रोयल क्यारिबियनको क्रुज जहाजमा अत्यधिक मदिरा सेवन गराइएपछि मृत्यु भएको आरोपसहित ३५ वर्षीय माइकल भर्जिलको परिवारले मुद्दा दायर गरेको छ। पोस्टमार्टम रिपोर्टले उनको मृत्यु ‘हत्या’ भएको ठहर गरेको करिब सात महिनापछि परिवार न्यायिक कारबाहीमा गएको हो।
माइकल भर्जिल र उनका परिवारका सदस्यहरूले सन् २०२४ डिसेम्बर १३ मा लस एन्जलसबाट मेक्सिकोको एनसेनाडातर्फ चार दिनको यात्रा गर्ने उद्देश्यसहित रोयल क्यारिबियनको ‘नेभिगेटर अफ द सिज’ क्रुजमा चढेका थिए। रमाइलो पारिवारिक बिदा मनाउने सोचले सुरु गरिएको यो यात्रा केही घण्टामै त्रासदीमा रूपान्तरित भएको परिवारको दाबी छ।
परिवारका अनुसार केबिन तयार नभएकाले जहाजभित्रको लाइभ संगीतसहितको बारमा बस्न भनिएको थियो। त्यही क्रममा उनका सात वर्षका छोरा, जो अटिजमका बिरामी छन्, असहज भएपछि आमासँग कोठा हेर्न गएका थिए र माइकल एक्लै बारमै बसेका थिए। उजुरीमा उल्लेख भएअनुसार जहाज प्रस्थान गरेको केही घण्टामै जहाजका कर्मचारीहरूले लापरवाहीपूर्वक उनलाई कम्तीमा ३३ गिलास मदिरा पिलाएका थिए।
अत्यधिक मदिरा सेवनपछि माइकलको अवस्था बिग्रँदै गयो र उनी आफ्नो केबिन खोज्ने क्रममा आक्रोशित बनेको परिवारको दाबी छ। त्यसपछि सुरक्षा र अन्य कर्मचारीहरूले उनलाई ढालेर नियन्त्रणमा लिएका थिए। उजुरीमा भनिएअनुसार उनलाई धेरै जनाले एकसाथ थिचेर समाते, जसका कारण उनले चलायमान हुन छोडे। साथै, स्टाफ क्याप्टेनको निर्देशनमा उनलाई ‘हेलोपेरिडोल’ नामक सिडेटिभ सुई दिइएको र तीनवटा पेपर स्प्रे प्रयोग गरिएको आरोप पनि छ।
परिवारका अनुसार नियन्त्रण, सिडेटिभ औषधि र पेपर स्प्रेको संयुक्त प्रयोगले अक्सिजनको गम्भीर कमी, सास फेर्न गाह्रो हुने अवस्था, श्वासप्रश्वास असफलता, हृदयसम्बन्धी अस्थिरता र अन्ततः हृदय–फोक्सो काम नगर्ने अवस्थासम्म पुर्यायो। मेडिकल एक्जामिनरले पछि उनको मृत्यु ‘हत्या’ भएको ठहर गरेका थिए।
पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘यान्त्रिक घाँटी थिचिएको अवस्था, मोटोपन, मुटुको असामान्य रूपमा ठूलो आकार र मदिरा विषाक्तता’ को संयुक्त प्रभाव भएको उल्लेख छ। रिपोर्टमा जहाजका धेरै सुरक्षा कर्मचारीहरूले नियन्त्रण गर्ने क्रममा शरीरमा अत्यधिक दबाब परेको र अत्यधिक मदिरा सेवन भएको स्पष्ट गरिएको छ।
माइकल भर्जिलको शव जहाज लस एन्जलस फर्किनेसम्म डिसेम्बर १६ सम्म चिस्यान कक्षमै राखिएको थियो। उनका परिवारले अमेरिकाको फ्लोरिडा दक्षिणी जिल्ला अदालतमा गलत मृत्यु (Wrongful Death) सम्बन्धी मुद्दा दायर गरेका छन्। उजुरीमा रोयल क्यारिबियनलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गर्दै कर्मचारीहरूको अत्यधिक बल प्रयोग, लापरवाहीपूर्ण मदिरा सेवा, तथा तालिम र निगरानीमा गम्भीर कमजोरी भएको आरोप लगाइएको छ।
परिवारका कानुनी प्रतिनिधि केभिन हायन्सले रोयल क्यारिबियनले यात्रुको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको आरोप लगाएका छन्। उनका अनुसार जहाजका सुरक्षा र चिकित्सकीय कर्मचारीहरू उच्चस्तरीय तालिम पाएको दाबी गरिए पनि यो घटनाले नियुक्ति, तालिम र सुपरिवेक्षणमा गम्भीर लापरवाही देखाएको छ। रमाइलो पारिवारिक यात्राको रूपमा सुरु भएको बिदा अकल्पनीय रूपमा दुःखद अन्त्यमा पुगेको उनको भनाइ छ।
उजुरीमा माइकल भर्जिलले ‘डिलक्स बेभरेज प्याकेज’ खरिद गरेको उल्लेख गरिएको छ, जसअन्तर्गत यात्रुले प्रायः सबै प्रकारका मदिराजन्य पेय पदार्थ पाउन सक्छन्। मुद्दामा रोयल क्यारिबियनको आम्दानीका मुख्य स्रोतहरूमध्ये मदिरा बिक्री पनि एक भएको र जहाजहरू नै थुप्रै मदिरा बिक्री केन्द्रसहित डिजाइन गरिएको तर्क प्रस्तुत गरिएको छ।
मुद्दामार्फत माइकल भर्जिलको सम्पत्ति व्यवस्थापनकर्ताले ‘डेथ अन द हाई सिज एक्ट’ अन्तर्गत क्षतिपूर्ति माग गरेका छन्। मागमा पारिवारिक सहयोगको क्षति, उत्तराधिकार, विगत र भविष्यको आम्दानी, अन्त्येष्टि तथा उपचार खर्च, साथ–सुरक्षाको हानी, मानसिक पीडा र दुःखबोधलगायत विषय समेटिएका छन्।
रोयल क्यारिबियनले चलिरहेको कानुनी प्रक्रियाका कारण घटनाको विवरणमा टिप्पणी गर्न अस्वीकार गरेको छ। कम्पनीका प्रवक्ताले एक यात्रुको निधनप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा अधिकारीहरूसँग सहकार्य गरिएको जनाएका छन् भने अदालतमा मुद्दा विचाराधीन रहेकाले थप प्रतिक्रिया नदिने बताएका छन्।
प्रतिक्रिया