मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रुसलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानजनक व्यवहार गरियो भने युक्रेनपछि अर्को कुनै युद्ध नहुने दाबी गरेका छन्। युरोपेली देशहरूमाथि रुसले आक्रमण गर्ने योजना बनाएको भन्ने पश्चिमा दाबीलाई उनले “बेतुकको र निराधार” भन्दै अस्वीकार गरेका छन्।
रुसी सरकारी टेलिभिजनबाट प्रत्यक्ष प्रसारित करिब साढे चार घण्टा लामो “डाइरेक्ट लाइन” कार्यक्रममा बीबीसीका रुस सम्पादक स्टीभ रोजेनबर्गको प्रश्नको जवाफ दिँदै पुटिनले यस्तो धारणा राखेका हुन्। रोजेनबर्गले युक्रेनमा जारी युद्धलाई पुटिनले प्रयोग गर्दै आएको शब्दावली प्रयोग गर्दै “के युक्रेनपछि अर्को ‘विशेष सैन्य कारबाही’ हुनसक्छ?” भन्ने प्रश्न गरेका थिए।
यसको जवाफमा पुटिनले भने, “यदि तपाईंहरूले हामीलाई सम्मानपूर्वक व्यवहार गर्नुभयो र हाम्रो हितलाई पनि त्यही रूपमा सम्मान गर्नुभयो, जस्तो हामी सधैं तपाईंहरूको हितलाई सम्मान गर्ने प्रयास गर्छौं, भने कुनै थप सैन्य कारबाही हुँदैन।”
उनले विशेषगरी उत्तर अटलान्टिक सन्धि संगठन (नेटो) को पूर्वतर्फ विस्तारप्रति कडा असन्तुष्टि जनाए। सन् १९९० मा सोभियत संघ पतनको सन्दर्भमा पश्चिमी देशहरूले तत्कालीन सोभियत नेता मिखाइल गोर्बाचेभलाई दिएको वाचा उल्लंघन गरिएको आरोप पुटिनले पुनः दोहोर्याए। “यदि नेटोको विस्तारमार्फत हामीलाई धोका दिइएन भने थप आक्रमणको प्रश्नै उठ्दैन,” उनले भने।
यसै महिनाको सुरुमा पनि पुटिनले रुसले युरोपसँग युद्ध गर्ने कुनै योजना नबनाएको तर यदि युरोपेली देशहरूले चाहेको खण्डमा रुस “अहिल्यै प्रतिकार गर्न तयार” रहेको चेतावनी दिएका थिए।
रुसी सरकारी टिभीका अनुसार उक्त कार्यक्रमका लागि देशभरबाट ३० लाखभन्दा बढी प्रश्नहरू प्राप्त भएका थिए। कार्यक्रममा विदेश नीति, अर्थतन्त्र, सामाजिक सेवा, इन्टरनेट अवरोध, खानेपानीको गुणस्तरदेखि मूल्यवृद्धिसम्मका प्रश्न उठाइएका थिए। केही दर्शकका आलोचनात्मक टिप्पणीहरू पनि ठूलो पर्दामा देखाइएका थिए, जसमा कार्यक्रमलाई “सर्कस” भनिएको टिप्पणीसमेत समावेश थियो।
कार्यक्रमकै क्रममा रुसको कमजोर बन्दै गएको अर्थतन्त्रबारे पनि प्रश्न उठे। मूल्यवृद्धि नियन्त्रण र भ्याट वृद्धि रोक्न माग गरिएको थियो। पुटिन सम्बोधन गरिरहेकै बेला रुसको केन्द्रीय बैंकले ब्याजदर घटाएर १६ प्रतिशतमा झारेको घोषणा गरेको थियो।
युक्रेन युद्धको विषय भने कार्यक्रमभरि नै केन्द्रमा रह्यो। पुटिनले युद्ध “शान्तिपूर्ण रूपमा” अन्त्य गर्न आफू तयार र इच्छुक रहेको दाबी गरे पनि सम्झौताका सर्तमा भने खासै लचकता देखाएनन्। उनले सन् २०२४ को जुनमा राखेका अडान पुनः दोहोर्याउँदै युक्रेनी सेनाले रुसले आंशिक रूपमा कब्जा गरेका चार क्षेत्र छाड्नुपर्ने र किएभले नेटो सदस्यता प्रयास त्याग्नुपर्ने माग दोहोर्याए।
रुसको प्रमुख मागमध्ये युक्रेनको पूर्वी डोनबास क्षेत्रमाथि पूर्ण नियन्त्रण पनि रहेको छ, जहाँ डोनेत्स्क क्षेत्रको करिब २३ प्रतिशत भूभाग अझै युक्रेनको नियन्त्रणमा छ।
उक्त कार्यक्रम सकिएको केही घण्टामै युक्रेनी अधिकारीहरूले दक्षिणी ओडेसा क्षेत्रमा रुसी मिसाइल आक्रमण हुँदा सात जनाको मृत्यु र १५ जना घाइते भएको जानकारी दिएका थिए। उल्लेखनीय छ, युक्रेनमाथि रुसी पूर्ण सैन्य आक्रमण सन् २०२२ को फेब्रुअरीमा सुरु भएको थियो, जुन युद्ध अझै निर्णायक मोडमा पुगेको छैन।
प्रतिक्रिया