अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनहरूको बहुमतले स्वास्थ्य बीमा खर्च घटाउने दाबी गरिएको विधेयक पारित गरेको छ। रिपब्लिकन नेतृत्वले यस विधेयकले आम अमेरिकी नागरिकको स्वास्थ्य बीमा प्रिमियम औसतमा करिब ११ प्रतिशतसम्म घटाउने जनाएको छ। यो विधेयक प्रतिनिधिसभाका सभामुख माइक जोनसनका लागि महत्वपूर्ण राजनीतिक सफलता मानिएको छ। पछिल्लो समय देशभर स्वास्थ्य बीमा प्रिमियम तीव्र रूपमा बढ्ने अनुमान भइरहेका बेला स्वास्थ्य नीतिमा रिपब्लिकन पार्टीभित्र देखिएको गहिरो मतभेद व्यवस्थापन गर्दै जोनसनले विधेयक पारित गराउन सफल भएका हुन्।
‘लोअर हेल्थ केयर प्रिमियम्स फर अल अमेरिकन्स एक्ट’ नाम दिइएको यो विधेयक २१६ मतको समर्थनमा पारित भएको हो भने २११ सांसदले विपक्षमा मतदान गरेका छन्। रिपब्लिकन पार्टीबाट केन्टकीका सांसद थोमस मेसी एक्ला विपक्षमा उभिएका थिए भने सबै डेमोक्र्याट सांसदहरूले विधेयकको विरोध गरेका छन्।
यद्यपि विधेयक पारित भए पनि एक महत्वपूर्ण विषय अझै अनिर्णीत अवस्थामा छ। कोभिड–१९ महामारीका बेला विस्तार गरिएको ‘ओबामाकेयर’ (Affordable Care Act) अन्तर्गतको स्वास्थ्य बीमा अनुदान यही वर्षको अन्त्यमा समाप्त हुँदैछ। ती अनुदानलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा कांग्रेसमा अझै सहमति जुट्न सकेको छैन।
विधेयक पारित हुनुअघि केही मध्यमार्गी रिपब्लिकन सांसदहरूले डेमोक्र्याट नेतृत्वमा दर्ता गरिएको ‘डिस्चार्ज पिटिसन’ मा हस्ताक्षर गरेका थिए, जसको उद्देश्य ओबामाकेयर अनुदान तीन वर्षका लागि थप्ने विषयमा छुट्टै मतदान गराउनु हो। डिस्चार्ज पिटिसन भनेको संसदीय नेतृत्वको इच्छाविपरीत कुनै विधेयकलाई सम्पूर्ण सदनमा मतदानका लागि ल्याउने प्रक्रिया हो, जसका लागि बहुमत सांसदको समर्थन आवश्यक हुन्छ।
ती चार रिपब्लिकन सांसदले डेमोक्र्याटको प्रस्ताव समर्थन गर्नु आफ्नो प्राथमिक विकल्प नभएको स्पष्ट पारेका थिए। तर सभामुख जोनसनले यस वर्षको अन्त्यअघि ओबामाकेयर अनुदान विस्तारसम्बन्धी छुट्टै मतदान नहुने स्पष्ट गरेपछि आफूहरू बाध्य भएर उक्त कदम चाल्नुपरेको उनीहरूको भनाइ थियो।
रिपब्लिकन पार्टीभित्र अधिकांश सांसद ओबामाकेयर अनुदान विस्तारको विपक्षमा छन्। कन्जरभेटिभ नेताहरूको तर्क छ—अनुदान विस्तार गर्नु भनेको पहिले नै समस्याग्रस्त रहेको स्वास्थ्य प्रणालीमा अझ बढी पैसा खन्याउनु मात्र हो, जसले वास्तविक खर्च घटाउन सहयोग गर्दैन।
रिपब्लिकन स्टडी कमिटीका अध्यक्ष अगस्ट फ्लुगेरले ओबामाकेयरलाई १५ वर्षदेखि असफल भएको प्रणालीको संज्ञा दिँदै यो विधेयकलाई लागत घटाउने दिशामा “ठोस पहिलो कदम” भनेका छन्। उनका अनुसार उच्च प्रिमियम, व्यापक ठगी र बीमा कम्पनीलाई फाइदा पुर्याउने प्रणाली अन्त्य गर्न व्यावहारिक सुधार आवश्यक छ।
विधेयकले साना व्यवसायी र स्वरोजगार व्यक्तिहरूलाई ‘एसोसिएसन हेल्थ प्लान’ मार्फत सामूहिक रूपमा बीमा खरिद गर्न अनुमति दिने व्यवस्था समेटेको छ। यसले उनीहरूलाई ठूलो बजारको मोलतोल शक्ति प्रयोग गरी सस्तो बीमा पाउन सहयोग गर्ने रिपब्लिकनहरूको दाबी छ।
यसैगरी २०२७ बाट लागू हुने गरी ‘कस्ट–सेयरिङ रिडक्सन’ का लागि बजेट विनियोजन गर्ने प्रावधान पनि विधेयकमा समावेश छ, जसले व्यक्तिगत स्वास्थ्य बीमा बजारमा बिरामीले तिर्नुपर्ने प्रत्यक्ष खर्च घटाउने लक्ष्य लिएको छ। रिपब्लिकन नेतृत्वका अनुसार यसले प्रिमियम करिब १२ प्रतिशतसम्म घटाउन सक्छ।
विधेयकमा फार्मेसी बेनेफिट म्यानेजर (PBM) हरूका लागि नयाँ पारदर्शिता नियम पनि समेटिएको छ। औषधि कम्पनी र बीमा प्रदायकबीच मध्यस्थको भूमिका खेल्ने PBM हरूमाथि लागत बढाउने र प्रणाली बिगार्ने आरोप दुवै दलबाट लाग्दै आएको छ।
गैरदलीय ‘कंग्रेसनल बजेट अफिस’ (CBO) का अनुसार यो विधेयक कार्यान्वयन भए आगामी १० वर्षमा संघीय बजेट घाटा ३५.६ अर्ब डलरले घट्नेछ। तर यसै अवधिमा वार्षिक औसत एक लाख मानिसको स्वास्थ्य बीमा कवरेज गुम्न सक्ने र २०३५ सम्म औसत प्रिमियम ११ प्रतिशतले घट्ने अनुमान पनि सीबीओले गरेको छ।
अब यो विधेयक सिनेटमा अघि बढ्छ कि बढ्दैन भन्ने स्पष्ट भइसकेको छैन। माथिल्लो सदनका रिपब्लिकनहरू गत साता आफ्नो स्वास्थ्य योजना अघि बढाउन असफल भएका थिए भने डेमोक्र्याटको ओबामाकेयर अनुदान विस्तार प्रस्ताव पनि अस्वीकार गरिएको थियो। यसले अमेरिकी स्वास्थ्य नीतिमा आगामी दिनमा थप राजनीतिक रस्साकस्सी हुने संकेत देखाएको छ।

प्रतिक्रिया