बर्लिन/ युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयास निर्णायक मोडमा पुगेका बेला बर्लिनमा सुरु भएका शान्ति वार्ता दोस्रो दिन पनि जारी रहने भएका छन्। युरोपका लागि अत्यन्त महत्वपूर्ण मानिएको यो साताको सुरुमै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूसँग पुनः वार्ता गर्ने तयारी गरेका छन्। आइतबार पाँच घण्टासम्म चलेको वार्तापछि सोमबार पनि जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जेरेड कुशनरसँग भेट गर्ने कार्यक्रम तय भएको छ। ती बैठकहरू जर्मन चान्सलर फ्रिडरिख मर्जको आतिथ्यमा बर्लिनमा सम्पन्न भएका हुन्। वार्तामा युरोपका अन्य नेताहरूले पनि आ–आफ्ना तहमा छलफल गरेका छन्।
अमेरिकी पक्षले आइतबारको वार्तापछि युक्रेन युद्ध अन्त्यतर्फ “धेरै प्रगति” भएको दाबी गरेको छ। तर युक्रेनको भूभाग, युद्धविरामको स्वरूप र रुसलाई सहमत गराउने उपायजस्ता मुख्य विषयमा कति सहमति जुट्यो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन। युक्रेनले पश्चिमी देशहरूबाट ठोस सुरक्षा प्रत्याभूति प्राप्त हुने हो भने नाटो सदस्यताको लक्ष्य त्याग्न तयार रहेको संकेत आइतबार दिएको थियो। यद्यपि यस विषयमा वार्ता कति अगाडि बढ्यो भन्ने प्रश्न खुला नै छ।
रुसले भने युक्रेनको नाटो सदस्यता नहुनु शान्ति सम्झौताका लागि आधारभूत सर्त भएको पुनः दोहोर्याएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन नाटोमा नजाने विषय “वार्ताको केन्द्रबिन्दु” भएको बताए। उनले बर्लिन वार्तापछि अमेरिका पक्षबाट आधिकारिक जानकारीको अपेक्षा गरिएको पनि बताए।
युरोपका लागि यो हप्ता कूटनीतिक रूपमा अत्यन्त निर्णायक मानिएको छ। बिहीबार हुने युरोपेली संघको शिखर सम्मेलनले रुसको जफत गरिएको केन्द्रीय बैंकको सम्पत्तिबाट युक्रेनलाई ठूलो ऋण उपलब्ध गराउने विषयमा निर्णय गर्नेछ।
हालैका हप्तामा ट्रम्प प्रशासनले आप्रवासन, सुरक्षा र ठूला प्रविधि कम्पनीसम्बन्धी नीतिमा युरोपमाथि तीव्र आलोचना गर्दै आएको छ। युरोपेली संघ र सदस्य राष्ट्रहरू भने ती आलोचनाको एकीकृत जवाफ दिन संघर्षरत देखिएका छन्।
सोमबार ब्रसेल्समा युरोपेली संघका विदेशमन्त्रीहरू रुसविरुद्ध थप प्रतिबन्धबारे छलफलका लागि भेला भएका छन्। तर लाटिन अमेरिकासँग हुने व्यापार सम्झौतामा अन्तिम समयमा समस्या देखिए युरोपको एकता प्रदर्शन झनै कमजोर हुनसक्ने विश्लेषण गरिएको छ।
डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले युक्रेनलाई आर्थिक रूपमा टिकाइराख्नु अहिलेको सबैभन्दा ठूलो प्राथमिकता भएको बताए। “युक्रेनले स्वतन्त्रताको लडाइँ जारी राख्न सक्ने अवस्था बनाउन हामीले निर्णय लिनैपर्छ,” उनले भने।
फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टुब, जो युक्रेन वार्तामा सक्रिय रूपमा संलग्न छन्, शान्ति सम्झौताबारे सर्तक आशावादी देखिएका छन्। उनले चार वर्षयताकै सबैभन्दा नजिक शान्ति सम्झौतामा पुगेको अवस्था बनेको टिप्पणी गरेका छन्।
स्टुबका अनुसार वार्तामा तीन मुख्य दस्तावेजमा काम भइरहेको छ २० बुँदे शान्ति योजनाको खाका, युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको दस्तावेज, र युद्धपछिको पुनर्निर्माणसम्बन्धी योजना। यी विषयमा अमेरिका, युरोप र युक्रेनबीच विस्तृत छलफल भइरहेको उनले बताए।
यता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले नाटो सदस्यता त्याग्नुपर्ने, पूर्वी डोनबास क्षेत्रको बाँकी भागबाट पनि सेना फिर्ता गर्नुपर्ने र युक्रेन तटस्थ राष्ट्र बन्नुपर्ने अडान राख्दै आएका छन्। मस्कोले युक्रेनमा कुनै पनि नाटो सेना तैनाथ हुन नहुने स्पष्ट गरेको छ।
रुसी स्रोतहरूका अनुसार पुटिनले प्रमुख पश्चिमी शक्तिबाट नाटो पूर्वतर्फ नफैलिने लिखित प्रतिबद्धता पनि माग गरेका छन्, जसमा युक्रेन, जर्जिया, मोल्डोभा जस्ता पूर्व सोभियत मुलुकलाई नाटो सदस्य नबनाउने सर्त समावेश छ।
युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले भने डोनबास कब्जा मात्रै पुटिनको अन्तिम लक्ष्य नभएको चेतावनी दिएकी छन्। उनका अनुसार यदि रुसले डोनबास नियन्त्रणमा लियो भने त्यसपछि सम्पूर्ण युक्रेन नै जोखिममा पर्नेछ, र युक्रेनपछि अन्य क्षेत्रहरू पनि असुरक्षित बन्ने खतरा रहनेछ। बर्लिन वार्ताका परिणामले युक्रेन युद्धको भविष्य मात्र होइन, युरोपको सुरक्षा संरचना र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा समेत गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Symbol Image: AI
प्रतिक्रिया