्ग मै बास होस!! बिपतमा परेको म र मेरो परिवार। भताभुङ्ग भएको सपना! सबैको सहारा बलु! दादा गए पछी मलाई पाल्छु भन्ने मेरो कालु!! सदैव शान्त रही हाँसी रहने, मेरो बुद्ध !! परोपकारी भावना बोकेको महान आत्मा, मेरो सपना बिदेशमा शिक्षाको माध्यमले मेरो दुधको इज्जत राखी रहेको मेरो छोरा !! २००९ अक्टुबर ३ कोजाग्रत पुर्णिमाको मध्यरातले पराईमुलुकको मैदानमा तिम्रो ज्यान गयो ?? हे!पापी दैव!!! मैले के बिराएँ, मेरो मुटु पटक पटक चिरिस?? किन?? किन? चिरिस!
अहिले तिमीहरुलाई श्रद्दान्जली स्वरूप स्थापना गरिएको “लक्ष्मी प्रतिष्ठान” ले सत्रबर्ष पुरागरेको छ । तिमीहरुलाई सम्झि जीवन र जगतको यथार्थ बुझेर मनन गर्दा जन्म पछिको मृत्युको अस्तित्व स्वीकार्नुको विकल्प नहुने रहेछ। जतीसुकै पीडा भएपनि सहनै पर्ने रहेछ! तर तिमीहरुसँग सुखद दिन बिताउन मैले गरेको कल्पना अधुरो छ। त्यसैले तिमीहरुको यादमा यस पृथ्वीका अन्य भाइबहिनीहरुको,दिदिदाजुहरुको र आमाबुबाहरुको अनुहारमा तिमीहरुको बिम्ब खोज्दै छौं। कमजोर बर्गलाई सक्षम बनाई तिमीहरुले छोडिगएका बाँकी काम पुरागर्न कोसिस गर्दैछौं। जीवनभर खासै दु:ख नगरेका तिमीहरुका बाबा मलाई समेत आफ्नो साधनमा बोकेर गाउँ-गाउँका कुना-कुनासम्म पुग्दै तिमीहरुको बिम्ब हजारौमा खोज्दै हुनुहुन्छ, जसमा तिम्रा दाजु अर्जुन, तिम्रा भाइबहिनीहरु अनि तिमीहरुका सच्चा साथीहरुले सघाई रहेकाछन। कामना गर्छे ,हामी यो अभियान पुरागर्न सफल हुन सकौ! आशा छ तिमिहरु दुवैजना स्वर्गमा रही भगवान भयौ होला!!”लक्ष्मी प्रतिष्ठान” ले तिमीहरुले छोडेका बाँकि कामहरु गर्न सकोस! हामीलाई आशिर्वाद दिनु। सृष्टिको अर्को चक्रमा मिलेछ भने फेरी मेरै कोखमा जन्म लिन आउनु। यो जन्ममा त तिमीहरुसँग दिन विताई तिमीहरुको काखमा देह त्याग सम्भव भएन अर्को जन्ममा पुरा गर्नुछ। धेरै-धेरै तृष्णा बाँकिनै छ!! अनि सबैजना तिमीहरुले देखेको नेपाल सुन्दर, शान्त र समुन्नत बनाऊला अनि यहि देशका कुना कन्दरा दर्शन गर्न जाउला!! पुन: मेरै कोखमा जन्म लिन आउनु है !!
तिमीहरुको यादमा
आमा
लक्ष्मी गौतम
प्रतिक्रिया