ढाका । बंगलादेशमा कथित ईश–निन्दाको आरोप लगाउँदै एक हिन्दू युवकलाई भीडले कुटपिट गरी हत्या गरेको छ । माइमेनसिंह सहरमा भएको उक्त घटनामा २५ वर्षीय दिपु चन्द्र दासको ज्यान गएको हो । उनी एक कारखानामा काम गर्ने मजदुर थिए । स्थानीय सञ्चारमाध्यम बाङ्ला ट्रिब्युनका अनुसार बिहीबार राति (डिसेम्बर १८) दासमाथि ईश–निन्दा गरेको आरोप लगाउँदै कारखानाबाहिर भीडले आक्रमण गरेको थियो । कुटपिटपछि उनलाई रुखमा झुण्ड्याइएको र त्यसपछि शवलाई ढाका–माइमेनसिंह राजमार्ग किनारमा फालेर आगो लगाइएको प्रहरीले जनाएको छ । घटनापछि राजमार्गको दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको थियो ।
भालुका मोडल प्रहरी चौकीका इन्स्पेक्टर (अनुसन्धान) अब्दुल मालेकका अनुसार प्रहरीले घटनास्थलबाट शव उद्धार गरी पोस्टमार्टमका लागि माइमेनसिंह मेडिकल कलेजको शवगृहमा पठाएको छ । घटनाले क्षेत्रमा तनाव सिर्जना गरेको र अवस्था नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा बनाइएको उनले बताए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि आक्रोश अझ बढेको देखिएको छ ।
यस घटनाप्रति बंगलादेशको अन्तरिम सरकारले कडा निन्दा गरेको छ । शुक्रबार जारी विज्ञप्तिमा सरकारले “नयाँ बंगलादेशमा यस्ता हिंसात्मक गतिविधिका लागि कुनै स्थान छैन” भन्दै दोषीहरूलाई कडा कारबाही गरिने स्पष्ट पारेको छ । “हिंसा, धम्की, आगजनी र सम्पत्ति विनाशका सबै कार्यको हामी स्पष्ट र दृढ रूपमा निन्दा गर्छौं,” विज्ञप्तिमा भनिएको छ ।
सरकारले नागरिकहरूलाई हिंसा, घृणा र उक्साहटको विरोध गर्न आह्वान गर्दै हालै ढाकामा गोली प्रहारपछि मृत्यु भएका जुलाई विद्रोहका एक प्रमुख नेता शरीफ उस्मान हादीको स्मृतिलाई सम्मान गर्न पनि आग्रह गरेको छ ।
उल्लेखनीय छ, गत वर्ष अगस्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पदच्युतिपछि बंगलादेशमा अल्पसंख्यक समुदाय, विशेषगरी हिन्दू समुदायमाथि लक्षित हिंसात्मक घटनाहरू बढ्दै गएको भन्दै मानवअधिकार समूहहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । माइमेनसिंहको यो घटना पनि त्यसैको पछिल्लो कडीका रूपमा हेरिएको छ ।
प्रतिक्रिया